पेरिस कम्युन – कामदार जनताको स्वर्ग
सुजान माक ,
यो वर्ष विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको २०० औं जन्म दिवस संसारभरिका कामदार जनताले निक्कै उत्साहका साथ मनाइरहेका छन् । विभिन्न सभा, समारोह, गोष्ठी आदि कार्यक्रमहरूको आयोजना गरी माक्र्सले गरिब जनताको निम्ति गर्नुभएको योगदानको स्मरण गर्दैछन् । मार्क्स जन्मनुभएको दुई शताब्दीपछि पनि माक्र्सवादको सिद्धान्त र माक्र्सका रचनाहरूबारे विश्वका कुना–कुनामा चर्चा परिचर्चा भइरहेका छन् । पुँजीवादको उत्थान, विकास र पटनको सिद्धान्तका रचयिता माक्र्सका दर्जनौं पुस्तकहरूले आजको २१ औं शताब्दीका कामदार जनताको संघर्षहरूको मार्गनिर्देशन गर्दैछन् । युवाहरूको मनमा माक्र्सको सिद्धान्त लिएर शोसक पुँजीवादी व्यवस्थाविरुद्ध बलियो मुठ्ठी कस्दैछन् ।
अहिले विश्व पुँजीवाद झन्–झन् गहिरो संकटमा फस्दैछ । पुँजीवाद आफ्नो अन्तिम सास बडो गाह्रोसँग फेर्दैछ । युद्ध, अमानवीय नाकाबन्दी, व्यापार युद्ध आदि हतियार प्रयोग गर्दै साम्राज्यवादी देशहरू समाजवादविरुद्ध आफ्ना अन्तिम प्रहार गर्दैछन् । साम्राज्यवादी देश संरा अमेरिका आफ्नै कारण एक्लिंदैछ । बहुसंख्यक अमेरिकी नागरिक आफ्नै देशमा असुरक्षित महसुस गर्दैछन् । सरकारप्रति विश्वास गर्दैनन् । आफ्नो भविष्य सम्झी निराश छन् ।
आज सर्वहारा वर्ग संसारकै पहिलो शक्तिको रूपमा विकसित हुँदैछ । पुँजीवादी देशहरूले २००–३०० वर्षमा गरेका उपलब्धिहरू समाजवादी देशहरूले २०–३० वर्षमा विकास गर्न सफल भएका छन् । समाजवादी देश चीन आज संसारको पहिलो अर्थतन्त्र बन्ने दिशामा छ । करिब आधा शताब्दी लामो अमानवीय नाकाबन्दी सहेका उत्तर कोरिया, क्युवाजस्ता समाजवादी देशहरूले स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार विकासमा गरेका उपलब्धी संसारकै निम्ति उदाहरण बनेका छन् । हाल ल्याटिन अमेरिका, अफ्रिका र एसिया महादेशमा समाजवादी आन्दोलन अगाडि बढिरहेको छ । संसारका करोडौं समाजवादका सिपाहीहरू साम्यवाद स्थापनाको महान् यात्रामा अगाडी बढिरहेका छन् ।
संसारका मजदुरहरूको साझा गन्तव्य साम्यवादसम्म पुग्ने यो यात्राको बाटो संधै यति चौडा थिएन । इतिहासका साना–ठूला आन्दोलन क्रान्तिको अनुभव र लाखौ क्रान्तिनायकहरूको बलिदान र समाजवादका सिपाहीहरूको योगदानले त्यो गोरेटो आज फराकिलो राजमार्ग बनेको छ । इतिहासको यस्तै एउटा महत्वपूर्ण घटना हो — पेरिस कम्युन । सर्वहाराको पहिलो राज्य । कामदार जनताको स्वर्ग । समाजवादी व्यवस्था स्थापना र क्रान्तिकारी परिवर्तनका अग्रदुत ।
१८ मार्चको दिन “कम्युन जिन्दावाद ¤” को गगनभेदी नारासहित पेरिस बिउँझ्यो । केन्द्रीय समितिले १८ मार्चको आफ्नो घोषणापत्रमा बुर्जुवा वर्गको मस्तिक खल्बल्याउने गरी भनेको थियो “सरकारी सत्ता कब्जा गरेर आफै आफ्नो भाग्य विधाता बन्नु आफ्नो कर्तव्य तथा अधिकार हो भन्ने कुरा उनीहरूले बुझिसकेका छन् ।” २६ मार्चको दिन पेरिस कम्युनको चुनाव भयो र २८ मार्चको दिन यसको घोषणा भयो । मानव जातिको इतिहासमै पहिलो सर्वहारा सत्ताको स्थापना भयो ।
