Explore news and happenings at Bhaktapur

कला संस्कृतिको भौतिकवादी ब्याख्या हुनुपर्ने-सांसद प्रेम सुवाल

स्थानीय पर्यटक पथप्रदर्शकहरूको दसैं तथा तिहारको शुभकामना आदान प्रदान

0

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका सचिव तथा माननीय सांसद प्रेम सुवालले कला संस्कृति, परम्परा, रितिरिवाज र चाडपर्वको भौतिकवादी विश्लेषण गर्नुपर्ने बताउनु भयो । उहाँले  उक्त विचार भक्तपुर पर्यटन विकास समितिको आयोजनामा विजया दशमीको शुभकामना आदान प्रदान र स्थानीय पथ प्रदर्शक भेला कार्यक्रममा बताउनु भएको हो ।

उहाँले  कार्यक्रममा बोल्नुहुंदै अदृश्य शक्तिलाई विश्वास गर्न नहुने भन्नुहुंदै भौतिकवादी दृष्टिकोण र ब्याख्या विश्लेषणको संस्कार बसाली स्थानीय पथ प्रदर्शकहरुले प्रचलित विभिन्न लोककथा र लोक प्रचलनहरु बारे पर्यटकहरुलाई बुझाउनु पर्नेमा जोड दिनुभयो । भारतका शासकहरुले नियोजित रुपमा रामायण मार्ग र बौद्ध मार्गको प्रचार प्रसार गरी नेपालमा आफ्नो विस्तारवादी नीति थोपर्न खोजेको बताउनु हुँदै स्थानीय पथ प्रदर्शकहरु यसप्रति सचेत हुनुपर्ने बताउनु भयो । उहाँले  सिंगापुर भ्रमणको क्रममा स्थानीय सिंगापुरियन गाईडले बुद्ध भारतमा जन्मिएको भन्दै स्थानीय गाईड बुक देखाएको स्मरण गर्दै यस्तो गलत प्रचार प्रसारको संशोधनको लागि नेपाल सरकारलाई पटक पटक अनुरोध गर्दा पनि हालसम्म पनि संशोधन नभएकोमा सरकारप्रति रोष व्यक्त गर्नुभयो । उहाँले  शान्तिको कामनाले मात्र देशमा शान्ति नआउने र यसको लागि राजनैतिक व्यवस्था र नेतृत्वको दृढ ईच्छाशक्ति र इमान्दार प्रयासको  आवश्यकता हुन्छ भन्नुभयो । उहाँले  नेपाल र इथोपियामा एकै वर्ष प्रजातन्त्रको पुर्नबहाली भएको तर इथोपियाले शिक्षामा जोड दिंदै तीस वर्ष भित्र धेरै प्रगति गरिसकेको र नेपालमा राजनैतिक नेतृत्व इमान्दार नभएको र राजनीतिक प्रणाली व्यवस्थित नभएकोले नेपाल अहिलेको अत्यन्त दयनीय अवस्थामा पुगेको हो भन्नुभयो । उहाँले  हाल नेपालको सरकार तस्कर, अपराधी र गुन्डाहरुको संरक्षकको रुपमा रहेकोले दिनानुदिन तस्करी, हत्या, बलात्कार बढिरहेको छ भन्नुभयो । स्थानीय पथ प्रदर्शकहरुले व्यक्तिगत सरसफाई, सामान्य ज्ञान, नियमित अध्ययन र अनुभवबाट आफुलाई परिस्कृत गर्दै राष्ट्रिय गाईडहरुकै सरहमा आफ्नो क्षमता बृद्धी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने क्रममा केही अप्ठेरो हुन सक्ने भएकोले आफुलाई योग्य बनाउन निरन्तर अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले  नगर र नगरवासीको हितको लागि नगरपालिकाले विभिन्न सीपमूलक तालिमहरु प्रदान गर्दै आएको बताउनु हुंदै भविष्यमा पनि आवश्यकता अनुसारको तालिमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले  स्थानीय पथ प्रदर्शकहरुलाई अध्ययन र अनुसन्धानमा जोड दिन प्रेरित गर्दै प्रगतिको मुख्य साधक आन्तरिक ईच्छाशक्ति नै भएको र बाह्य शक्ति सहयोगी मात्र हुने बताउनु भयो । उहाँले  सन् २०१८ सर्वहारा वर्गका महान गुरु कार्लमाक्र्सको दुई सतबार्षिक भएको स्मरण गर्दै  माक्र्सवादी  साहित्यको अध्ययन गरी चाडपर्वलाई सृजनात्मक कार्यमा लगाउनु पर्नेमा जोड दिनुभयो ।

स्थानीय पथ प्रदर्शकहरुले आफ्नो कार्य दक्षतापूर्वक सम्पन्न गर्न राष्ट्रिय र अन्र्तराष्ट्रिय राजनीति, इतिहास, संस्कृति, साहित्य, कलालगायतका विभिन्न क्षेत्रहरुको अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो । देशको सबै क्षेत्रहरु राजनैतिक व्यवस्थाद्धारा निर्देशित हुने भएकोले वर्गीय भावनाको विकास गरी कामदार वर्गको हितमा लाग्नुपर्नेमा जोड दिनभयो । गाईडहरुले आफूलाई विभिन्न शक्तिहरुले गलत काममा प्रयोग गर्न सक्ने प्रति सचेत भई क्षमता, योग्यता र दक्षता बृद्धि गर्न जोड दिनुभयो ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा, भ.न.पा वातावरण तथा पर्यटन समितिका सदस्यहरु सुनिता अवाल र सरिना देउला, पर्यटन अधिकृत गौतम प्रसाद लासिवा, भक्तपुर पर्यटन विकास समितिका महासचिव दीपेश राज शर्मा तथा स्थानीय पथ प्रदर्शकहरु रिता सुवाल र विशाल सुवालले पनि बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.