Explore news and happenings at Bhaktapur

नेपालभाषा साहित्य तःमुंज्याकाे दबुमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति

0

भक्तपुर । ‘जनता म्वाःसा भाषा म्वाइ’ अर्थात् जनता रहे भाषा बाँच्छ भन्ने मूल नाराका साथ ३८ औं नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) हुँदैछ । नेपालभाषा साहित्य तःमुंज्या साहित्यिक दबुमात्र नभई वर्गसङ्घर्षको दबु पनि हो । कामदार वर्गलाई राजनैतिक रुपमा सचेत पार्दै वर्गसङ्घर्षको लागि तयार गर्ने काम तःमुंज्याले स्थापनाकालदेखि गर्दै आएको छ । तःमुंज्याले देश र जनताको पक्षमा कलम चलाउने थुप्रै क्रान्तिकारी साहित्यकारहरू तयार गरिसकेको छ । यसको निरन्तरताको कामना गर्दछु ।

नेपालमा पहिले एउटै भाषा, जाति र संस्कृतिको बोलवाला थियो । नेपाल धेरै जातजाति, भाषाभाषी र संस्कृति भएको देश भएको हुँदा नेपालीबाहेकका जातजाति, भाषाभाषीको निम्ति त्यो चित्तबुझ्ने कुरा थिएन । आ–आफ्नो जाति, भाषा र संस्कृति सबैलाई प्यारो लाग्छ । जनआन्दोलनको क्रमसँगै एक भाषा, संस्कृतिको नीति खारेज भयो र त्यसको ठाउँमा बहुभाषिक नीति लागू भयो ।

नेपालको संविधान २०७२ लागू भएपछि संवैधानिक रुपमै नेपालमा बोलिने सबै भाषा र संस्कृतिबारे स्पष्ट पारियो । संविधानको मौलिक हकमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने, प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुने र नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदा संवद्र्धन तथा संरक्षण गर्नेजस्ता हक प्रदान गरिएको छ ।

नेपालको कुनै ठाउँमा बस्ने व्यक्तिले अदालत, स्थानीय तह वा कुनै पनि सरकारी कार्यालयमा गएर आफ्नै भाषामा निवेदन दिने, बयान–वकपत्र गर्ने वा अन्य कुनै पनि काम गर्न पाउने भएका छौं । नेपाली भाषामै सबै काम गर्नुपर्छ भन्ने विगतको बाध्यकारी व्यवस्था समाप्त भएको छ । यसबारे नयाँ पुस्तालाई तयार गर्नुपर्छ भन्ने भावनाले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार ग-यो । स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, लिपि, संस्कृति, सम्पदा, खेलकुद, विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूको जीवनी, स्थानीय इतिहास र भूगोलबारे अध्ययन अध्यापनको लागि विभिन्न विषयहरू समावेश गरेका छौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा विद्यालय, कलेजहरूमा सिकाए पनि स्थानीय विषय अध्ययनको कमीले विद्यार्थीहरू स्थानीय विषयमा कममात्रै जानकारी राख्छन् । त्यो अभाव पूर्तिको लागि नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको हो । रञ्जना लिपि र प्रचलित लिपिजस्ता नेपाल भाषाका लिपिसम्बन्धी कक्षा भक्तपुरका सबै विद्यालयहरूमा सिकाउने कोशिश गर्दैछौं । नगरपालिकाले चार महिने लिपि कक्षाको तालिम पनि सञ्चालन गरिसकेको हुँदा समस्या हुने देख्दैनौं ।

