Explore news and happenings at Bhaktapur

कोभिड १९ ले तर्साएपछिका तीन दिन

– पुण्यराम लाखा,

0

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखिन थालेको थियो । नेपाल सरकारले जारी गरेको बन्दाबन्दीलाई स्थानीय तहमा प्रभावकारी बनाउन भक्तपुर नगरपालिकाले स्वयंसेवकहरु परिचालन गरेको थियो । जनप्रतिनिधिहरुको निर्देशनमा हामी कर्मचारीहरु पनि राहत वितरण, धानको वीऊ वितरण, तरकारी बजार व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत कार्यमा खटेका थियौं । वडा कार्यालयमा पनि सेवाग्राहीहरुको दैनिक भीड नहोस् भनेर अत्यावश्यक सेवा मात्र प्रदान गरिरहेका थियौं । कार्यालय समयमा दैनिक २ जना मात्र कर्मचारी उपस्थित हुनेगरी आलोपालो कार्यालय पुग्ने व्यवस्था मिलाइएको थियो । नगरको सरसफाइ कार्य भने निरन्तर चलिरहेकै थियो ।
भक्तपुर नगरपालिका वडा नं. ९ मा सम्पदा पुनःनिर्माण तथा केही विशेष निर्माण कार्यहरु स्थानीय उपभोक्ता समितिमार्फत जारी नै थिए । स्थानीय कालिगढ र स्थानीय ज्यामीहरु मात्र व्यवस्था गरिएको र कार्यस्थलमा आवश्यक सावधानी अपनाइएको कारण प्रहरी प्रशासनबाट कुनै रोकावट थिएन । विशेषतः २०७२ सालको भूकम्पबाट भत्किएको च्याम्हासिंह ध्वाकाको पुनः निर्माण कार्य अन्तिम चरणमा पुगेको थियो । सुर्यमढीस्थित नासः द्यो पुनः निर्माण कार्य पनि भइरहेको थियो । त्यस्तै यही अवधिमा ऐतिहासिक तुलु हिटीको पानीको निकास थुनिएकोले हप्तादिन लगाएर स्थानीयहरुको मेहनतमा नगरपालिका र वडा कार्यालयले निकास खोल्ने कार्य पनि सम्पन्न भयो । च्याम्हासिंहस्थित जनस्वास्थ्य कार्यालयको फार्मेसी भवन र ख्वप अस्पताल भवन निर्माण कार्य पनि जारी थियो ।
यही जेठ ४ गते वडा कार्यालयको दैनिक कार्य सम्पादन गरेपछि साँझतिर एक्लै च्याम्हासिंह ध्वाका पुनः निर्माण भइरहेको र जन–स्वास्थ्य केन्द्र परिसरमा निर्णामाधीन फार्मेसी भवनको निरीक्षणमा गएको थिएँ । जनस्वास्थ्य केन्द्रमा नगरपालिकाका सफाइ कर्मचारीहरुको आरडीटी परीक्षण भइरहेको थियो । कसैको आग्रह वा निर्देशन थिएन, नत कुनै शंका नै थियो । तैपनि आप्mनो पनि आरडीटी परीक्षण गरौं भन्ने लाग्यो । ढुक्कसंग रगतको नमूना दिएँ । १५ मिनेटभित्र परीक्षणको रिपोर्ट आउँछ भनिएकोले त्यही बसेँ ।
रिपोर्ट आउँदा भने मेरो सातोपुत्लो गयो । मेरो रिपोर्टमा आरडीटी पोजेटिभ देखियो । आकासबाट खसे झैं भयो । ल्याव टेक्निसियन साथीले पुनः मेरो टेस्ट गर्ने भन्नुभयो । मैले केही भन्न सकिनँ । पुनः आप्mनो रगतको नमूना दिएँ । त्यतिञ्जेलसम्ममा वडाध्यक्षज्यू पुगिसक्नुभएको थियो । उहाँले नगरपालिकाका सफाइ कर्मचारीहरुलाई प्राथमिकता दिएर टेस्ट गराइरहेको र कर्मचारी तथा जनप्रतिनिधिहरुको पछि टेस्ट गर्ने व्यवस्था मिलाउने कुरा राख्दै हुनुहुन्थ्यो । शायद मेरो अनुहार मलिनो थियो वा म हतासिएको चाल पाउनु भयो कि, ‘अहिले यो टेस्ट हाम्रो लागि होइन, टेस्ट किट थप आएपछि हामी पनि गरौंला’ भन्नुभयो । उहाँको भनाइमा मेरो त्यति ध्यान गएको थिएन । म अधैर्यतापूर्वक रिपोर्ट कुर्दै थिएँ ।
