Explore news and happenings at Bhaktapur

भक्तपुरले जे बोल्छ, त्यो गर्छ — नगर प्रमुख प्रजापति

२०७७ साउन १९ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप माविले लकडाउनको विषम् परिस्थितिमा पनि विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट आफ्ना शैक्षिक गतिविधिहरु सञ्चालन गरिनु विद्यार्थीहरुको शैक्षिक उन्नयनको लागि फलदायी हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यमिक विद्यालय र शारदा क्याम्पस माविमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको भेलामा सम्बोधन गर्ने क्रममा नगर प्रमुख प्रजापतिले ‘भक्तपुर नगरपालिकाले जनताबीच गरेको प्रतिबद्धता ढिलो या चाँडो पूरा गर्छ’ भन्नुभयो ।

अपराधलाई राजनीतिकरण गर्ने र अपराधीलाई राजनीतिक संरक्षण गर्ने प्रवृत्तिले भ्रष्टाचार नियन्त्रण नहुने भन्नुहुँदै उहाँले ‘राजनीति भनेको सेवा हो, सांसद खरिद–बिक्री गर्ने थलो होइन । पुँजीपतिहरु राजनीति नगरे पनि पैसाले सांसद पद खरिद गरेर नीति–निर्माता बनेका छन् ।’ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले लकडाउन अवधिमा काम गर्ने कर्मचारीहरुलाई आवश्यकता हेरी प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताउनुहुँदै प्रमुख प्रजापतिले कोरोना भाइरस संक्रमणको जोखिमकै कारण यहाँका जात्रा तथा पर्वहरुलाई स्थगित गर्दै औपचारिकतामा मात्र सीमित गर्न नगरबासी तथा सरोकारवालाहरुलाई अनुरोध गर्ने निर्णय गरेको बताउनुभयो ।

ख्वप कलेजका प्राचार्य रुपक जोशीले ख्वप कलेजमा सञ्चालित विविध शैक्षिक कार्यक्रमहरूबारे अवगत गराउनुहुँदै कोभिड १९ को विषम परिस्थितिमा नेपाल सरकार र स्थानीय सरकारले जारी गरेका निर्देशनहरुलाई पालना गर्न अभिप्रेरित गर्नुभयो । ख्वप कलेजले देशभरिका विद्यार्थीहरुलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको चर्चा गर्नुहुँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित सबै कलेजहरुले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप उच्च माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले कोरोना संक्रमणका कारण शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा ख्वप माविले विद्यार्थीलाई पठनपाठनमा अभ्यस्त तुल्याउन अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरी परीक्षाहरु पनि लिइरहेको बताउनुभयो । उहाँले अनलाइन कक्षामा शिक्षकहरुलाई गम्भीरताका साथ तयारी भइदिन र प्रविधिसँग सहजीकरण गर्दै विद्यार्थीसँग नजिक सम्पर्कमा रही पठनपाठनको लागि पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा ख्वप उमाविका उपप्राचार्यद्वय विष्णुप्रसाद किसी र लक्ष्मीप्रसाद कर्माचार्यले पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु नाफाको लागि नभई सेवामुखी संस्था भएको र कलेजले प्रविधिमैत्री शिक्षामा उत्साहित गरिरहेको बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.