भक्तपुरका गौरव भनेकै यहाँका मठ–मन्दिर, देवालय, शिवालय, पाटी–पौवा, ढु·ेधारा, पोखरीजस्ता हाम्रा सम्पदाहरू हुन् । हाम्रा ती सम्पदाहरूले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका छन् । भूकम्पबाट क्षतिग्रस्त ती थुप्रै सम्पदाहरू अहिले भक्तपुर नगरपालिकाले पुनःनिर्माण र जीर्णोद्धार गर्दैछ । सकेसम्म यहाँका सम्पदाहरू प्राप्त प्रमाणहरूको आधारमा जनसहभागितामै मौलिक शैलीमै निर्माण गर्न जोड दिंदैछौं । हामी सम्पदाहरूमात्रै होइन अन्य कुनै पनि निर्माण ठेक्कामा दिन चाहनौं । ठेक्कापट्टाबाट काम गर्दा जनप्रतिनिधिलाई सजिलो हुने भए पनि सबै पैसा ठेकेदारको खल्तीमा जान्छ । नगरपालिका हरेक निर्माण उपभोक्ता समिति वा अमानतमा गर्ने पक्षमा छ । निर्मित संरचना गुणस्तरीय हुने, स्थानीयले रोजगारी पाउने र पैसा स्थानीयकै बीचमा जाने हुँदा यो नै सबैभन्दा उपयुक्त निर्माण विधि हो ।
पप्पु कन्स्ट्रक्सन अहिले निकै चर्चामा छ । त्यो कम्पनीले बनाएको कुनै पनि पुल राम्रो नभएको सार्वजनिक भएको छ । ठेकेदारले निर्माणको गुणस्तर हेर्दैन, उसले केवल पैसा हेर्छ । ठेकेदार त व्यापारी हो । व्यापार नाफाकै निम्ति गरिन्छ । अधिकांश ठेकेदाहरूले सम्बन्धित अधिकारीहरूसँग मिलेर निर्माणमा चरम लापरबाही गरिरहेका छन् । देशको सम्पदा निर्माणमा जथाभावी गर्नु एक प्रकारको अपराध हो । त्यस्ता भ्रष्ट ठेकेदारहरूलाई कडा कारबाही गर्नुपर्नेमा सरकार स्वयंले संरक्षण दिइरहेको छ ।

भक्तपुर सांस्कृतिक नगर भएकोले यहाँको संस्कृति संरक्षणमा पनि नपाले ध्यान दिइरहेको छ । गाईजात्रामा प्रदर्शन भएका विभिन्न सांस्कृतिक विधाहरू र वडा वडाका सांस्कृतिक गुरुहरूको सम्मानमा पर्यटन दिवसको अवसरमा असोज ११ गते रु. १४ लाखभन्दा बढी रकम पुरस्कार र सम्मानस्वरुप वितरण गरियो । संस्कृति र सम्पदा संरक्षणमा निरन्तर लागिरहनुभएका हाम्रा सांस्कृतिक अगुवाहरूको सम्मानस्वरुप प्रदान गरिएको हो । यसलाई निरन्तरता दिंदै जानेछौं ।

नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले घर घरमा नर्सि· सेवा सुरु ग¥यो । त्यसले ज्येष्ठ नागरिक, महिला, अपा·ता भएका नगरवासीहरूमा धेरै सहयोग पुगिरहेको छ । आयुर्वेदिक शाखा नगरपालिकाअन्तर्गत आएपछि वडा वडामा त्यसको सेवा विस्तारका साथै विद्यालयहरूमा चिकित्सकहरू पठाई स्वास्थ्य शिक्षा दिने कार्यक्रमहरू भइरहेका छन् । नगरवासीमात्रै होइन वरपरका जनताको स्वास्थ्य सेवामा सहज होस् भनी ख्वप अस्पताल निर्माणको तयारीमा जुटेका छौं । अस्पताल निर्माण नगरपालिका स्वयंले गर्ने हुँदा त्यस कार्यमा नगरवासी दाजुभाइ दिदीबहिनीहरूको सहयोगको अपेक्षा गर्दछौं ।