रिपोर्ट फेरि पनि पोजेटिभ आयो । ल्याव टेक्निसियन आफैले वडाध्यक्षज्यूलाई जानकारी गराउनु भयो । एकजना सफाइ कर्मचारी दिदीको पनि आरडीटी टेस्टमा पोजेटिभ रिपोर्ट आएको जानकारी गराइयो । हामी दुवै जना संगै थियौं । हत्त न पत्त वडाध्यक्षज्यूले एम्बुलेन्स खोज्नुभयो तर कही पनि एम्बुलेन्स थिएन । जनस्वास्थ्य केन्द्रमा त्यतिबेलासम्म पीसीआर टेस्ट गरिएको थिएन । बेलुकीको ६ नाघिसकेको थियो । वडाध्यक्षज्यूले भक्तपुर अस्पतालमा सम्पर्क गर्नुभयो । अस्पतालमा पीसीआर टेस्ट हुन्छ भनेपछि हामीलाई अस्पताल पठाउनुभयो ।
अस्पताल पुग्दा भर्खरै मात्र पीसीआर टेस्ट लिने ल्याव टेक्निसियन ड्यूटी सकाएर घर जानुभएको जानकारी पायौं । हामी अल्मलियौं । मनमा अनेक अशुभ कुराहरु खेल्न थाले । आपूmलाई के हुने हो, अनि परिवारलाई समाजले कसरी हेर्ने होला भन्ने चिन्ता बढ्न थाल्यो । घरमा चिन्ता होला भनेर मैले कसैलाई फोन गरिनँ ।
केही समयपछि नेपाल–कोरिया मैत्री अस्पतालको एम्बुलेन्स आयो । प्रहरीहरु साथमा थिए । हामीलार्ई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जान आग्रह गरियो । नाइँ भन्न सकेनौं, हामी दुई जना एम्वुलेन्सभित्र छुटाछुट्टै सिटमा बस्यौं । पत्रकारहरुले हाम्रो फोटो खिचे । निकै अप्ठेरो महशुस भयो । इटालीमा कोरोनाका बिरामीहरुलाई एम्बुलेन्समा राखेर अस्पताल लगिरहेको र पछाडि पत्रकारहरु दौडिरहेकोे दृष्य फेसबुकमा हेरेको थिएँ, त्यस्तै अनुभव भयो । इटालीमा कुखुराका चल्ला झै विरामीहरु भुटुभुटु मरेको दृष्य मानसपतलमा आइरहेको थियो । हाम्रो पनि त्यही अवस्था त आउने होला भन्ने लाग्यो ।
बेलुकी ८ः०० बजे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमर्जेन्सी वार्डमा राखियौं । पीपीई लगाएका दुइजना चिकित्सकहरु हामीसामू आउनु भयो र हामी दुवै जनासंग शरिरमा कुनै समस्या छ कि ? भनी प्रश्न सोध्नुभयो । मानसिक तनावबाहेक हामीलाई अरु केही समस्या थिएन । उहाँहरुले हामी दुवैलाई अस्पतालकै क्वारेन्टाइनमा बस्न सल्लाह दिनुभयो ।
अस्पताल भवनको भुइँ तल्लामा ३३ वटा बेड थिए । हामीलाई बेड नं. ९ र १३ मा राखियो । कोठा त्यति सफा थिएन । ट्वाइलेट पनि राम्रो अवस्थाको थिएन । सुत्ने ठाउँ फरक भएर हो वा अन्य कारणले रातभरि अनिदो भएँ ।
भोलिपल्ट जेठ ५ गते विहान ११ः४५ बजे हाम्रो स्वाब परीक्षणका लागि नमूना संकलन गरियो । अस्पतालमा पीसीआर परीक्षण गर्नेहरुको भीड थियो । विरामीहरुबीच भौतिक दूरी कायम गरिएको थिएन । सद्दे मान्छे पनि अस्पताल आएर संक्रमित होला भन्ने डर !
