Explore news and happenings at Bhaktapur

देवाली पूजा परिस्थिति अनुकूल भएपछि गर्ने, मातातीर्थ औंसी घरमै बसी मनाउने

भक्तपुर, २०७६ बैशाख ७ गते आइतबार ।

0

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरी देवाली पूजा पछि सार्ने र हाललाई क्षमा पूजा मात्र गरी परिस्थिति अनुकूल भएपछि मनाउन सर्वसाधारण सबैमा भक्तपुर नगरपालिकाले अनुरोध गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर, नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि एवं स्थानीय प्रतिनिधिहरुको आइतबार सम्पन्न बैठकले नेपाल सरकारले बन्दाबन्दी लागू गरेको समयावधिमा देवाली पूजा परेको हुँदा रोग संक्रमणको जोखिमप्रति संवेदनशील हुन सबैमा आग्रह गरेको छ ।

बैठकले गरेको निर्णयमा भनिएको छ, ‘बन्दाबन्दीकै अवधिमा यो वर्ष बैशाख १४ गते अक्षय तृतीयाका दिन, बैशाख १८ गते तःदिन लगायत त्यसपछिका दिनमा देवाली पूजा हुने सन्दर्भमा विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोरोना भाइरस रोगको सम्भावित संक्रमणको जोखिमप्रति संवेदनशील भई हाललाई क्षमा पूजा गरी परिस्थिति अनुकूल समयमा देवाली पूजा गर्न सम्पूर्ण नगरबासीहरुलाई अनुरोध गर्ने ।’
त्यस्तै बैठकले बैशाख ११ गते मातातीर्थ औंसीको दिन आ–आफ्नो स्वास्थ्य र सामाजमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आ–आफ्नो घरबाट ननिस्किकन सामान्य रुपमै आमाको मुख हेर्ने पर्व सम्पन्न गर्न नगरबासीहरुमा आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकको अध्यक्षता ग्रहण गर्दै प्रमुख प्रजापतिले नगरवासीहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिकाले कार्य गर्दै आएको बताउनुभयो । स्वस्थ रहे चाडपर्व फेरि पनि मनाउन सकिने उहाँको भनाइ थियो ।

कोरोना भाइरस रोगको रोकथामको लागि नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लागू गरेको बन्दाबन्दीकोे बेला विस्काजात्रा पर्व परेकोमा नगरपालिका, जिल्ला प्रशासन, महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, टोल टोलका गुठी नाइके, जात्रा सहयोग समिति, टीम–क्लब, स्वयंसेवक एवं स्थानीय जनताको सहयोगमा नगरवासीहरुले सामान्य पुजामा सीमित गरी जात्रा सम्पन्न गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय भएको समेत प्रमुख प्रजापतिले बताउनुभयो ।

उहाँले संकटको बेला केही व्यवसायीहरुले विभिन्न बहाना बनाई कृत्रिम अभाव सृजना गरी आर्थिक लाभ उठाउन सक्ने सम्भावनालाई ध्यानमा राखेर प्रहरी प्रशासनसंग समन्वय गरी नगरपालिकाले बजार अनुगमन कार्यलाई तीब्रता दिने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै भक्तपुर नगरपालिकाले जनप्रतिनिधिहरुको अगुवाइमा वडा वडामा खटाइएका स्वयं सेवकहरु, जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबीच समन्वय गरी सरकारले लागू गरेको बन्दाबन्दीलाई अझ प्रभावकारी ढड्डले अगाडि बढाउने निर्णय गरिएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

मिति २०७७।१।७ को निर्णय प्रतिलिपि

 

Leave A Reply

Your email address will not be published.