पेरिस कम्युनमात्र ७२ दिन टिक्न सफल भयो । तर यस दौरान उसले समाजवादी राज्यको एउटा अनुपम नमुना प्रस्तुत गर्यो । कसरी शोषण, उत्पीडन, भेदभाव असमानताबाट मुक्त समाज व्यवस्था स्थापना गर्नु कोरा कल्पना होइन भन्ने प्रमाण बन्यो—पेरिस कम्युन । कम्युनले प्रतिनिधिसभाका सदस्यहरू र मन्त्रीहरू साथै कर्मचारीहरूको तलब पनि साधारण ज्यामीको सरह गरिदियो । शिक्षण संस्थाहरूलाई चर्चबाट अलग गरिदियो । चर्चलाई राज्यबाट अलग गरिदियो । चर्च र मठहरू जनताको सभाभवन बनाइदियो । जनतामा निःशुल्क र अनिवार्य शिक्षा लागू ग¥यो । युगौंदेखिको धार्मिक शोषणको सिक्रीलाई चुँडाइदियो । बद्नाम आफ्ना पुराना पुलिस र सेनालाई भड्ड गरिदियो । नगरपालिका र अड्डा–अदालतका सबै काम कम्युनले आफ्नो हात मालियो । पेरिसबाट भागेका मालिकहरूको कारखाना मजदुरहरूलाई नै जिम्मा दिइयो । कारखाना मालिकले मजदुरहरूलाई सजाय गर्न नपाउने आदेश दियो । कामदार जनताले ठूलो उत्साहपूर्वक कम्युनलाई सहयोग समर्थन गर्न लागे । कम्युनमा विदेशी मजदुर पनि निर्वाचित हुनसक्ने ऐन बनायो । विदेशी क्रान्तिकारीहरूलाई महान उद्देश्यको निम्ति मुख्य–मुख्य पदमा बसेर सेवा गर्ने मौका दियो । कम्युनको झण्डामा लेखियो– “कम्यूनको झण्डा संसारको प्रजातन्त्रको प्रतिक हो ।” एंगेल्स भन्नुहुन्छ, “सर्वहारा अधिनायकवाद कस्तो हुन्छ, थाहा पाउन चाहनुहुन्छ ? पेरिस कम्युनतिर हेर्नुहोस् – यही हो सर्वहारा अधिनायकवाद ।”
पेरिस कम्यूनमा त्यसबेला माक्र्सवादीहरू अल्पमतमा थिए । मजदुर वर्गको एक सिंगो राजनैतिक पार्टी थिएन । नेतृत्वसंग क्रान्तिकारी सिद्धान्त थिएन । नेतृत्ववाट एक पछि अर्को गम्भीर राजनैतिक एवं रणनीतिक भूलहरू भए । दैलोमा उभिएको शत्रुविरुद्ध समयमै कठोर कदम चालिएन । शत्रुलाई शक्ति सञ्चय गर्ने र आक्रमणको लागि तयारी गर्ने समय र मौका उपलब्ध भयो । प्रत्याक्रमण भयो । कम्युनार्डहरू अन्तिम गोली बाँकी भएसम्म बहादुरीका साथ लड्दै गए । २८ मई १८७१ को दिन पेरिस कम्यूनको अन्तिम मोर्चा पनि हार्यो ।
कम्युनको अस्तित्वको लागि अन्तिम दिनहरूमा जब भेर्सोई सेनासँग रक्तपातमय युद्ध चल्दै थियो, माक्र्सले अन्तर्राष्ट्रियको महापरिषद्को आह्वानको रूपमा “फ्रान्समा गृहयुुद्ध” लेख्नुभयो । धेरै वर्षपछि एंगेल्सले सम्झना गर्नुभएको छ, “२८ मेको दिन संख्यात्मक रूपमा आफू भन्दा धेरै ठूलो शत्रु सेनासंगको संघर्षमा बेलभिल पाखोमा कम्युनका अन्तिम योद्धाहरूको मृत्यु भयो र दुई दिनपछि नै, ३० मेको दिन माक्र्सले महापरिषद्लाई त्यो कृति पढेर सुनाउनुभयो, जसमा पेरिस कम्युनको ऐतिहासिक महत्व संक्षिप्त रूपमा र सशक्त शब्दमा व्यक्त गरिएको छ ।” लेनिन यस पुस्तकलाई पेरिसका कम्यूनका शिक्षाहरूको उत्कृष्ट सारांसका रूपमा लिनुहुन्छ ।
यस कृतिमा माक्र्सले पेरिस कम्युनको अनुभवको आधारमा अधिनायकवादसम्बन्धी शिक्षाको विकास पनि गर्नुभएको छ । कम्युनको अनुभवहरूको निचोड निकाल्दै माक्र्स र एंगेल्सले लेख्नुभयो – “बनीबनाउ राज्ययन्त्रमाथि कब्जा गरी मजदुर वर्गले आफ्नो उद्देश्यहरू पूरा गर्न सक्दैन । उनीहरूले पुरानो राज्ययन्त्र ध्वस्त गरेर आफ्नो नयाँ ढाँचा बनाउनुपर्छ ।”
पेरिस कम्युनको अस्थायी हारले पनि विश्व सर्वहारा आन्दोलनमा अमूल्य पाठहरू सिकायो । लेनिनले भन्नुभएको छ – “पेरिसमा पड्केका प्रत्येक गोलाहरूले गहिरो निद्रामा परेका युरोपेलीहरूलाई ब्युँझाएको छ ।” लेनिन थप्नुहुन्छ, “पुरानो राज्ययन्त्र ध्वस्त गर्ने बाटोमा पेरिस कम्युनले पहिलो ऐतिहासिक कदम चाल्यो … र सोभियत सरकारले दोस्रो ।”
मजदुर वर्गको रगतले लेखिएको पेरिस कम्युनको अमर कथालाई माक्र्सले आफ्नो पुस्तक “फ्रान्समा गृहयुद्ध”मा लिपिबद्ध गर्नुभयो । पेरिसमा घटेका क्रान्तिकारी घटनाहरूको गम्भीर अध्ययन तथा बृहत तथ्य सामाग्रीको आधारमा माक्र्सले यस पुस्तकको रचना गर्नुभएको हो । आगामी दिनमा पनि विश्व सर्वहारा क्रान्तिको नयाँ चक्रमा, नयाँ मजदुर क्रान्तिको बाटोमा पेरिस कम्युनको मसालले उज्यालो फैलाइ राख्न माक्र्सको यस कृतिको महत्वपूर्ण योगदान रहनेछ ।