अस्पतालको इमर्जेन्सी वार्ड अगाडि अन्दाजी ४५–५० वर्षका कोरोना सङ्क्रमित बिरामीलाई मुखमा बल सहितको अक्सिजन लगाएर राखिएको थियो । उनलाई अर्को अस्पतालमा उपचारका लागि पठाउन लागिएको रहेछ । एम्बुलेन्समा राख्न उनको मुखबाट अक्सिजन झिकियो तर उनलाई एम्बुलेन्समा राख्न पीपीई लगाएका नर्स र डाक्टरले समेत सहयोग गरेनन् । विरामी कुरुवा बसेकी एकजना आइमाइले सकीनसकी विरामीलाई एम्बुलेन्समा राख्ने कोशिस गरिरहेकी थिइन् । अक्सिजनको अभावमा विरामी छटपटिरहेको थियो । अत्यन्त कारुणिक अवस्था देखियो ।
अस्पतालमा दिन काट्न सजिलो थिएन । परीक्षण गर्नेको भीड, विरामीको स्वास्थ्य जटिलता र कुरुवाको रोदन सुन्न लायक पक्का पनि थिएन । तर कोही रहरले अस्पताल आएका पनि थिएनन् । समय काट्न निकै सकसपूर्ण अनुभव हुन्थ्यो । साथीहरुको फोन आइरहन्थ्यो । धेरैबाट ढाडसपूर्ण सल्लाह पाउँदा मन हलुँगो हुन्थ्यो । परिवारका सदस्यहरुको अवस्था सम्झेर भने भित्रभित्रै मन पोल्थ्यो । अस्पतालमा दिन काट्न मात्र होइन, रात काट्न अझ मुश्किल थियो । मनको आकुलव्याकुलता त थियो नै त्यसमाथि सिलिङ प्mयानको आवाज पनि कर्णप्रिय थिएन । बगरमा सुत्दा खोलाको आवाज सुन्न मज्जा हुन्थ्यो होला तर प्mयानको आवाजले रातभरि कान दुख्थ्यो । केन्द्रीय अस्पताल भएकोले कोठा फराकिलो र सफा हुनुपथ्र्यो, एसी हुनुपथ्र्यो, अस्पताल परिसरमा चिटिक्क परेको बगैंचा हुनुपथ्र्यो, विरामी तथा कुरुवाको मन बहलाउने वातावरण हुनुपथ्र्यो भन्ने लाग्छ । टेकुमा त्यस्तो कुनै वातावरण नहुँदा हाम्रा अस्पतालहरु कहिले राम्रो होलान् भन्ने लाग्यो ।
जेठ ६ गते हाम्रो पीसीआर परीक्षणको रिपोर्ट आउँछ भनिएको थियो । हामी दुवैजनाको स्वास्थ्य अवस्थामा कुनै समस्या नदेखिएकोले रिपोर्ट नेगेटिभ आउनुपर्छ भन्ने लागिरहेको थियो । तर हातमा रिपोर्ट नआएसम्म भन्न सकिने अवस्था थिएन । ‘आरडीटी परीक्षणमा पनि त नेगेटिभ आउनुपथ्र्यो, किन पोजेटिभ आयो त ? फोनमा साथीहरुसंग कुराकानी गर्ने क्रममा केही साथीहरुले डेंगू रोगको भाइरस र कोभिड १९ रोगको भाइरस एकै प्रजातिको भएकोले डेंगू रोग लागेर निको भएका व्यक्तिहरुलाई आरडीटी परीक्षणमा पोजेटिभ देखाउन सक्छ है भनेका थिए । भाइरसविरुद्ध शरीरमा प्रतिरोधात्मक क्षमता विकास भएपछि आरडीटीमा पोजेटिभ आउँछ भनियो । तथ्य के हो, त्यो त थाहा छैन । तर आपूmलाई पनि एक वर्षअघि डेंगू रोग लागेको पक्का हो । नभए आपूm कही गएकै छैन, विदेशबाट आएका कसैसंग सम्पर्क गरेकै छैन कसरी कोभिड १९ रोगको संक्रमण हुन्छ त ?’ मनमा यस्तै कुराहरु खेल्न थाले ।
‘सफाइकर्मी दिदीको नि ? उहाँलाई त डेंगू रोग लागेको थिएन । सम्भवतः केही दिनअघि काठमाण्डौ महानगरपालिकामा उहाँको आफन्तलाई आरडीटी परीक्षण गर्दा पोजेटिभ आएकोले उहाँलाई पनि देखिएको हो कि ? त्यसोभए अरु साथीहरुलाई किन रिपोर्टमा पोजेटिभ देखाएन त ?’ दिमागमा कोरोना सन्त्रासबाहेक अरु केही थिएन । त्यसैले यस्तै मात्र कुराहरु खेले । यही नै हो भनेर डाक्टरहरुले भन्नुभएको थिएन । हाम्रो पीसीआर परीक्षणको रिपोर्ट पनि आएको थिएन ।
