नगर प्रमुख प्रजापतिद्वारा फोटो प्रदर्शनी अवलोकन
भक्तपुर । २०८० फागुन १९ गते, शनिबार
भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भएको ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी २०८०को समापन कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार भक्तपुरको दरबार क्षेत्रमा सम्पन्न भयो ।
फोटो प्रदर्शनी अवलोकनपश्चात आयोजित समापन कार्यक्रममा बोल्दै उहाँले फोटो आफै पनि एउटा इतिहास भएको बताउँदै भक्तपुरको सांस्कृतिक, ऐतिहासिक महत्व बोकेको फोटो प्रदर्शनीबाट देशका महत्वपूर्ण सम्पत्तिहरुको प्रदर्शन भएको बताउनुभयो ।
भक्तपुर नपाले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा जोड दिँदै आएको बताउँदै उहाँले फोटोग्राफीको इतिहास बताउने प्रदर्शनी निकै प्रभावकारी भएको बताउनुभयो ।
फोटो प्रदर्शनीको लागि आयोजकलाई धन्यवाद दिँदै उहाँले आगामी दिनहरुमा यस्ता गतिविधिलाई निरन्तरता दिँदै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर विकास समितिका अध्यक्ष दिपेशराज शर्माले दुई दिनसम्म आयोजित ब्रिलियन्ट फोटो प्रदर्शनीमा तीन पुस्ताका ६८ वटा फोटोहरु प्रदर्शन भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा फोटोग्राफर केदार बनेपालीले नगर प्रमुख सुनिल प्रजापतिसमक्ष फोटो एल्बम हस्तान्तरण गर्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले फोटो प्रदर्शनी सफलतापूर्वक सम्पन्न गर्न सहयोगी भूमिका खेल्नेहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभयो ।