Explore news and happenings at Bhaktapur

नेपाल क्रान्तिकारी किसान संघ स्थापनाको ५३ औं वर्षमा प्रवेश

२०७७ साल साउन १४ गते, बुधबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले किसानहरूको श्रमको मूल्य नभएसम्म देशको विकास सम्भव नभएको बताउनुभयो ।

नेपाल क्रान्तिकारी किसान संघ जिल्ला समिति भक्तपुरको आयोजनामा नेक्राकिसंघको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले कृषि क्षेत्रको विकासका लागि सरकारले अरबौं रुपैयाँ अनुदानको व्यवस्था गरे पनि वास्तविक पीडित किसानहरूले ती अनुदान पाउन नसकिरहेको गुनासो गर्नुहुँदै वर्तमान समयमा उत्पादनका साधनहरूको यान्त्रीकरणको आवश्यकता औंल्याउनुभयो ।

संयुक्त राज्य अमेरिकाले ५० वर्षभन्दा बढी नाकाबन्दी गर्दा पनि स्वाभिमानपूर्वक बाँच्ने क्युवा र क्युवाली क्रान्तिबाट नेपालले पाठ सिक्नु जरुरी भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भन्नुभयो –‘पैसा खर्च गरी निर्वाचित भएका सांसद तथा जनप्रतिनिधिले देश र जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थ र देशको ढुकुटी सिध्याउनमै लागेका छन् ।’

नेमकिपाका अग्रग किसानहरूकै कारण भक्तपुरका किसानहरूको राजनैतिक र आर्थिक जीवनमा परिवर्तन सम्भव भएको बताउनुहुँदै उहाँले भ्रष्टाचार र साम्राज्यवादविरुद्धको लडाइँलाई अझ अगाडि बढाउन निरन्तर संघर्षरत रहनेमा आशा व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका सांसद सृजना सैंजुले किसान संघले गरेका संघर्ष र योगदानहरूको चर्चा नयाँ पुस्तामाझ गरिनु आजको आवश्यकता भएको बताउनुहुँदै फास्ट ट्रयाक र स्मार्ट सिटीको अवधारणा संघीयताविरोधी भएको र नेपालीहरूलाई सदियौंसम्म सामाजिक, आर्थिक र राजनैतिक रुपमा भारत निर्भर बनाउन ल्याएको बताउनुभयो ।

पुँजीवादले किसानहरूलाई शोषण गरिरहेको छ र वर्तमान नेकपा सरकार कम्युनिष्ट सरकार नभई किसानविरोधी सरकार भएको भन्दै उहाँले खोकना र बुंगमतीमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभयो ।

नेक्राकिसंघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले किसान संघ स्थापनाको उद्देश्यबारे प्रष्ट पार्नुहुँदै राजनैतिक पार्टीको सिद्धान्तअनुसार कार्यकर्ताहरू परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष न्हुछेभक्त फोंजु, नेक्राकिसंघ भक्तपुर जिल्ला समितिका उपाध्यक्ष केशवप्रसाद तिमिल्सिना, केन्द्रीय सदस्य विश्वनाथ प्रजापति र नेक्राकिसंघ भक्तपुर जिल्लाका सहसचिव नारायणभक्त न्हुम्हाफुकीले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.