तर टोल छिमेकमा भने अनेक हल्ला चलेको साथीहरुबाट खबर आइरह्यो । स्वास्थ्य विभागको नियमित पत्रकार सम्मेलनमा भक्तपुरका एक जनाको रिपोर्ट पोजेटिभ आयो भन्ने उल्लेख गरिएको रहेछ । सबैले हामीमध्ये नै हुनसक्छ भन्ने अड्कल काटे । हाम्रो रिपोर्ट अझै आएको थिएन । पक्का पनि हामीमध्ये कोही कोरोना संक्रमित भयौं भन्ने लाग्यो । विभागले जनाए अनुसार २७ देखि ४२ वर्ष उमेर समूहका संक्रमित भेटिए भनेपछि सफाइकर्मी दिदी आतिनुभयो । उहाँको उमेर त्यही समूहभित्र पर्छ । “अब म कहाँ जाऊँ ? बालबालिकालाई कसले हेरविचार गर्छ ?” भनेर उहाँ निकैबेर रुन थाल्नुभयो । मैले सम्झाउने कोशिस गरेँ तर सकिनँ । फेरि कता कता संक्रमित व्यक्ति त गोल्मढीतिरको भन्ने हल्ला चल्यो । त्यसपछि मेरो होसहवास गुम्यो । ‘परिवारका सबै सदस्य क्वारेन्टाइनमा बस्ने भयो, वरिपरिको बस्ती पूरै सिल गरिने भयो, परिवारका सबै सदस्य र नातेदारहरुसमेतको परीक्षण गरिने भयो, परिवारका सदस्यहरु अपहेलित हुने भए ।’ दिदीलाई पर्दा सम्झाउने म परेँ, अब मलाई कसले सम्झाउने ? मन आतंकित भइरहेको थियो ।
हामी बसेको कोठामा संगै बेडमा बसेका सुनसरीका अन्दाजी ७५ वर्षका जेष्ठ आमालाई पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ तर उहाँको एक्लो छोरोलाई भने पोजेटिभ आएको रहेछ । उहाँहरु संयमित हुनुहुन्थ्यो । उहाँहरुको धैर्यताले हामीलाई चित्त बुझाउन र आत्मबल बलियो बनाइराख्न हौसला प्रदान ग¥यो ।
जेठ ७ गते बिहानदेखि नै हाम्रो रिपोर्ट आउला भन्ने आशमा बस्यौं । रिपोर्टको विषयमा हामीलाई कसैले केही भन्न आएको थिएन । फोनमा सबै आफन्त र मित्रहरुले सोधिरहेका थिए । हामीसंग कुनै जवाफ थिएन । दिनको २ः०० तिर हामी दुवैजना आप्mनो रिपोर्टको खोजीमा लाग्यौं । उहाँहरुले भन्न पो भ्याउनु भएन कि ? भन्ने लाग्यो । अलिबेरको मेहनतपछि बल्ल हाम्रो हातमा रिपोर्ट थमाइयो । दुवैजनाको पीसीआर रिपोर्टमा नेगेटिभ लेखिएको देखेपछि बल्ल आनन्दको स्वास फे¥यौं । दुवैले आ–आप्mनो रिपोर्ट दोह¥याई तेहा¥याई हे¥यौं । दुवैले आपसमा अनुहार हे¥यौं । दुवैजना अत्यन्त खुशी थियौं । हामीलाई खुशीको खबर सुनाउन हतार भयो । दुवैले आफन्त र नजिकका साथीहरुलाई फोनमार्फत खुशीको कुरा बताउन थाल्यौं ।
अस्पतालले हामीलाई घर फर्कन अनुमति दियो । तर लकडाउनको समयमा भक्तपुर कसरी पुग्ने भन्ने आइडिया भएन । भक्तपुर जनस्वास्थ्य केन्द्रबाट स्वाव परीक्षणको नमूना एम्बुलेन्समार्फत टेकु अस्पतालमा ल्याइँदै थियो भन्ने जानकारी पायौं । त्यही एम्बुलेन्समा बसेर हामी घर फर्कियौं ।
हामी निरोगी भएर खुशीले घर फर्किदै गर्दा काठमाडौं महानगर पालिकामा काम गर्ने भक्तपुरका ४२ बर्षीय पुरुषमा कोरोना देखियो भन्ने खबरले हाम्रो मन खिन्न भयो ।
हामीलाई २०७७ जेठ ४ गतेदेखि ७ गतेसम्म सहयोग गर्ने, हौसला बढाउने र उपचार गर्ने डाक्टर, नर्स, ल्याव टेक्निसियन, एम्बुलेन्सका डईभर, स्वयंसेवक र अन्य क्षेत्रबाट सहयोग गर्ने सबै महानुभावहरुमा धन्यवाद व्यक्त गर्दै देशभरि कोरोना भाइरस रोगबाट सङ्क्रमित सबै विरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

Leave A Reply

Your email address will not be published.