संविधिानको मौलिक हकमा आधारभूत शिक्षा निःशुल्क र अनिवार्य तथा मा.वि. शिक्षा निःशुल्कको व्यवस्था छ । अहिले त्यससँग सम्बन्धित ऐन बनिसकेको छ । ऐनमा सरकारी विद्यालयमा पढ्नेहरूको लागि मात्रै निःशुल्क भन्ने आएको छ । निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूले त पहिलेभैंm पैसा तिर्नुपर्ने व्यवस्था रहेछ । संविधान सबैको निम्ति हो । निजी विद्यालयमा पढ्नेहरूले पैसा तिर्नुपर्ने भएसम्म मौलिक हकको त्यो प्रावधान कार्यान्वयन भएको मान्न सकिंदैन । यो संविधानको भावनाविपरीत पनि हुन्छ ।

सम्पदा निर्माणमा अभैm कति ठाउँमा अन्योल देखिन्छ । एकपटक सञ्चारमाध्यममा रानीपोखरी सेनालाई निर्माण गर्ने जिम्मवारी दिने भयो भनी समाचार आयो । हामीले तत्काल गत साउन १३ गते काठमाडौं, ललितपुर महानगरपालिका, कीर्तिपुर र मध्यपुर नगरपालिकाका प्रमुखहरूको बैठक बोलायौं । बैठकमा हामीले उपत्यकाका सम्पदाहरू पुनःनिर्माण जनसहभागिता जुटाई गर्ने, प्राप्त प्रमाणहरूको आधारमा मौलिक शैलीमै निर्माण गर्ने र काठमाडौं उपत्यकाका पुराना सहरहरूलाई समेटेर उपत्यकालाई नै सांस्कृतिक क्षेत्र घोषणा गराउन जोड दिनुपर्ने प्रस्ताव राख्यौं । बैठकले त्यो पास ग¥यो । त्यसपछि रानीपोखरी सेनालाई नदिने, काष्ठमण्डप ठेक्कामा निर्माण गर्न नदिने निर्णय बाहिर आयो । यो सकारात्मक कुरा हो ।
भक्तपुर नगरपालिकाले कहिल्यै पनि भक्तपुरको विषयमात्रै सोचेन । जहाँको भए पनि देशको सम्पदा संरक्षण गर्नुपर्छ भनेर लागेको छ । यस्ता महत्वपूर्ण काम नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्र, निर्देशन तथा सल्लाहमै भइरहेको छ ।

अहिले सङ्घीयता कार्यान्वयनमै समस्या देखिएको छ । संविधानले तीन वटा सरकारको कल्पना गरेको छ, केन्द्र, प्रदेश र स्थानीय । त्यो कुनै कसैको अधीनमा बस्नु पर्दैन । संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र सबै स्वतन्त्र रुपले काम गर्न सक्षम छन् । संविधानमा प्रस्ट भएको विषयमा समेत आवश्यक कानुन नबनाई केन्द्रले विभिन्न आदेशहरू दिएर स्थानीय तहहरू सञ्चालन गर्ने कोशिश गरिरहेको छ । यो आपत्तिजनक विषय हो ।
सुरुमै राजपत्रमा मन्त्रिपरिषद्को आदेश प्रकाशित गरी स्थानीय तह सञ्चालन गरियो । हामीले ऐनलाई आदेशले काट्न नसक्ने तर्क ग¥यौं । अहिले फेरि कर्मचारीहरू भर्ना नगर्न, शिक्षाको अधिकार समन्वय एकाइलाई दिनेजस्ता मन्त्रालय र मन्त्रिपरिषद्ले आदेश जारी गरेको छ । यसरी देश सङ्घीयतामा गए पनि सरकारमा जाने नेताहरू र उच्च प्रशासकको मानसिकता एकात्मक नै छ । त्यो सोचमा परिवर्तन नभएसम्म स्थानीय तहहरूले जनभावनाअनुसार राम्रोसँग काम गर्नसक्दैनन् ।

(२०७५ कार्तिक ४ र ५ गते भक्तपुरमा सम्पन्न ३८ औं नेपालभाषा साहित्य तःमुंज्यामा पहिलो दिन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार)

Leave A Reply

Your email address will not be published.