Explore news and happenings at Bhaktapur

नेपाल उपत्यकाको प्राचीन -एक अध्ययन

0

हिमालयको काखमा अवस्थित नेपाल उपत्यका सभ्यताको प्रारम्भदेखि समग्र यस भेगको मूल केन्द्रविन्दुको रूपमा रहँदै आएको पाइन्छ । कुनै समयमा उपत्यकामात्र नभएर वर्तमान नेपाल अधिराज्यलगायत सम्पूर्ण हिमालय क्षेत्र नै समुद्रको गर्भमा अन्तर्निहित थियो । समुद्रबाट माथि उठिसकेपछि पनि यस क्षेत्रमा ठूल्ठूला ताल वा तलाउहरू कायमै रहेका थिए । तर लाखौं वर्षसम्मको जलप्रवाहले गर्दा पछि गएर यस्ता ताल वा तलाउहरू खुल्दै गएर हिमालय क्षेत्रको अहिलेको

भौगोलिक अवस्थिति तयार हुन आएको हो भन्ने भनाइ एकथरी भूगर्भविद्हरूको रहेको छ । अति प्राचीनकालमा नेपाल उपत्यका पनि तालकै रूपमा रहेको थियो । त्यतिबेलै ताल वरिपरि पहाडी कुनाकन्दरामा मानव बसोबास थियो । तर ती असभ्य र जड्डली थिए । तिनको जीवन कन्दमुल र जंगली जनावरको शिकारमा निर्भर थियो । विविध कारणले ताल फुटेर पानी बाहिर गएपछि यो ठाउँ बस्ती योग्य भयो र चारै दिशाबाट मानिसहरू यहाँ बस्न आइपुगे । पशुपालन र खेतीपातीको परम्परा विकास भयो । यसैले आज नेपाल उपत्यकामा बस्ने जो प्राचीन बासिन्दा छन्, जसलाई नेवार भनिन्छ । ती एउटै जातिका मानिस नभएर अनेक जात–जातिका मानिसको समुदाय भएको बुझिन्छ, जो समयक्रममा विविध कारणले गर्दा यहाँ बसोबास गर्न आइपुगेका थिए । यताबाट नेवार एउटा जातिविशेष नभएर एउटा भौगोलिक अवधारणा भएको तथ्य स्पष्ट हुन आउँछ ।

पृष्ठभूमि
प्राचीन नेपालको इतिहासबारे तथ्यपरक जानकारी प्राप्त गर्ने प्रामाणिक ऐतिहासिक स्रोत–सामग्रीहरू उपलब्ध छैनन् । यसका लागि हामीले पुराण र वंशावलीका वर्णनहरूलाई आधार स्रोतका रूपमा लिनुपर्ने हुन्छ । तर त्यस्ता वंशावलीका वर्णनमा पनि एकरूपता रहेको पाईदैन । विशेष गरेर हिन्दु र बौद्ध वंशावलीले आ–आफ्नै धर्मका प्रर्वतकद्वारा यो जलमग्न तलाउ फोडेर यहाँ बस्ती बसाएको कुरा दर्शाउने गरेको पाइन्छ । सनातनी हिन्दुहरूको मान्यता के छ भने भगवान श्रीकृष्णले आफ्नो सुदर्शन चक्रद्वारा चोभार नामक पहाड फोडेर यहाँको पानी निष्काशित गरेपछि यो ठाउँ वस्तीयोग्य भयो । त्यसपछि उनीसँगै आएका गोपालहरूले यहाँ वस्ती बसाले । यसपछि यस ठाउँले बस्ती, नगर र राज्य व्यवस्थाको रूप लिन थाल्यो । त्यस्तै बौद्ध वंशावलीहरूमा स्वयम्भूनाथको दर्शन गर्न महाचीनबाट आएका मञ्जुश्री बोधिसत्वले आफ्नो खड्गद्वारा कटुवाल नामक पहाड काटेर यहाँको पानी निष्कासन गरे । यसपछि उनले स्वयम्भूदेखि गुह्येश्वरीसम्म सहर बसाले । जुन सहरलाई मञ्जुपतन भनियो र धर्माकर भन्ने व्यक्तिलाई राजा बनाए भन्ने वर्णन उल्लेख छ । वंशावली र पुराणहरूमा उल्लेखित यस्ता आख्यानहरूमा कतिको सत्यता छ, त्यो त स्पष्ट छैन तर त्यसलाई स्वीकार गर्ने स्रोत हामीसँग छैन । तर जे भए पनि अति प्राचीनकालमा वर्तमान काठमाडौं उपत्यका एउटा विशाल ताल वा तलाउकै रूपमा रहेको थियो भन्ने कुरालाई वैज्ञानिक अध्ययनहरूले पनि स्पष्ट पारेको देखिन्छ ।

