Explore news and happenings at Bhaktapur

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि भक्तपुरमा

0

भक्तपुर, २०७५ कार्तिक ९  । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले भेट गर्यो ।

भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आफ्नै स्रोतबाट परम्परागत सीप र साधन प्रयोेग गरी यहाँका विश्व सम्पदामा सूचिकृत सम्पदाहरुको संरक्षण गर्दै आएको जानकारी गराउनु भयो । उहाँले भक्तपुरका जनताले सिद्ध पोखरी पुनः निर्माणको अनुभवबाट सिकेर भाज्या पोखरी पुनः निर्माण गरिरहेको बताउनु भयो ।

परम्परागत शैलीमा कालिमाटी प्रयोग गरी भाज्या पुखुमा पानी अडाउन सफल भएको बताउनु हुँदै पोखरीको बीचको मन्दिरको इतिहासविद्, पुरातत्वविद् र संस्कृतिविद्हरुबाट डिजाइन भैरहेको प्रमुख प्रजापतिले जानकारी गराउनु भयो । विज्ञहरुको प्रतिवेदन प्राप्त भएपछि निर्माण कार्य अघि बढ्ने जानकारी गराउनु हुँदै उहाँले निर्माण कार्य स्थानीय उपभोक्ता समिति मार्फत गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटघाट कार्यक्रममा पुनः निर्माण प्राधिकरणका सम्पदा महाशाखाका प्रमुख मानन्धरले भक्तपुरको सिद्ध पोखरी र भाज्या पोखरी पुनः निर्माणको अनुभवलाई काठमाण्डौको रानी पोखरी पुनःनिर्माण कार्यको लागि प्रयोग गर्न चाहेको बताउनु हुँदै आवश्यक सहयोगको लागि आग्रह गर्नुभयो ।

भेटमा भक्तपुरको सम्पदा संरक्षण र विकास निर्माणलगायतका कार्यहरुको विषयमा छलफल भएको थियो । भेटमा भ.न.पा.का वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र प्राधिकरणका वरिष्ठ इन्जिनियर ध्रुव पौडेलको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.