Explore news and happenings at Bhaktapur

नगर प्रमुख सुनिल प्रजापतिद्वारा खुद्रा व्यापारीहरूलाई खाद्यान्न पसल खुल्ला राख्न निर्देशन

भक्तपुर । २०७६ साल चैत २० गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका खुद्रा व्यापारीहरूलाई खाद्यान्न पसलहरू खुला राख्न निर्देशन दिनुभयो ।

कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयमा खाद्यान्न र अतिआवश्यक वस्तुहरूको सहज आपूर्तिको लागि नगर प्रमुख प्रजापतिको संयोजकत्वमा भक्तपुर जिल्ला खुद्रा व्यापार संघका पदाधिकारीहरूसँग बिहीबार सम्पन्न छलफल कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका खुद्रा व्यापारहरूलाई व्यवस्थित सञ्चालनको लागि नगरपालिका आवश्यक छलफलमा जुटिरहेको बताउनुभयो ।

नगरपालिकाले अतिआवश्यक कार्यको लागि मात्र प्रत्येक घरमा एकजनालाई पास घर बाहिर निस्कन अनुमति पत्र वितरण गरेको स्पष्ट पार्नुहुँदै लकडाउन पूर्ण रुपमा परिपालन गर्न नगरबासीको स्वयम्को अनुशासनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

ज्येष्ठ नागरिकहरूमा कोरोना संक्रमणको खतरा बढी हुने भएको हुँदा मन्दिर, पाटी, मस्जिद, चर्च आदिमा पूजा र अनावश्यक भिड नियन्त्रण गर्न नगरपालिकाले अनुरोध गरिरहेको बताउनुहुँदै खाद्यान्न पसलहरूको व्यवस्थित सञ्चालनले कालोबजारीमा नियन्त्रण हुने र जनजीवन पनि सहज हुने बताउनुभयो ।

छलफलमा संघका प्रतिनिधिहरूले खाद्यान्न पसल सञ्चालन र दैनिक उपभोग्य वस्तु जस्तै ग्यास सिलिन्डर वितरणको लागि व्यापारीहरूको लागि पनि छुटै पासको व्यवस्था गर्नुपर्ने बताउनुहुँदै संकटको बेला आवश्यक सुरक्षा अपनाएर भए पनि पसल सञ्चालन गर्न आफूहरू तत्पर रहेको बताउनुभयो । बिहानको समयमा लकडाउनको पालना नभएको देखिएको बताउँदै उहाँहरूले तरकारीलगायतका सामान किन्ने निहुँमा धेरै मानिसहरू घर बाहिर हिंड्ने प्रवृत्ति अझै बाँकी रहेको हुँदा लकडाउनलाई कडाइका साथ लागु गर्नु आवश्यक भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.