हाल काठमाडौं उपत्यकाको भूगर्भभित्र एक किसिमको मिथेन ग्याँस गुम्सिराखेको पाइन्छ । यसैले विभिन्न स्थानमा जसमनमुनिबाट ग्याँस निस्केर आगो बलेको समाचार बेलाबेलामा सुन्न सकिन्छ । त्यस्तै इनार सफा गर्न इनारभित्र पसेका मानिसहरू ग्याँसका कारण गुम्सेर ज्युँदो निस्कन नसक्नु, विशालकाय जलचर जन्तुको जीवावशेष उपत्यकाको दक्षिणी भेगमा रहेको फर्पिङमा प्राप्त हुनु (यो जीवावशेष हाल पनि राष्ट्रिय म्युजियम छाउनी काठमाडौंमा देख्न सकिन्छ ) । उपत्यकाको समथल मैदानी भू–भागमा अझै पनि सयौं फुटको गहिराईसम्म मलिला कालीमाटीहरू रहनुजस्ता आधारहरूबाट अति प्राचीनकालमा यो ठाउँ जलमग्न तलाउकै रूपमा रहेको थियो भन्ने थाहा हुन्छ ।

स्मरणीय कुरा के छ भने तालकै रूपमा रहँदा पनि यसका छेउछाउका डाँडाकाँडामा, भिर–पाखाका गुफामा, पहाडी कुना–कन्दरामा मानव बसोबास थियो । तिनीहरू सर्पलाई देवताका रूपमा पुज्दथे । तिनकै नामबाट यस तलाउलाई नागदह, कालीदह भनिन्थ्यो । काली तिनका मुखिया थिए । तिनीहरू जङली र असभ्य थिए । तिनको मुख्य हतियार धनु र सुर्काउनी थियो । तिनको मुख्य खाना माछा, जङली जनावर, चराहरू अनि गिठ्ठा र भ्याकुर हुन्थे । खेतीपाती र पशुपालनको चलन सुरु भइसकेको थिएन । यताबाट यिनीहरू प्राग ऐतिहासिक कालका मानव थिए भन्ने देखिन्छ । प्राग ऐतिहासिक कालमै अर्थात् जलमग्न तलाउकै रूपमा रहेकै अवस्थामा नेपाल उपत्यकामा मानिस बस्दथे भन्ने कुराको संकेत मानवशास्त्रीहरूले पनि गर्ने गरेका छन् । किनकि अद्यापि यहाँका पहाडी कुनाकन्दरामा अनेक गुफाहरू देख्न सकिन्छ । वास्तवमा हिमालको काखमा रहेको र चारैतिर घना–जङल भएको यस रमणीय ठाउँमा बेला–बेलामा विभिन्न ऋषिमुनि, तपस्वीहरू तप गर्न, ज्ञान प्राप्त गर्न आउने गरेको वंशावलीका वर्णनबाट पनि यहाँ मानव अस्तित्व त्यतिबेलादेखि नै रहेको थियो भन्ने तथ्य थाहा लाग्दछ । जे होस् तालको रूपमा रहेको यहाँको पानी बगेर बाहिर गएपछि यो ठाउँ बस्तीयोग्य भयो र विभिन्न क्षेत्रबाट मानिसहरू यहाँ बसोबास गर्न आइपुगेपछि यो ठाउँले बस्ती, नगर र राज्य व्यवस्थाको रूप लिन थाल्यो । यसरी वर्तमान काठमाडौं उपत्यका प्राचीन नेपाली सभ्यताको केन्द्रविन्दुका रूपमा अगाडि आयो ।

