Explore news and happenings at Bhaktapur

खेलकुद शारीरिक व्यायामको निम्ति मात्र नभई मित्रताको निम्ति पनि हो – का. रोहित

0

भक्तपुर, २०७५ कार्तिक ११ गते, अाइतबार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा २०७५ कार्तिक ११ गतेदेखि १७ गतेसम्म हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्‍घाटन कार्यक्रम एक समारोहबीच शहिद स्मृति खेलमैदानमा कार्तिक ११ गते सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले खेलकुद शारीरिक व्यायामको निम्ति मात्र नभई मित्रताको निम्ति पनि भएको बताउनुभयो । खेलकुद प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकास उकास्न मद्दत पुग्ने बताउँदै विद्यार्थीहरूमा अनुशासनको विकास हुने बताउनुभयो ।

  उहाँले आफूभन्दा कमजोरलाई सिकाउने र अरुबाट पनि सिक्ने भावना अभिवृद्धि गर्नुपर्ने बताउँदै स्वास्थ्यलाई बलियो पार्न मात्र नभई समाजको निम्ति उल्लेखनीय कार्य गर्न पनि खेलुकद प्रतियोगिता आवश्यक रहेको औंल्याउनुभयो । कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई नेपालको संविधानमा मौलिक हकअन्तर्गत राखिनुपर्ने माग नेपाल मजदुर किसान पार्टीको रहेको बताउँदै खेलाडीहरूलाई उत्साहित गर्न भक्तपुर नगरपालिकाले विभिन्न खेलहरूको प्रशिक्षण र प्रतियोगिताहरू आयोजना गर्दै आएको बताउनुभयो ।

उहाँले प्रतियोगितामा हार–जित भन्दा पनि खेलाडीहरूको अनुशासन महत्त्वपूर्ण पक्ष रहेको बताउँदै नेपालको सार्वभौमिकतामा हस्तक्षेप हु“दा त्यसको विरोधमा आवाज उठाउने विद्यार्थीहरू तयार गर्नतिर विद्यालयहरूले सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश नं. ३ का सदस्य सुरेन्द्रराज गोसाईंले भन्नुभयो – ‘समाज तबमात्र सुन्दर हुन्छ जब सुसंस्कृत हुन्छ । खेलकुद विनाको जीवन अपूरो हन्छ । खेलकुदलाई प्राथमिकतामा राख्नु हरेक स्थानीय सरकारको दायित्व हो ।’  उहाँले खेलकुदलाई जीवनको अभिन्न अंगको रूपमा विकास गर्नुपर्ने र देशलाई अखण्डित बनाइराख्न जागरुक, देशभक्तिपूर्ण भावना भएका नागरिकको खाँचो भएको औंल्याउनुभयो ।

भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले युवालाई अग्रतामा ल्याउन खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै महिला खेलाडीहरूलाई पनि आफ्नो आत्मरक्षाको निम्ति विभिन्न खेलहरूको प्रशिक्षण आवश्यक भएको बताउनुभयो । भक्तपुर जिल्लाका प्रजिअ नारायणप्रसाद भट्टले हरेक व्यक्तिको शारीरिक, मनोवैज्ञानिक र सामाजिक विकासको निम्ति खेलकुद आवश्यक रहेको बताउँदै खेलकुदको विकासको निम्ति भक्तपुर नगरपालिकाको प्रयास उल्लेखनीय रहेको बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले खेल जीवनले विद्यार्थीको व्यक्तित्व विकास र अनुशासनलाई कायम राख्ने र त्यसैमार्फत् राष्ट्रलाई चिनाउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाअध्यक्ष श्यामकृष्ण खत्री र वडा नं. ७ का वडाअध्यक्ष उकेश कवां र वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।

भक्तपुर नपाले आयोजना गरेको उक्त कार्यक्रममा भक्तपुरका ९२ वटा स्कूलमध्ये ६१ वटा विद्यालयबाट १८१४ जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएको नपा स्रोतले जानकारी दिएको छ । प्रतियोगिताको समुद्घाटनको लागि दत्तात्रयबाट र्‍याली गरिएको थियो । र्‍यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्वजनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थीहरूहरूको उल्लेख्य सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.