Explore news and happenings at Bhaktapur

हात नभएको लिंगो (ल्योसिं) उठाउने जात्रा स्थगित

२०७६ साल चैत २६ गते, बुधबार ।

0

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न र यसको नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण प्रत्येक वर्ष चैत्र मसान्तको अन्तिम दिन भक्तपुर नपा वडा नं. ४ तालाक्व (पोटरी स्क्वायर) मा उठाइने हात नभएको लिंगो (ल्योसिं) को जात्रा यस वर्ष स्थगित भएको छ ।

बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न बिस्का जात्रा सम्बन्धी सरोकारवालाहरुको बैठकमा सो जात्रा स्थगनबारे अवगत गराउनुहुँदै एकीकृत हाकुज्या प्रजापति समाजका अध्यक्ष रामबहादुर प्रजापतिले बिस्केट जात्राअन्तर्गतको हात नभएको लिंगो उठाउने जात्रा स्थगन भएको जानकारी दिनुभयो ।

नगर प्रमुख सुनिल प्रजापतिलाई एकीकृत हाकुज्या प्रजापति समाजका गुठीयार सम्मिलित बैठकले गरेको निर्णयसहितको पत्र हस्तान्तरण गर्नुहुँदै गुठी नाइके प्रजापतिले २०७६—७७ सालको लिंगो (ल्योसिं) उठाउने जात्रालाई द्यो छेँमा राखेर सामान्य पुजापाठ गरी सम्पन्न गर्ने निर्णय बैठकले गरेको बताउनुभयो । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सो जात्रा मुख्य नाइकेहरुको उपस्थितिमा सामान्य तरिकाले सम्पन्न गर्ने निर्णय गरेको उहाँले अवगत गराउनुभयो ।

भक्तपुर नगरपालिकामा २०७६ चैत्र १० गते बसेको बिस्का जात्रा सञ्चालन कार्यदलले संसारभर फैलिंदै गएको कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखेर बिस्का जात्रा सामान्य पूजाआजामा सीमित राख्ने निर्णय गरेको थियो । जनताको स्वास्थ्यलाई ध्यानमा राखेर जात्रा स्थगित गरेकोमा नगर प्रमुख प्रजापतिले एकीकृत हाकुज्या प्रजापतिसमाजका नाइकेलगायत सम्पूर्ण गुठियारहरुलाई धन्यवाद दिनुभयो ।

Leave A Reply

Your email address will not be published.