Explore news and happenings at Bhaktapur

भक्तपुरको ऐतिहासिक बिस्का जात्रा सामान्य पुजाआजामै सीमित गर्ने

२०७६ चैत्र २६ गते, बुधबार

1

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले यस वर्षको बिस्का जात्रालाई औपचारिकतामा सीमित गर्ने सम्बन्धमा बुधबार बिस्का जात्रासँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुको बैठक बस्यो ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट १४ लाखभन्दा बढीमा संक्रमण र ८२ हजार भन्दा बढीको ज्यान गएको अवस्थामा जात्राको समयमा सम्भावित जोखिमबाट बच्न सबैजना घरभित्रै सुरक्षित रहन आग्रह गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनको निम्ति चैत्र ११ गतेदेखि २०७७ वैशाख ३ गतेसम्म कुनै पनि नागरिक अति आवश्यक काममा बाहेक घरबार ननिस्कन ‘लक डाउन’ घोषणा गरेको र यस वर्षको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा पनि लक डाउनकै अवधिमा पर्न आएको हुँदा यसलाई औपचारिक पुजाआजामै सीमित गर्ने निर्णय गरेको छ ।

जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी यस अघि २०७६ चैत्र १० गते बसेको बिस्का जात्रा सञ्चालन कार्यदल २०७६ को बैठकले परम्परादेखि चलिआएको बिस्का जात्रालाई औपचारिक पुजाआजामा मात्रै सीमित गर्ने गरेको निर्णयलाई बैठकले उपयुक्त ठहर गर्दै बिस्का जात्रासँग सरोकार राख्ने जिम्मेवार पदाधिकारीहरुको बैठकले भैरवनाथ जात्रा, लिड्डो उभ्याउने, टोल टोलमा हुने ब्रम्हायणी, माहेश्वरी, इन्द्रायणी, छुमा गणेश, बाराही जात्रालगायतका सम्पूर्ण जात्राहरु देवतालाई बाहिर ननिकाली देवता घर (द्योछें) मै सामान्य पुजाआजामा मात्रै सीमित राख्ने निर्णय ग¥यो ।

बैठकमा भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, ४ का वडाध्यक्ष कुमार चवाल, ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याल, गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्य र जात्रासँग सम्बन्धित भैरवनाथ जात्रा सहयोग समिति, ब्रम्हायणी जात्रा, बाराही जात्रा, छुमा गणेश जात्रा, महाकाली जात्रा, याछें गणेश जात्रा, (लालाछे) गणेश जात्रा, इन्द्रायणी भजन, जेठा गणेश गुठीलगायतका गुठी नाइके तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बैठकमा उपस्थित विभिन्न गुठी नाइके तथा प्रतिनिधिहरुले बिस्का जात्रालाई हुलहुज्जत नहुने गरी औपचारिक पुजाआजामा मात्र सीमित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

1 Comment
  1. Rashmi Khagi says

    बिस्केट जात्रा मनाउनको लागि छुट्याइने सरकारी बजेट कृपया कोभिड १९ राहत कोषमा जम्मा गरियोस् ।

Leave A Reply

Your email address will not be published.