प्राचीन इतिहास
नेपालमा राज्यव्यवस्थाको प्रारम्भ यसैबेलादेखि भयो भनेर कितानकासाथ भन्न नसकिए तापनि गोपालराज वंशावलीअनुसार भने नेपालको प्रथम राजवंशको रूपमा गोपालवंशलाई लिने गरिन्छ । त्यसपछि महिषपालवंश, कसै–कसैले गोपाल र महिषपाल दुवै एउटै आभिर वंश हुन्, केबल पेशाको मात्रै भिन्नता हो भन्ने गरेका छन् । यी आभिर गुप्तहरू पछि गएर लिच्छवीकालमा पनि शक्तिशाली भारदारका रूपमा देखा परेकाले प्राचीन इतिहासमा यिनको अस्तित्व थिएन भनी नकार्न मिल्दैन । हाल पनि काठमाडौं उपत्यकाको दक्षिण पश्चिमी भेगतिर गोपाली थर भएका नेवारहरूको बसोबास रहेको र उनीहरूले आफू गोपालवंशका सन्तान भएको स्वीकारेको आधारमा प्राचीनकालमा यिनको पनि यहाँ अस्तित्व थियो भन्ने देखिन्छ । गोपालवंशमा जम्मा आठजना शासकहरूले शासन गरे । भूमीगुप्त यस वंशका प्रथम शासक मानिन्छन् । यिनीहरूको शासनकाल ५०५ वर्षसम्म रह्यो । त्यसबेलाको प्रमुख पेशा पशुपालन थियो । त्यसपछि किरा“ती वंशको शासन प्रारम्भ भयो । कालान्तरमा किराँतीहरूलाई पनि पराजित गरेपछि नेपालमा भारतको वैशालीबाट आएका लिच्छवीहरूको शासन सुरु भयो । नेपालमा लिच्छवीहरूको शासन स्थापना हुनु एउटा युगान्तकारी घटना थियो । किनकि यहींदेखि नेपालको प्रामाणिक इतिहास थालनी भएको मान्ने गरिन्छ । यसमा विशेष गरेर राजा मानदेवको नाम अग्रपङ्क्तिमा आउँछ । पहिलोपल्ट अभिलेख राख्ने, मुद्रा निकाल्ने आदिदेखि लिएर भाषा साहित्य, कला वास्तुकला, बाह्य जगतसँगको सम्पर्क आदि सबै क्षेत्रमा लिच्छवीहरूले चौतर्फी उन्नति हासिल गरेका थिए ।

यसरी काठमाडौं उपत्यका प्राचीनकालदेखि वर्तमानकालसम्म नेपाल अधिराज्यकै हृदयस्थलका रूपमा विकसित भएर रहँदै आउनुका पछाडि एउटा प्रमुख कारण यहाँको भौगोलिक बनोट र प्राकृतिक वातावरण रहेको देखिन्छ । प्रकृतिले नै यसलाई अनादिकालदेखि अनेक किसिमका विशेष सुविधाहरू उपलव्ध गराउँदै आइरहेको छ । जस्तो ः– यहाँको समथल र उर्वर भूमि, त्यसलाई सिञ्चन गर्ने बागमती, विष्णुमती, मनोहराजस्ता प्रमुख नदी र ती नदीमा मिल्ने अन्य सहायक नदीनालाहरू, प्रचुर मात्रामा रहेको वन–जड्डल, न्यून जनसङ्ख्या, अनुकूल हावा–पानी अनि यसको दक्षिणी भेगहरूमा रहेको धातुगर्भ पहाडहरू आदि कारणहरूले गर्दा यस क्षेत्रमा उद्योगधन्दा, कला–कौशलको उत्थान र विकासका निम्ति उपयुक्त वातावरण तयार गरिदियो । यसभन्दा पनि महत्वपूर्ण कुरा के थियो भने चारैतिर पहाड नै पहाडले घेरिएको हुनाले यो ठाउँ एउटा सुरक्षित बासस्थानका रूपमा अगाडि आयो । यहाँका आदिवासी मूलनिवासी किराँत वर्गका नेपार वा नेवारहरू थिए ।

