Explore news and happenings at Bhaktapur

कक्षा १०-१२ को परीक्षा सञ्‍चालन गर्न तीन विकल्प

वैशाख १७, २०७७

0
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कोभिड– १९ का कारण रोकिएका कक्षा १० (एसईई), ११ र १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्पमा छलफल सुरु गरेको छ । बोर्डले लकडाउन खुलेपछि केन्द्रको संख्या बढाएर परीक्षा सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ ।

भर्चुअल क्लास । टेलिभिजनबाट प्रसारित एसईई कक्षामा मंगलबार घरबाट सहभागी भक्तपुरकी छात्रा रीति वासुकला । भक्तपुर नगरपालिकाले टेलिभिजनमार्फत कक्षा चलाउने व्यवस्था गरेको छ । तस्बिर : अंगद ढकाल/कान्तिपुरपहिलो विकल्पको रूपमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी दैनिक आफ्नै घरबाट पुग्न सक्ने गरी परीक्षा केन्द्र राखेर साविकको जस्तै परीक्षा सञ्चालन गर्ने तयारी अघि बढाएको छ । विज्ञहरुले भने आन्तरिक मूल्यांकनलाई आधार मानेर परीक्षार्थीको स्तरमापन गर्न सकिने राय दिएका छन् । यी परीक्षाको जिम्मा प्रदेश, स्थानीय सरकार वा विद्यालयलाई दिएर विद्यार्थीको सिकाइ मापन गर्नुपर्ने तर्क पनि बलियो छ ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले विद्यार्थीले घरबाटै परीक्षा दिएर घरमै फिर्ता आउन भ्याउने गरी देशभर परीक्षा केन्द्रहरुको अध्ययन भइरहेको जनाए । ‘परीक्षा नै नलिने कुरा हामी कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने, ‘विद्यार्थीले आफ्नै घरमा बसेर परीक्षा दिन सक्ने गरी केन्द्र निर्धारणका लागि अध्ययन भइरहेको छ ।’ बोर्डले त्यसका लागि ७७ वटै जिल्लाबाट विवरण माग गरिरहेको छ ।


परीक्षा दिन विद्यार्थीले कोठा खोज्न नपर्ने गरी व्यवस्था मिलाइने सदस्यसचिव अर्याल जनाए । अझै एक/डेढ महिना लकडाउनको अवधि थपिँदा पनि परीक्षा गर्न सम्भव रहेको उनले दाबी गरे । ‘चैत, वैशाख, जेठ र असार परीक्षा दिएर विद्यार्थी बिदा बस्ने समय हो,’ उनले भने, ‘यसपालि परीक्षा ढिलो भए पनि नतिजा चाँडै प्रकाशन गर्ने विधि खोजी गरेका छौं ।’ बोर्डले विद्यार्थीहरुलाई परीक्षाको तयारी जारी राख्न पनि आग्रह गरेको छ ।
चैत ६ गते तोकिएको एसईईका लागि मुलुकभर २ हजार परीक्षा केन्द्र कायम गरिएको थियो । विद्यार्थीले आफ्नै घरबाट परीक्षा दिन सक्ने व्यवस्था गर्न हिमाली र पहाडी क्षेत्रमा केन्द्र थप गर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ‘तराई क्षेत्रमा खासै समस्या हुँदैन, पहाडी र हिमाली क्षेत्रमा भने करिब ५ हजार केन्द्र थप्नुपर्ने आकलन गरिएको छ,’ कार्यालयका एक अधिकारीले भने ।

एसईई दिने विद्यार्थीको कक्षा ११ को शैक्षिकसत्र साउन १६ गतेदेखि सुरु हुन्छ । १२ कक्षाको परीक्षार्थीको पठनपाठन दसैंतिहारपछि मात्रै सुचारु हुन्छ । यसपटक परीक्षा ढिलो भए पनि महिना दिनभित्रै नतिजा प्रकाशन गरेर शैक्षिकसत्रमा असर पुग्न नदिने उनले प्रस्ट्याए । ‘स्कुल, कलेज खुल्ने अवस्था आए परीक्षा चलाउन ठूलो कुरा छैन, पढ्ने विद्यार्थीभन्दा परीक्षा केन्द्रमा परीक्षा दिने विद्यार्थीको संख्या थोरै हुन्छ, पढाइ नै नभए परीक्षाको औचित्य छैन,’ अर्यालले भने ।

लकडाउन लम्बिँदै गए पहिलो, दोस्रो परीक्षाको आधारमा पनि विद्यार्थीको आन्तरिक मूल्यांकन गरेर नतिजा प्रकाशन गर्न सकिने गरी बोर्डमा छलफल भइरहेको स्रोतले जनायो । विज्ञहरुले आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको नतिजा प्रकाशन गर्न सकिने सुझाव दिएका छन् । कतिपय विज्ञले भने स्थानीय अवस्थाअनुसार यी तीनवटै परीक्षाको जिम्मा प्रदेश र स्थानीय सरकारलाई दिन सकिने विकल्प पनि अघि सारेका छन् । कतिपय शिक्षाकर्मीले होमसेन्टर (विद्यार्थीले आफैं पढेकै विद्यालयबाट परीक्षा दिन पाउने) व्यवस्था गर्न प्रस्ताव पनि अघि सारेका छन् ।

तीनवटै कक्षामा गरी १५ लाख परीक्षार्थी छन् । लकडाउन लम्बिँदै गए मात्रै अन्य विकल्पका बारेमा छलफल गर्न सकिने बोर्डका अधिकारीहरु बताउँछन् । ‘परीक्षा नगर्न वा अन्य विकल्पबाट परीक्षा गर्न अहिलेको ऐन, नियम संशोधन आवश्यक हुन्छ,’ उनले भने ।

शिक्षा मन्त्रालयले परीक्षा सञ्चालनका विकल्पहरुको अध्ययन गर्न बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले पनि विद्यार्थीलाई सहज हुने गरी परीक्षा चलाउन मन्त्रालयलाई सुझाव दिने तयारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष शिवलाल भुसालले विद्यार्थी अभिभावकलाई सहज हुने गरी परीक्षाको स्वरूप परिवर्तन गर्नुपर्ने सुझाव दिए । ‘विद्यालयलाई जिम्मा दिएर पनि स्वच्छ तरिकाबाट परीक्षा सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘परीक्षाचाहिँ लिनु नै पर्छ ।’ विद्यार्थी अध्ययन गरेकै विद्यालयमा केन्द्र कायम गरेर परीक्षा चलाउन सकिने उनले जनाए । ‘परीक्षालाई स्वच्छ र गुणस्तरीय बनाउन बाहिरबाट निरीक्षक खटाउन सकिन्छ, थुप्रै तरिका छन्,’ उनले भने । कोरोना भाइरसको त्रास र परीक्षाको तयारी पनि गर्नुपर्दा विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने समेत उनले औंल्याए । ‘परीक्षा पनि सक्दो चाँडो गर्ने दिशामा जानुपर्छ,’ उनले भने, ‘नतिजा पनि फास्ट ट्रयाकबाट छिटो ल्याउने तरिका अपनाउनुपर्छ ।’ कतिपय विज्ञले भने होमसेन्टरमा परीक्षा सञ्चालन गर्ने र छिमेकी विद्यालयबाट निरीक्षक शिक्षक खटाउनुपर्ने प्रस्ताव पनि गरेका छन् ।

शिक्षाकर्मी प्रमोद भट्ट एसईई र कक्षा ११ को परीक्षा लिनु अनिवार्य नभएको तर्क गर्छन् । उनले भने, ‘विद्यालय तहको अन्तिम १२ कक्षा हो, शिक्षकले गरेको मूल्यांकनका आधारमा ग्रेडसिट दिँदा हुन्छ ।’ कक्षा १२ को परीक्षा भने विद्यार्थीलाई अनुकूल हुने गरी सञ्चालन गर्दा उपयुक्त हुने उनको सुझाव छ ।

‘एसईई गर्नुपर्छ भन्नेमा ठूलो स्वार्थ समूह पनि जोडिएको छ,’ उनले भने, ‘एसईईको नाममा व्यापारी, शिक्षक, शिक्षा मन्त्रालय तहतका कर्मचारीले लाखौंको आर्थिक कारोबार गर्दै आएका छन् ।’ संविधानले कक्षा ८ को परीक्षा स्थानीय, १० को प्रदेश र १२ को संघीय सरकारले गर्ने अधिकार दिएको छ । त्यसकारण पनि बोर्डले एसईई सञ्चालन गरिराख्नु आवश्यक नहुने उनले औंल्याए । १२ कक्षाको परीक्षा पनि आन्तरिक मूल्यांकनलाई आधार मानेर छोटो समयमा सञ्चालन गर्न सकिने उनको राय छ । ‘अनिवार्य विषयको मात्रै लिन सकिन्छ, एकै दिन धेरै विषयको परीक्षा लिन पनि सकिन्छ, तीन घण्टा परीक्षा मात्रै ठूलो कुरा होइन,’ उनले भने ।

शिक्षा मन्त्रालयले गठन गरेको वैकल्पिक शिक्षा र परीक्षासम्बन्धी कार्यदलका संयोजक तथा खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले १२ कक्षाभन्दा तलाका कक्षाको परीक्षाको जिम्मा सम्बन्धित विद्यालयलाई नै दिँदा उपयुक्त हुने धारण राखे । कार्यदलले मन्त्रालयमा प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ । ‘पठनपाठन सुचारु गर्न सकिने अवस्था नै छैन भने अहिले परीक्षा लिन हतार गर्नु जरुरी छैन,’ उनले भने, ‘आन्तरिक मूल्यांकनलाई आधार मानेर पनि शैक्षिक प्रमाणपत्र जारी गर्न सकिन्छ ।’

त्यसका लागि विद्यालयले सञ्चालन गरेरका परीक्षाका उत्तरपुस्तिकालगायत सामग्री संकलन गर्नुपर्ने उनको सुझाव छ । ‘३/४ घण्टाको लिखित परीक्षा मात्रै ठूलो कुरा होइन,’ शर्माले भने, ‘विद्यार्थीले घरमै बसेर दिने ओपनबुक परीक्षा सञ्चालन गर्न सकिन्छ ।’ स्थानीय आवश्यकता र अवस्थाअनुसार परीक्षा चलाउन केन्द्रले तल्ला निकायमा अधिकार दिनुपर्ने उनले जनाए ।

स्रोत— कान्तिपुर दैनिक

प्रकाशित : वैशाख १७, 

Leave A Reply

Your email address will not be published.