Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको सातौं नगरसभाको उद्घाटन सम्पन्न

भक्तपुर । २०७७ असार ७ गते, आइतबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा साँसद प्रेम सृुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको सातौं नगरसभाको उद्घाटन कार्यक्रम आइतबार सम्पन्न भयो ।

समारोहमा सम्बोधन सांसद सुवालले भक्तपुर नगरपालिकालाई आत्मनिर्भर बनाउने आम्दानीका स्रोतहरुको पहिचान गर्न आवश्यक भएको बताउनुभयो । भक्तपुर नगरपालिकाले समाजवादी देशको शिक्षा नीति र पद्धतिबाट सिक्दै आफ्नो शैक्षिक नीतिहरुलाई अगाडि बढाउनुपर्ने, खेलकुदमा प्राप्त पदकलाई शैक्षिक योग्यतासँग जोड्ने नीति अगाडि सार्नुपर्ने भन्दै उहाँले राजश्व र कर संकलनले मात्र देशको आर्थिक विकास नहुने बताउनुभयो ।

सत्तारुढ नेकपाले ल्याएको नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावमा असहमति जनाउँदै सांसद सुवालले विदेशी बुहारीलाई कम्तीमा १५ वर्षपछि मात्र अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राख्नुपर्ने धारणा राख्नुभयो । विदेशी नागरिकता त्यागेको प्रमाणित भइसकेपश्चात मात्र अंगीकृत नागरिकताको बन्दोबस्त गर्नुपर्ने अडान उहाँको थियो ।

सांसद सुवालले उपभोक्ता समिति र अमानतबाट हुने विकास निर्माणका कार्यहरुमा आर्थिक अनुशासनको खाँचो आवश्यक भएको बताउनुहुँदै जनप्रतिनिधिहरुले इमानदारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो — ‘सिंहदरबारलाई पुरानो गाडी थन्क्याउने थलो बनाइरहेको छ । अनावश्यक नयाँ गाडी किनेर धेरै फजुल खर्चका कारण देशको स्थिति झन् कमजोर हुँदै गएको छ ।’
अपराधी र कर्पोरेटहरुले चलाएको देशमा व्यापक जनताको हित नहुने भन्दै सांसद सुवालले शासक दलहरुले व्यक्तिगत फाइदाको निम्ति मात्र राजनीति गरिरहेको बताउनुभयो ।
देशको सन्तुलित विकासको लागि देशका विभिन्न ठाउँहरुमा स—साना सहरहरुको विकास, युवाहरुलाई कृषिमा आकर्षण, जलाधार क्षेत्रको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको सभापतित्व ग्रहणस“गै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आव २०७७÷७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
नीतिभन्दा व्यक्तिगत पहुँचको आधारमा संघ र प्रदेशको बजेट विनियोजन हुने गरेको भन्दै प्रमुख प्रजापतिले अहिले पनि जनप्रतिनिधिहरू सिंहदरवार धाउनुपर्ने सामन्ती संस्कारले निरन्तरता पाइरहेको बताउनुभयो ।
केन्द्र र प्रदेशको आदेश र निर्देशनमा शासन चलाउन खोज्नु संघीयताविपरीत भएको बताउनुहुँदै उहाँले स्थानीय तहहरू स्वायत्त छन् र पूर्ण स्वायत्त हुनुपर्ने र स्थानीय तहको अधिकारमाथि कहीं कतैबाट कुनै किसिमको हस्तक्षेप हुन नहुने बताउनुभयो ।

उहाँले घना जनसंख्याका कारण उपत्यकामा फोहरमैला व्यवस्थापन, खानेपानी, ट्राफिक जाम र वातावरण प्रदुषण जस्ता समस्याहरू दिनानुदिन बढिरहेको अवस्थामा उपत्यकामा ठूल्ठूला उपसहरहरूको विकासले उपत्यकावासीले थप समस्या भोग्नुपर्नेे बताउनुभयो ।
संकटको बेला जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने मान्यताकासाथ जनतालाई कुनै समस्या नपरोस् भन्ने कुरामा भक्तपुर नपाले सचेततापूर्वक काम गर्दै आइरहेको र कोरोना भाइरस संक्रमण तथा नियन्त्रणको लागि नियमित सरसरफाइ, राहत वितरण, तरकारी बजार व्यवस्थापन, टोल–टोलमा साबुन पानीको व्यवस्था, टोल टोलमा क्लोरिनसहित बिषादी छर्किने, बाहिरबाट आएकालाई क्वारेन्टाइनको व्यवस्था र दैनिक माइकिड्ड गरी जनचेतना जगाउने कार्यहरू गर्दै आएको बताउनुभयो ।

नेमकिपा केन्द्रीय सदस्य एवम् प्रदेशसभा साँसद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कुशल रुपमा कार्यान्वयन हुने विश्वास प्रकट गर्नुभयो ।
दुई तिहाईको नेकपा सरकारले ल्याएको प्रदेशको नीति तथा कार्यक्रम र बजेट पुँजीवादी चरित्रबाट अभिप्रेरित भएको बताउनुहुँदै सांसद गोसाईंले आर्थिक र सामाजिक संकटको समयमा जनप्रतिनिधिलगायत सम्पूर्ण निकायहरुले दत्तचित्त भई इमानदार, निःस्वार्थ र अनुशासित ढंगले काम गर्न प्रेरित गर्नुभयो ।

जनप्रतिनिधिहरुले जनताको आलोचनाबाट डराउन नहुने र समाजको सेवालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुहुँदै सांसद गासार्इंले शासक दलहरुले भ्रष्टाचारी र कमिसनखोरहरुलाई गरेको संरक्षणका कारण देश आर्थिक रुपले पछाडि धकेलिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुखले स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै रजनी जोशीले काठमाडौं उपत्यकामा भएका बस्तीहरु व्यवस्थित गर्न जरुरी भएको बताउनुभयो । उहाँले उपत्यकाको क्षमता अनुसार मात्र नयाँ बस्ती बसाल्नुपर्नेमा जोड दिनुहुँदै उपप्रमुख जोशीले नगरवासीहरुको साथ र सहयोगमा नगरको चौतर्फी विकासका लागि विकास निर्माणका कामहरु÷संरक्षणका कामहरु निर्वाद रुपमा अगाडि बढाइरहेको छ भन्नुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले देश विकासको लागि सम्पूर्ण स्थानीय तहहरुले उदाहरणीय कार्यलाई प्राथमिकता दिई बजेट तथा नीति र कार्यक्रममा समावेश गरी त्यसको असल कार्यान्वयन गर्नु आवश्यक रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापनाको लागि गरिरहेको पहलले भक्तपुर र देशकै शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै प्रजिअ पाण्डेले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने
बताउनुभयो ।

नगरसभा उद्घाटन समारोह कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले धन्यवाद ज्ञापन मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने भक्तपुर नपा वडा नं.९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.