उल्लेखित कारणहरूले गर्दा यिनीहरू आफ्ना छिमेकमा रहेका अन्य सबै किराँतीहरूभन्दा निकै सभ्य र सुसंस्कृत बन्न पुगे । यिनले वर्तमान काठमाडौं उपत्यका र यसका आसपासका क्षेत्रहरूमा विशेष गरेर चरन र खेतीयोग्य भूमिहरू भएका ठाउँहरूमा यत्रतत्र फैलिएर आफ्ना स–साना गाउँहरू बसाउन थाले । यिनै आदिम गाउँहरू पछि गएर खोपृङ, माखोपृङ, खृपुङ, दुप्रङ, लेम्बटी, थम्बु, सङ्घा आदि गाउँका रूपमा विकसित हुन थाले । किराँतकालको अन्त्यसम्ममा यी गाउँहरू यस क्षेत्रका समृद्ध गाउँका रूपमा विकसित भए । एउटा कुरा के भने पशुपालनका लागि पर्याप्त चरनभूमिको आवश्यकता पर्ने भएको र यसका लागि पाखो जमिन विशेष उपयुक्त हुने भएकोले तिनले समथल भूमिमा भन्दा पाखो भूमिमा नै आफ्नो बस्ती बसाले । समय–समयमा बाहिरबाट यहाँ प्रवेश गरेका विविध थरिका मानिसहरूले पनि समयको अन्तरालमा यहाँकै स्थानीय चाल–चलन, रहन–सहन, बोलीचाली आदि अँगाल्न पुगे । जसबाट एउटा मौलिक र समृद्ध संस्कृति निर्माण हुन पुग्यो, जसलाई नेपार वा नेवार सभ्यता वा संस्कृति भनियो ।
यहाँ प्रवेश गरेका आरम्भिक जातिहरूमा गोपाल, महिषपाल त्यसपछि माटाका भाँडावर्तन बनाउने कुम्हाल वा कुमाले र नदीमा माछा मार्ने तथा डुङ्गा चलाउने दनुवार वा दरै थिए । यिनीहरूबाटै यहाँ आर्य सभ्यता र संस्कृतिको प्रभाव भित्रिएको विश्वास गरिन्छ । किनकि यतिबेलासम्म पनि यहाँका किराँती वर्गका नेवारहरूलाई तराईसम्म पुग्न र उताकालाई यता आउन बाटाघाटाको विकटता, हिंस्रक जीवजन्तुको डर, घना–जड्डल आदि कारणहरूले गर्दा असम्भव जस्तै थियो ।
जुनबेला उपत्यकाका किरात नेवारहरूमा आर्य सभ्यता र संस्कृतिका प्रारम्भिक प्रभाव पर्न थालेको थियो, त्यतिबेलासम्म भारतमा गंगा र यमुना नदीका समथल मैदानी भूभागमा आबाद भएर रहेका आर्यहरूको सभ्यता र संस्कृतिहरू निक्कै नै समृद्ध अवस्थामा पुगिसकेका थिए । आर्यहरूका गणराज्यहरू आ–आफ्ना प्रगतिपथमा अगाडि बढ्दै थिए । विदेह, कोसल, शाक्य आदि गणराज्यहरू यस्तै स–साना राज्यहरूका रूपमा विकसित भएर रहेका थिए । यस्ता राज्यहरूको एउटा छुट्टै सड्डठित संघ–राज्य पनि त्यस क्षेत्रमा विकसित भएर अगाडि आएका थिए । जुन वृज्जिसंघ वा वज्जिसंघ नामले प्रसिद्ध थियो ।

