Explore news and happenings at Bhaktapur

राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु

0

काठमाडौ‌, कार्तिक ८ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु पुनः निर्माणसम्बन्धि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा जनप्रतिनिधि तथा प्राविधिकहरुको एक टोलीले विहिबार राष्ट्रिय पुनः निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का निर्देशक नवराज प्याकुरेलसंग भेट गर्नु भयो।

भेटमा नगर प्रमुख प्रजापतिले भूकम्पबाट क्षतिग्रस्त भक्तपुर दरवार क्षेत्रस्थित सिंहध्वाका दरवार, नगरपालिकाको पुरानो भवन र पुजारी मठको पुनः निर्माणको लागि नगरपालिकाले तयार गरेको नक्सा र डिजाइन पेश गरी पुनः निर्माणको लागि आवश्यक बजेट बन्दोबस्त गर्न आग्रह गर्नुभयो ।

उहाँले भक्तपुर नगरपालिकाले स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा पुनः निर्माण कार्य भइरहेको चर्चा गर्दै उपभोक्ता समितिमार्फत कार्य हुँदा कम खर्चमा गुणस्तरीय निर्माण हुने प्रष्ट पार्नुभयो ।

निर्देशक प्याकुरेलले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु संरक्षणमा भक्तपुर नगरपालिकाले उल्लेखनीय कार्य गरेकोमा प्रशंसा गर्दै इकाइले देशका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदा क्षेत्रहरुको वस्ती विकास एवं पुनः निर्माणको योजना अगाडि सारेको बताउनुभयो ।

भेटमा प्राधिकरणका प्राविधिक सल्लाहकार सुर्यभक्त साँगाछेले भक्तपुर दरवार क्षेत्रमा रहेका सम्पदाहरु पुनः निर्माण कार्यमा नगरपालिकाको पहल सकारात्मक भएको उल्लेख गर्दै त्यसमा प्राधिकरणबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरु रविन्द्र ज्याख्व र उकेश कवां तथा नगरपालिकाका प्राविधिकहरु ई. ओमहरि था श्रेष्ठ, आ.रामगोविन्द श्रेष्ठ र ई.सुर्यभक्त खर्बुजाको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.