Explore news and happenings at Bhaktapur

सामुदायिक अस्पताललाई सरकारले सहयोग गर्नुपर्छ -नारायणमान बिजुक्छें

0

भक्तपुर, १२ कार्तिक । ‘‘सामुदायिक अस्पतालहरूलाई पनि सरकारले आर्थिक सहयोग गर्नु आवश्यक छ ।’’
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सामुदायिक संस्था सिद्धि स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला तथा बाल अस्पतालको रजत जयन्तीको अवसरमा सोमबार उक्त विचार राख्नुभएको हो ।
अध्यक्ष बिजुक्छेंले उक्त अस्पतालमा ७५ वटै जिल्लाका बिरामीले सेवा पाउनु भक्तपुरबाट देशकै सेवा भएको चर्चा गर्दै प्रतिष्ठानका संस्थापक श्यामसुन्दर धौभडेल र रञ्जनी धौभडेललगायत अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिनुभयो ।

पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकार पनि राणा र पञ्चायतजस्तै सञ्चालन भइरहेको उल्लेख गर्दै सबैको लागि स्वास्थ्य उपचार निःशुल्क हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव गृह जिल्ला महोत्तरीमा निजी अस्पतालका मालिक भएको हुँदा नगरपालिकाहरूलाई स्वास्थ्य केन्द्र सञ्चालन गर्न नदिने भनी दुःसाहस गरिरहेको उल्लेख गर्दै सांसद सुवालले सरकारले ३३.५ किलो सुन तस्करका ठूला माछा समात्न नसकेको र समयमा काम सम्पन्न नगर्ने खराब ठेकेदारहरूलाई कारबाही गर्न नसकेको बताउनुभयो ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरेका अपराधीहरूलाई सरकारले सार्वजनिक नगरेको र रक्षक नै भक्षक भएको उल्लेख गर्दै उहाँले पञ्चायतकालको नमिता र सुमिता हत्याकाण्ड लोकतन्त्र र गणतन्त्रमा पनि दोहोरिएको चर्चा गर्नुभयो ।

मौलिक हक कार्यान्वयनको लागि बनाइएको जनस्वास्थ्य ऐनमा निजी अस्पताल यथावत् सञ्चालनमा रहने प्रावधान संविधानविपरीत भएको उल्लेख गर्दै सांसद सुवालले रोजगारीसम्बन्धी ऐनमा युवालाई दासजस्तै बेचविखन गर्ने प्रावधानलाई यथावत राखिएको पनि संविधानविपरीत नै भएको उल्लेख गर्नुभयो । दुईतिहाइ बहुमतको सरकारले दैवी शक्तिको आशीर्वाद भएको दाबी गरी सामन्तवादकै पक्षपोषण गरेको उल्लेख गर्दै उहाँले सरकारमा गएका नेता र नेताका पत्नी रूघाखोकी लागे दिल्ली, बैड्ढक, सिङ्गापुर उपचारमा पुग्ने तर सर्वसाधारण जनता सिटामोल नपाएर मृत्यु हुने स्थिति यथावत् रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सिद्धि स्मृति अस्पतालबाट भक्तपुरको मात्रै होइन धेरै जिल्लाका बिरामीहरूले उपचार पाइरहेको बताउँदै सामुदायिक क्षेत्रबाट सञ्चालित गैरनाफामूलक एउटा संस्थाले प्रगति गर्नसक्नु खुसीको कुरा भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘डाक्टर पढ्न रू. ४०–५० लाख खर्च हुने र त्यसरी खर्च गरेर पढेर आएका डाक्टरले बिरामीको सेवाभन्दा पैसा कमाउने उद्देश्य राख्ने हुँदा कम शुल्कमा डाक्टर पढ्ने शिक्षा दिने व्यवस्था गर्नु आवश्यक छ ।’’

‘‘सिद्धि स्मृति अस्पतालले वृद्धाश्रम सञ्चालन गरी ज्येष्ठ नागरिकको सेवा गरी सराहनीय काम गरिरहेको छ । वृद्धाश्रमको सेवा सरकार आफैले सञ्चालन गर्नुपर्छ । भनपाले आदर निकेतन व्यवस्था गर्न छलफल गरिरहेको छ ।’’ नगर प्रमुख प्रजापतिले भन्नुभयो । प्रतिष्ठानका संस्थापक श्यामसुन्दर धौभडेलले अस्तापलमा शिशु, बालबालिका, महिला र ज्येष्ठ नागरिकहरूको उपचार भइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रजिअ नारायणप्रसाद भट्ट, भक्तपुरका जिल्ला जनस्वास्थ्य अधिकृत र विदेशी मित्रहरूले पनि शुभकामना दिनुभएको थियो । अध्यक्ष बिजुक्छेंले अस्पतालमा लामो समय सेवा गर्ने कर्मचारीहरूलाई प्रशंसापत्र र अस्पतालको आयोजनामा भएका विभिन्न अतिरिक्त क्रियाकलापका विजयीहरूलाई पनि पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.