Explore news and happenings at Bhaktapur

दैनिक उपभोग्य सामग्रीहरुको सहज आपूर्तिबारे नगर प्रमुख प्रजापति र भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच बैठक

भक्तपुर । २०७६ चैत १९ गते, बुधबार

0

नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गरेको समयमा दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरुको सहज आपूर्तिको विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा विहिबार जनप्रतिनिधि एवं भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुको बैठक सम्पन्न भयो ।

बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले लकडाउनको समयमा सर्वसाधारण जनतालाई कुनै अप्ठेरो अवस्था सिर्जना हुन नदिन नगरपालिकाले आवश्यक प्रवन्ध मिलाइरहेको जानकारी दिनुभयो ।

कोरोना भाइरस रोगको विषयमा जनतालाई सचेत पार्न नगरपालिकाले माइकिङ तथा पर्चा वितरण गरिरहेको, प्रत्येक वडामा विपद व्यवस्थापन समन्वय समितिमार्फत जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविकाहरु परिचालित भई घरघरमा सचेतना जगाउने कार्य भइरहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले विहान र बेलुकीको समयमा मन्दिर, मस्जिद, चर्च, बहाबहीमा पूजा प्रार्थन गर्न जाने, मर्निङ वाक गर्ने वा तरकारी किन्ने नाउँमा मानिसहरुको भीड देखिएकोप्रति संवेदनशील भई नगरपालिकाले अत्यावश्यक कार्यका लागि मात्र एक घरबाट एक जना मात्र घरबाहिर निस्कन अनुमति पत्र वितरण गरेको तथा तरकारी बजारलाई प्रत्येक वडाका अनुकूल स्थानहरुमा व्यवस्थापन गरिएको प्रष्ट पार्नुभयो ।

लकडाउनको समयमा कालाबजारी, मूल्यवृद्धि तथा कृत्रिम अभाव हुनसक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिंदै प्रमुख प्रजापतिले व्यापारी व्यवसायीहरुमार्फत बजारमा जनताका दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

बैठकमा संघका प्रतिनिधिहरुले विपद्को बेला सर्वसाधारण जनतालाई सुविधा दिन नगरपालिकाको अभिभाकत्वमा संघमार्फत व्यापारी व्यवसायीहरु अघि बढ्न तयार भएको बताउनुभयो ।

उहाँहरुले खाद्यान्न पसलहरुको सहज रुपमा खोल्न तथा अत्यावश्क सामग्री ढुवानीलाई सुविधा प्रदान गर्न आवश्यक व्यवस्थाको लागि नगरपालिकामा अनुरोध गर्नुभयो ।

भक्तपुरवासीहरुका लागि दैनिक उपभोग्य सामग्री तथा खाना पकाउने ग्यासको समस्या नरहेको चर्चा गर्दै उहाँहरुले नगरपालिकाले उद्योग वाणिज्य संघ एवं जिल्ला प्रशासन कार्यालयबीच समन्वय गरेर उपभोक्तासम्म सहज रुपमा पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.