किराँतकालको प्रारम्भमा नेपाल उपत्यकामा स–साना गाउँहरू व्यवस्थित रूपमा बस्न थालिसकेका थिए । तर यी गाउँहरूका बीच परस्परमा झगडा भइरहन्थ्यो । दैवी–विपत्तिहरू पनि बेला–बेलामा आइपर्ने गर्थे । हिंस्रक जीवजन्तुहरूको डर पनि उत्तिकै थियो । बाहिरबाट आइपर्ने खतराको सम्भावना पनि उत्तिकै थियो । अतः त्यस परिस्थितिमा आपसमा मिलेर बस्नुपर्ने आवश्यकता महसुस गरेर दुई चार गाउँका मानिसहरू सड्डठित भएर रहन थाले । यस किसिमका सामाजिक संगठनहरूमा आफूहरूमध्येबाटै शारीरिक रूपमा तन्दुरूस्त, हतियार चलाउन जान्ने, बौद्धिक रूपमा पनि सचेत एकजना समर्थ व्यक्तिलाई आफ्नो नेता चुने । तोकिएको अवधि पूरा भएपछि यस्ता नेताको बदलामा यस्तै एकजना अर्का समर्थ व्यक्तिलाई अघिल्ला नेताका रूपमा चयन गर्न थाले । पछि गएर यस किसिमको परम्परामा अझै सुधार भई १०, २० वटा गाउँहरू मिलि यस्तै एकजना समर्थ व्यक्तिको नेतृत्वमा रहने प्रवृत्ति विकास हुन गएको देखिन्छ । यताबाट आर्यहरूसँग सम्पर्क स्थापित हुँदा वा नहुँदासम्म नेपाल उपत्यकामा एकप्रकारले एउटा राजसंस्थाको नै आधारशिला स्थापित भइसकेको अनुमान गर्न सकिन्छ ।
नेपाल उपत्यकाका किराँत नेवारहरूले समयको दौरानमा आर्यहरूकै अनुकरण गरी यस क्षेत्रमा आवाद रहेका सबै गाउँहरूलाई एउटै प्रशासनिक निकायको रूपमा संगठित गराएर नेपाललाई सार्वभौमसत्ता सम्पन्न एउटा छुट्टै स्वतन्त्र राज्यको जग बसालिदिए । यस किराँत राज्यमा पछि गएर नेवारहरू आवाद भएर रहेका उपत्यकाभन्दा बाहिरका भू–भागहरू पनि समाहित हुनआएको देखिन्छ । यही नै यस क्षेत्रमा स्थापित भएको आदिम किराँत राज्य भएको बुझिन्छ । अनि यो आफ्नो मौलिक सभ्यता र संस्कृतिले सु–सम्पन्न हुँदै थियो । वास्तवमा संसारको जुनै सभ्यता वा संस्कृति अध्ययन गरे पनि त्यस सभ्यता र संस्कृतिको विकासमा मुख्यतया दुईवटा पूर्वाधारहरूले प्रभाव पारेको देखिन्छ । जस्तै ः–पहिलो, प्राकृतिक एवं भौतिक स्रोत र साधनहरूको उपलव्धता र दोश्रो, कुनै सभ्य जातिसितको संसर्ग एवं सम्पर्क । यहाँ पनि यी दुईटै कुराले साथ दिएको स्पष्ट देखिन्छ । तात्कालीन किरा“त नेवारहरूका सन्तान अर्थात् वर्तमान नेवारहरूमा सभ्य जातिको पूरापूर छाप पाइन्छ । यिनका आफ्नै भाषा, साहित्य, लिपी छ । व्यापार यिनीहरूकै हातमा छ । यिनको शिल्पकला संसारमा नै बेजोड मानिन्छन् । धार्मिक, सांस्कृतिक पक्षहरू सबल छन्, तर आर्यहरूको संसर्गबाट सभ्यताको खुड्किला चढ्न सफल भएकाले हुनुपर्छ वर्तमानमा जस्तै तात्कालीन किराँती नेवारहरूमा पनि जातिय भेदभावको सञ्जालले भने विजारोपण गरेको आभास पाइन्छ । किनकि ब्राम्हण, क्षत्री, वैश्य, शुद्र भन्ने जुन अवधारणा छ, त्यो आर्यहरूकै देन थियो । यो किराँतकालको सुरुवात यदि लिच्छवीकाल ईस्वी शताब्दीको आरम्भसँगै प्रारम्भ भएको मान्ने हो भने ईशापूर्व एक हजार वर्ष अघितिरको भएको देखिन्छ । तर बाबुराम आचार्यले भने ई.पू. ७५० तिर मान्नुभएको छ ।

