२१ औँ शताब्दी विज्ञान र प्रविधिको युग हो । जुन देशले सूचना, सञ्‍चार र नवीनतम प्रविधिमा उच्चतम विकास गर्न सफल भएको छ त्यो देश नै विकासमा सबैभन्दा अगाडि रहेको छ । जुन देशले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर योजनाबद्धरूपले विकास गरेको छ त्यो देशको शैक्षिक अवस्था अगाडि बढेको छ र धेरै राम्रो भएको छ । ती देशले विज्ञान र प्रविधिमा पनि धेरै प्रगति गरेको पाइन्छ । अमानवीय नाकाबन्दी भए पनि क्युवा र प्रजग (उत्तर) कोरियाले धेरै राम्रो प्रगति गरेको पाइन्छ । देशमा कुशल र दूरदर्शी नेतृत्व भएमा छोटो सययमा पनि धेरै प्रगति सम्भव छ भन्ने कुरा मलेसिया, सिङ्गापुर, कोरिया, क्युवा आदि देशबाट सिक्‍न सकिन्छ । नेपालभन्दा धेरै पछि स्वतन्त्रता प्राप्त गरेका धेरै देशहरूभन्दा हामी पछाडि पर्नु कुशल नेतृत्वको नै अभाव हो । जति सरकार भए पनि जनताको नाममा सधैँ भ्रष्टाचार, लुटपाट, दमन, नातावाद, कृपावाद, गुलामी, विदेशीको दलाली सत्ताको लुछाचुँडीबाहेक शैक्षिक सुधारमा कुनै नयाँपन ल्याउन सकेनन् वा चाहेनन् । एकात्मक शासन व्यवस्थाबाट जनताले सुख, शान्ति र समृद्धि पाउन सकेनन् भनेरै सङ्घीय शासन व्यवस्था ल्याएर एउटै देशमा तीन वटा सरकार हुँदा पनि कुनै क्षेत्रमा सकारात्मक आशा भेटिदैन । ‘शिक्षा सुधारे सकलो सुधार’ भन्ने भनाइलाई हामीले आत्मसात गर्न सकिरहेका छैनौँ । नेपालको संविधानले आधारभूत शिक्षा (कक्षा १–८) र माध्यमिक शिक्षा (कक्षा ९–१२)  लाई स्थानीय सरकारको मातहतमा सञ्‍चालन गर्ने उल्लेख गरेको छ । प्रत्येक सरकारले कम्तीमा एक वर्षमा एउटामात्रै बालबालिकाको चौतर्फी विकासको लागि सुविधासम्पन्न नमुना विद्यालय बनाउने हो भने नेपालको शैक्षिक अवस्था पाँच वर्षभित्रमा धेरै उचाइमा पुग्ने थियो ।  नेपालमा ७ वटा महानगरपालिका, ११ वटा उपनगरपालिका, २७६ वटा नगरपालिका र ४६९ वटा गाउँपालिका  गरी कुल ७५३ वटा सरकार त स्थानीय स्तरमै छन् । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । खै त स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेको ? नेपालका ७५३ वटा स्थानीय सरकारमध्ये अपवादमा एउटामात्र भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गरेको छ । धेरै राम्रो गर्न नसके पनि प्रत्येक निकायले कम्तीमा एउटामात्र शिक्षण संथा नमुना बनाएको भए देशभरमा ७५३ वटा राम्रा जनताका विद्यालयहरू हुने थिए । स्थानीय निकाएको काम ठेक्‍का पट्टा लिने, आफ्नोलाई उपभोक्ता समिति बनाउने, डोजर किन्ने, कमिसन खाने, अनुत्पादक क्षेत्रमा धेरै लगानी गर्ने, नातागोता र आफन्तलाई मात्रै शुभलाभको व्यवस्था गर्नेमात्रै त होइन नि । जनताको मतको सही सदुपयोग नहुँदा देशमा अस्थिरता सृजना हुने हुन्छ । त्यसैले सम्पूर्ण स्थानीय सरकारहरूले शैक्षिक सुधारमा नयाँ सोच, नयाँ चिन्तनले काम थाल्नुपर्ने देखिन्छ ।

      अहिलेसम्मको हाम्रो शिक्षाले प्रत्येक बालबालिकालाई स्वाभिमानी, आत्मनिर्भर, सफल र खुसी हुनभन्दा पनि जसरी भए पनि सुविधाभोगी हुने, लाभको लागि जे पनि गर्ने, जहाँ धेरै लाभ हुन्छ त्यतै ढल्कने, लाभ प्राप्त गर्नकै लागि जस्तोसुकै अमानवीय काम गर्न पनि अग्रसर हुने लोभीपापी मात्रै धेरै उत्पादन गर्यो । हाम्रा शिक्षण संस्थाहरू बेरोजगार उत्पादन गर्ने तथा विदेशी कामदार उत्पादन गर्ने कारखानामात्रै भए । दुःखको बेला देश र जनताको सेवा गर्नेभन्दा पलायन हुने जनशक्तिको कारण अहिले नेपाल युवाविहीन देश तथा बूढाबूढी, महिला र बालबालिकाको मात्रै देश भएको छ । केही वर्षपछि वैदेशिक रोजगारबाट अयोग्य भएर नेपाल फर्केका अशक्त र घाइते र वृद्धवृद्धाहरूको देश हुनेछ ।  युवाबिना देशको विकास सम्भव होला र ? के हाम्रा  सरकारहरूले नयाँ ढङ्गले सोच्ने बेला भएन र ? नेपालका शिक्षाविद्हरूले शिक्षामा नयाँ चिन्तन गर्ने बेला भएन र ? नेपालका राजनीतिक दलको भूमिका सधैँ यस्तै भइरहने हो र ? अब प्रत्येक स्वाभिमान नेपालीले गम्भीर भएर शैक्षिक रूपान्तरणमा चासो लिने अवस्था आएको छ । आफूलाई सर्वशक्तिमान ठान्ने अमेरिकाजस्ता देशहरू थला पर्दै छन् । विश्वमा नयाँ शक्तिको उदय हुने सम्भावना छ । नेपालमा पनि सधैँ सत्ताको मातमा रमाउनेहरू तथा सधैँ सर्वशक्तिमान अजिङ्गर ठान्नेहरू दुला पस्ने दिन पनि आउनेछन् । तसर्थ सबै समस्याको एकमात्रै निकास भनेको शैक्षिक क्षेत्रमा नवीनतम परिवर्तन गर्नु हो ।

एउटा नमुना

नेपालका ७५३ स्थानीय तहमध्ये शैक्षिक क्षेत्रमा राम्रो काम गर्ने एकमात्र भक्तपुर नगरपालिका हो । यो नेपालको भूगोलको हिसाबले सबैभन्दा सानो नगरपालिकामध्ये एक हो । तर, यसले शिक्षा क्षेत्रमा स्थानीय निकायहरूलाई मार्गनिर्देशकको रूपमा काम गरिरहेको छ ।  गरिब तथा कामदार जनताका छोराछोरीहरूले सहुलियतपूर्ण तरिकाले स्तरीय शिक्षा दिनको लागि नगरपालिकाले धेरै शिक्षण संस्था सञ्‍चालन गरेको छ । नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई सुविधासम्पन्न, गुणस्तरीय शिक्षा सर्वसुलभ तरिकाले दिने व्यवस्था मिलाएको छ । भक्तपुर नगरपालिकाले सञ्‍चालन गरेको ख्वप इन्जिनियरिङ कलेज नेपालको मात्रै नभएर एसियाकै राम्रोमध्ये एउटा इन्जिनियरिङ्ग कलेजमा गनिन्छ । गरिबका छोराछोरीहरूले देशलाई आवश्यक पर्ने उच्चस्तरीय इन्जिनियरिङ्ग शिक्षा सस्तोमा प्राप्त गरिरहेका छन् । भक्तपुर नगरपालिकाले मध्यमस्तरीय स्वास्थ्यको जनशक्ति उत्पादन गरिरहेको  छ ।

