Explore news and happenings at Bhaktapur

फलेबासका जनप्रतिनिधि भक्तपुर नगरपालिकामा

0

भक्तपुर, ६ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग फलेबास नगरपालिका, पर्वतका प्रमुख पदमपाणी शर्माले भेट गर्नुभयो । भेटको क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले संविधान र कानुनले दिएको अधिकारभित्र रही शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण र पर्यटनलाई प्राथमिकतामा राखी कार्य गरिरहेको जानकारी गराउनु भयो । उहाँले काम गरी खाने वर्गलाई उत्थान गर्न आवश्यक योजना बनाई भक्तपुर नगरपालिकाले विभिन्न गतिविधि गर्दै आएको जानकारी गराउँदै ख्वप विश्वविद्यालय सञ्चालनको लागि कोसिस गरिरहेको जानकारी गराउनुभयो ।

विश्वविद्यालय सञ्चालन गर्न पाएमा हाल इन्जिनियरिङ विषयमा जस्तै न्यून शुल्कमा गुणस्तरीय चिकित्सकहरू तयार गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले हाल ठूला राजनीतिक दलहरूबीच भागबण्डाको राजनीति भइरहेकोले देशमा अराजकता र विकृति बढिरहेको जानकारी गराउनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरूले सरकारलाई परनिर्भर बनाउनेतर्पm लागिरहेको बताउँदै आत्मनिर्भर स्थानीय तहले मात्र विकास गर्नसक्ने बताउनुभयो ।

यसै क्रममा भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण कार्यको लागि जर्मनको के.एफ.डब्लू. बैङ्कले प्रस्तावित सहयोग अनुचित शर्तहरू राखेको कारण स्वीकार गर्न नसकेको जानकारी दिंदै हाल भक्तपुरको विश्व सम्पदामा सूचिकृत सम्पदाहरू नगरपालिकाले आफ्नै स्रोतमा संरक्षण गरिरहेको जानकारी गराउनुभयो । उहाँले सबै स्थानीय तहहरूले आफ्नो स्थानीय सम्भाव्यता अनुसार विकास गर्नुपर्ने बताउँदै भक्तपुरले पर्यटन उद्योगको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले नयाँ पुस्तालाई स्थानीय मौलिकतासम्बन्धी शिक्षित पार्न स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको बताउनुभयो । भक्तपुर नगरपालिकाले शिशु स्याहारदेखि कलेज तहसम्म शिक्षा न्यून शुल्कमा प्रदान गरिरहेको जानकारी गराउँदै घर घरमा नर्सिङ सेवा प्रदान गरिरहेको र ख्वप अस्पताल निर्माणको क्रममा रहेको जानकारी गराउनुभयो ।

भेटमा प्रमुखहरूबीच घर नक्सा पास, सरसफाइ, विकास निर्माण, ऐन कानुन निर्माण, कार्यविधिलगायतका विविध विषयमा अनुभव आदानप्रदान भएको थियो भने फलेबास नपाका प्रमुख शर्माले फलेबास नपाका विशेषताबारे जानकारी गराउनुभएको थियो । उक्त भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.