यसरी प्राचीन नेपालको इतिहासमा किराँतकाल भन्दा अघिका गोपाल र महिषपालसम्बन्धी आख्यानहरू केबल वंशावली र पुराणहरूमा मात्र समेटिएको हुनाले यथार्थमा किराँतकाल नै नेपालको पहिलो ऐतिहासिक कालको रूपमा स्वीकार्न सकिन्छ । यद्यपि किरा“तकालसम्बन्धस् वंशावलीका वर्णनहरू पनि त्यति वस्तुगत र तथ्यपरक छैनन् । तर पनि नेपालमा लिच्छवी पूर्वकिराँतीहरूले लामो समयसम्म शासन गरेका थिए भन्ने कुरा हालसम्मको अध्ययनहरूबाट स्पष्ट भइसकेका छन् । जस्तोः लिच्छवीकालिन अभिलेखहरू, जुन संस्कृत भाषामा उत्कीर्ण छन्, तर त्यसमा प्रयुक्त हुन आएका प्रशस्त शब्दहरू गैरसंस्कृत अर्थात् किराँती भाषाका छन् । जसबाट त्यसबेलाका प्रमुख बस्तीहरूका नामहरू, केन्द्रीय स्तरका प्रशासनिक अड्डाहरू, कुलो, कुलेसाका नामहरू सबै किराँती भाषाका शब्दबाट आएका हुनाले ती बस्ती, अड्डा, कुलोहरू सबै किराँतकालमै स्थापना भइसकेका थिए भन्ने तथ्य जान्न सकिन्छ । यताबाट प्राचीन नेपालमा बस्तीको विस्तार भई संगठित राज्य व्यवस्थाको स्थापना किरातकालमै भइसकेको बुझिन्छ । यसरी लिच्छवीकालमा प्रसारित भएका अभिलेखहरूबाट किराँतकालको बारेमा धेरथोर जानकारी प्राप्त गर्न सकिन्छ । यतिमात्र नभएर हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा इश्वी शताब्दीभन्दा पहिलेका केही मूर्तिहरू उपलब्ध रहेका छन् । घुँगुरिएको कपाल, चिम्से आँखा, थेप्चो नाक, चौडा निधार आदि मड्डोल मुखाकृतिका आधारमा ती प्रस्तर मूर्तिहरू किराँतकालमा बनेका देखिन्छन् । जस्तोः पशुपति आर्यघाटमा रहेको विरूपाक्षको मूर्ति, स्वयम्भूको उकालो चढ्न लाग्दा देखिने बुद्धका विशाल मूर्तिहरू आदि । यसले पनि नेपालमा किराँती राज्य व्यवस्थातर्फ संकेत गर्दछ ।

किराँतकालमा नेपालको विविध रूपले विकास भएको थियो । यद्यपि मुद्रा, अभिलेखजस्ता पुरातात्विक सामग्रीहरू उपलब्ध हुनसकेका छैनन् । तर त्यसो भए पनि नेपालको प्रशासनिक ढाँचा पहिलोपल्ट किराँतकालमा नै स्थापना भएको बुझिन्छ । कुथेर, लिङोल, शूल्ली, माप्चोकजस्ता लिच्छवीकालीन केन्द्रीयस्तरका प्रसिद्ध अड्डाहरू जुन छन्, ती किराँतकालमा नै स्थापना भइसकेका थिए । काठमाडौं उपत्यकाका अधिकांश प्राचीन बस्तीहरूको स्थापना पनि किराँतकालमै भइसकेको बुझिन्छ । किनकि तिनका पुराना नामहरू किरा“ती भाषाका शब्दबाट बनेका छन् । अनि कुलोलाई समेत किराँती भाषाको तिलमक शब्द व्यवहृत भएकाले कुलो खनेर व्यवस्थित ढङ्गले खेतीपाती गर्ने चलन त्यतिबेलै थियो भन्ने बुझिन्छ । त्यसबेलाको शासन प्रणाली राजतन्त्रात्मक थियो । समाजमा महिला र पुरुषबीच कुनै भेदभाव थिएन । युद्धमा समेत महिलाहरू पुरुषहरूसँगै सहभागी हुन जान्थे । त्यसबेला शिवलिङ्ग, नागगण, वरवृक्ष आदिको पूजा गर्ने परम्परा थियो । शिवलिङ पूजा गर्ने भएकाले किराँतीहरू मूल रूपले शैव धर्मावलम्बी देखिन्छन्, तापनि अन्य धर्मको पनि त्यसबेला विकास भएको थियो । वैष्णव धर्म मान्ने गोपालहरू पहिलेदेखि नै थिए । बुद्धका शिष्य आनन्द र पछिबाट सम्राट अशोकका मानिसहरू समेत यहाँ बौद्ध धर्मको प्रचार गर्न आएबाट यस तथ्यको पुष्टि हुन्छ । किराँतीहरूकै समयमा भारतबाट विभिन्न हिन्दु धर्मावलम्बीहरू शरणार्थीका रूपमा यहाँ प्रवेश गरेका थिए । यिनमा शाक्य, कोलीय, मल्ल, लिच्छवी आदि प्रमुख थिए । यिनीहरूको बसोबासको राम्रो व्यवस्था किराँतीहरूले नै मिलाइदिएका थिए । यस अर्थमा किराँतकालको नेपाली सभ्यता विकसित अवस्थामा पुगेको थियो भन्ने थाहा हुन्छ ।

