Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापति र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिबीच छलफल

२०७६ साल चैत २० गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूबीच बिहीबार नगरपालिकाको सभाकक्षमा लकडाउनको समयमा खाद्यान्न आपूर्ति व्यवस्थापनबारे बैठक बस्यो ।

बैठकमा नगर प्रमुख प्रजापतिले लकडाउनको समयमा खाद्यान्नलगायत दैनिक उपभोगका वस्तुको अभाव हुन नदिन नगरपालिकाले विभिन्न सरोकारवाला निकायहरूसँगको छलफललाई अगाडि बढाइरहेको बताउनुभयो ।

कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयमा घरभित्रै बसेर सिर्जनशील काम र उत्पादनहरू गर्न सकिने बताउनुहुँदै प्रमुख प्र जापतिले नेपालमा अहिले डेङ्गुको पनि प्रकोप रहेको हुँदा आवश्यक सहजकता अपनाउनुपर्ने बताउनुभयो ।

लकडाउनको समयमा घरमै बसेर गर्न सकिने तालिमहरू अहिलेको समयमा निकै उपयोगी हुने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाभित्र अवस्थित घरेलु तथा साना उद्योगहरूलाई व्यवस्थित सञ्चालनको लागि आवश्यक छलफलहरू चलिरहेको छ भन्नुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले लकडाउनको समयमा दैनिक ज्यालादारी काम गर्ने श्रमिकहरूलाई राहत वितरण स्थानीय सरकारले जनप्रतिनिधिको प्रत्यक्ष संलग्नताबाट एकद्धार प्रणालीबाट हुने प्रष्ट पार्नुहुँदै संकटसँग जुध्न सिंगो देश एकजुट हुनु आवश्यक भएको बताउनुभयो ।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष बिरेन्द्र जतिले कोभिड १९ को उच्च जोखिममा नेपाल पनि रहेको हुँदा लकडाउनको समयमा बढ्दो खाद्यन्नको मागले उत्पन्न हुनसक्ने कालोबजारीलाई निरुत्साहित गर्नुपर्ने र नगरपालिकाले सञ्चालन गर्ने हरेक गतिविधिमा सहकार्य गर्न भक्तपुर घरेलु तथा साना उद्योग संघ तत्पर रहेको बताउनुभयो । लघु घरेलु तथा साना उद्योगबाट उत्पादित ताइचिन चिउरा, लोकल चामल, विभिन्न मसला, दाल, तोरी, घ्यु इत्यादिलाई खाद्यान्न सहज आपूर्ति र संघसँग आबद्ध उद्योग निर्वाध रुपमा सञ्चालनको नगरपालिका तर्फबाट आवश्यक सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.