जनताको घरदैलोमा स्वास्थ्य र शिक्षाको पहुँच पुर्‍याएको छ । अझै न्यूनत्तम शुल्कमा डाक्टर उत्पादन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले नै ख्वप विश्वविद्यालय स्थापनाको अनवरत प्रयास गरिरहेको छ । तर, शैक्षिक माफियाहरूको चङ्गुलमा परेका शासकहरूले सस्तोमा उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्‍चालन गर्न लागेको विश्वविद्यालयको अनुमति रोकिरहेको छ । जसरी विश्वमा सानो देश क्युवाले स्वास्थ्य सेवाको लागि डाक्टरलाई स्वयम्सेवकको रूपमा पठाएर सेवा गरिरहेका छन् । त्यसैगरी भक्तपुर नगरपालिकाले पनि देशलाई आवश्यक डाक्टर, इन्जिनियर, वैज्ञानिकलगायत सबै क्षेत्रका विज्ञहरू तयार गरी सम्पूर्ण नेपालीको समृद्धिको बाटो देखाउने उद्देश्य लिएको छ । नेपाल सरकारलाई  आवश्यक पर्ने मानवशक्ति उत्पादनको अभियानमा जुटेको नपालाई सहयोग गर्नुपर्ने, अझै प्रगतिको लागि प्रोत्साहन गर्नुपर्नेमा  बाधा र व्यवधानमात्रै सृजना गर्नुले हाम्रो सरकार कसको हितमा काम गर्दै छ भनेर सोच्न जरुरी छ । कोरोना भाइरसको महामारीले सम्पूर्ण देश लकडाउनमा भएको र सम्पूर्ण नागरिक लकडाउनका कारण घरमै बसेको अवस्थामा यो नगरपालिकाले बालबालिकोहरूको शैक्षिक अवस्था सुधारको लागि टेलिभिजनबाट भर्चुअल कक्षा सञ्‍चालन गरिरहेको छ । जुनसुकै परिस्थितिमा पनि जनताका छोराछोरीहरू शिक्षाबाट वञ्चित नहोऊन् भन्ने जिम्मेवारीबोधका कारण भक्तपुर नगरपालिकाले अनलाइन, फेसबुकबाट विद्यार्थीको लागि अनिवार्य ६ वटा विषयमा कक्षा सञ्‍चालन गरिरहेको छ । भक्तपुर नगरपालिकाले सञ्‍चालन गरेको भर्चुअल शिक्षाबाट नेपालका ७७ वटै जिल्लाका विद्यार्थी भाइबहिनीहरूले धेरै लाभ लिइरहेका छन् । टेलिभिजनको समय अनुकूल नहुनेहरूले फेसबुक लाईव तथा युट्युवबाट आफूलाई अनुकूल हुने समयमा अध्ययन गरिरहेका छन । अहिले तयार गरेका पाठहरू भविष्यमा पनि महत्वपूर्ण शैक्षिक सामग्रीको रूपमा रहनेछन् । विगतको लामो युद्ध तथा कुनै पनि बन्द वा हड्तालहरूमा कहिले पनि विद्यालयहरू बन्द नगरेको नगरपालिका पनि यही हो । नेपालमा सबैभन्दा पहिले स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने तथा शैक्षिक योजना बनाएर अगाडि बढ्ने नगरपालिका पनि भक्तपुर नगरपालिका रहेको छ ।

जनताको सेवा गर्ने निःस्वार्थ भावना भएका जनप्रतिनिधि भए असम्भव भन्ने केही हुँदैन । लोभीपापीहरूले नेपाल मजदुर किसान पार्टीले जितेको नगरपालिकाले गर्ने काम के अरू स्थानीय तहले गर्नहुँदैन र ? आफूलाई हात्ती पार्टी ठान्ने जनप्रतिनिधि भएका स्थानीय तहको शैक्षिक क्षेत्रमा गरेका कुनै नमुना काम किन देखिँदैन ? जसरी मानिसको सम्पूर्ण शरीरलाई सानो मस्तिष्कले सञ्‍चालन गर्छ, त्यसैगरी सम्पूर्ण स्थानीय सरकारहरूले भक्तपुर नगरपालिकालाई दियोको रूपमा सम्झिएर अब बिउँझनुपर्ने बेला आएको छ । एकैपटक सबै क्षेत्रमा परिवर्तन गर्न नसके पनि नेपालका प्रत्येक स्थानीय निकायहरूले एक–एक वटा बहुप्राविधिक शिक्षालय र प्रत्येक वडाहरूमा कम्तीमा १–१ वटा बालमैत्री गुणस्तरीय नमुना विद्यालय स्थापना गरी नेपाल र नेपालीको हितमा आत्मनिर्भर र स्वाभिमान नागरिक उत्पादनको अभियानमा जुट्न सकेमा सुखी नेपाली र समृद्ध नेपालको सपना साकार हुनेछ ।

अनलाइन मजदुर