किराँतकालीन समयमा उता भारतमा भने मगध साम्राज्यको युग थियो । मगध साम्राज्यमा बिम्बिसार, अजातशत्रु, नन्दुवंशी तथा मौर्यहरूको शासन चलेको थियो । त्यसबेला ती सबै राजवंशसँग नेपालको राम्रो सम्बन्ध कायम रहेको देखिन्छ । ईशापूर्व पाँचौ शताब्दीतिर पञ्जाबी विद्वान विष्णुगुप्त चाणक्य, जसलाई कौटिल्य पनि भनिन्छ, उनले लेखेको अर्थशास्त्रमा उल्लेख भएअनुसार नेपालको व्यापार मगधको राजधानी पाटलीपुत्रसम्म फैलेको थियो । नेपालमा बनेका विभिन्न घुमराडी, आठपाते राडी, पाखी (कम्बल) हरू मगधको बजारमा निक्कै माग हुन्थ्यो । सो ग्रन्थमा यस राज्यलाई नेपार नभनेर स्पष्ट शब्दमा नेपाल भनिएको छ । किनकि कौटिल्य मूल रूपमा पञ्जाबी भए तापनि आफ्नो अर्थशास्त्रको रचना भने मगधको राजधानी पाटलीपुत्र (हालको पटना) मा आएर गरेका थिए । त्यतिबेला त्यहाँ प्रचलित मागधी वर्गको प्राकृत भाषामा “र” अर्थात् रेफ वर्णको उच्चारण लोप भई त्यसको बदलामा “ल” वर्णको उच्चारण हुने हुँदा जातिवाचक नेपार शब्दले त्यहीं नै देशवाचक नेपाल भन्ने रूप धारण गरेको देखिन्छ ।
यसरी यस क्षेत्रमा आवाद भएर रहेका नेपार वा नेवारहरू त्यसबेला मगधको राजधानी पाटलीपुत्रतिर नेपाल नामले प्रसिद्ध हुन पुगेको थियो भन्ने देखिन्छ । नेपालका केही पुराना हस्तलिखित ग्रन्थ र मध्यकालीन अभिलेखहरूमा पनि नेपाल शब्दलाई पछिसम्म जातिवाचक अर्थमा नै प्रयोग गरिंदै आएको भन्ने भनाई बाबुराम आचार्यको रहेको पाइन्छ । यसरी प्रारम्भमा उपत्यकाका आदिम मूल बासिन्दा नेपार वा नेवारबाटै यस क्षेत्रको नाम नेपाल रहन गएको र वर्तमान कालमा यस शब्दले व्यापक अर्थ बोके पनि राणाकालसम्म पनि नेपाल भन्नाले केबल तीन सहर नेपाल अर्थात् काठमाडौं उपत्यकालाई मात्र जनाउँदथ्यो ।

उपसंहार
उपर्युक्त दृष्टान्तहरूबाट के कुरा स्पष्ट हुन आउँछ भने अति प्राचीनकालमा वर्तमान काठमाडौं उपत्यका पानीले भरिएको एउटा तालको रूपमा रहेको थियो । वास्तवमा नेपाल उपत्यकाको उत्पत्ति र यसको प्राचीनता सम्बन्धमा विभिन्न धर्मशास्त्र, पुराण र वंशावलीहरूमा अनेक रोचक प्रसङहरू भेटिन्छन्, तर त्यस्ता कतिपय प्रसङमा सत्यताको आभास त्यति नमिले तापनि हालसम्म भएका अध्ययनका आधारमा तालकै रूपमा रहँदादेखि नै यहाँ मानव बसोबास रहेको र ताल फुटेर उपत्यका बनेपछि यहाँ सर्वत्रबाट मानिसहरू बसोबास गर्न आइपुगे । यसपछि यसले बस्ती, नगर र राज्यको रूप धारण गरेको तथ्य अगाडि आउँछ, जुन तथ्यलाई भूगर्भशास्त्र, मानवशास्त्र र पुरातात्विक अध्ययन अन्वेषणले पनि पुष्टि गर्दछ । यथार्थमा आदिवासी किराँती र आगन्तुक आभिर(आर्य)हरूको पारस्परिक मेलमिलापकै कारणबाट नेपाल उपत्यकामा नेवार सभ्यताको प्रारम्भ भएको मानिन्छ । आज यहाँ बसोबास गर्ने प्राचीन बासिन्दालाई नेवार भन्ने गरिन्छ र त्यसलाई एउटा जातिविशेषको रूपमा लिने गरिएको छ । तर त्यो एउटा जाति नभएर भौगोलिक अवधारणा हो ।

लेखक – सह प्रा.डा बलराम कायस्थ

Leave A Reply

Your email address will not be published.