Explore news and happenings at Bhaktapur

धिमे बाजा प्रतियोगिताको सिंहावलोकन कार्यक्रम सम्पन्न

भक्तपुर, २०७६ फागुन ७ गते, बुधबार .

0

भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७६ माघ २५ र २६ गते सम्पन्न जिल्लास्तरीय धिमेबाजा प्रतियोगिताको सिंहावलोकन भनपा प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भनपाको सभाकक्षमा बुधबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले धिमेबाजा प्रतियोगिता गर्नुको मुख्य उद्देश्य भक्तपुर नगरलाई साँस्कृतिक केन्द्र बनाउनु रहेको बताउनुहुँदै नगरको पुरानो पहिचान र संस्कृति बचाउनका लागि यस्ता किसिमको प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
लोप हुन लागेको साँस्कृतिक सम्पदालाई जीवन्तता दिन युवा पुस्तालाई पुरानो सीप हस्तान्तरण र पुस्तान्तरण गर्न आवश्यक भएको उल्लेख गर्नुहुँदै उहाँले धिमेबाजा प्रतियोगितामा जनसहभागिता उत्साहजनक हुनुनै सफलता भएको औंल्याउनुभयो ।
प्रमुख प्रजापतिले मूल्यांकन टोलीमा रही सहयोग गर्नुहुने निर्णायक मण्डल, संयोजक समिति, कर्मचारीहरु तथा जनसमुदायलाई आभार प्रकट गर्नुभयो ।

वडा नं. ९ को वडाध्यक्ष रविन्द्र ज्याख्वले नेमकिपाको स्थानीय निर्वाचन २०७४ मा प्रस्तुत घोषणापत्र अनुसार हरेक वर्ष साँस्कृतिक प्रतियोगिता आयोजना गर्दै आएको बताउनुहुँदै नगरको नाचगान, बाजागाजा रात्रीकालीन समयमा प्रस्तुत गर्ने वातावरण तयार गर्न नगरपालिका लागिपरेको बताउनुभयो ।

सिंहावलोकन कार्यक्रममा मूल्यांकनकर्ता र संयोजन समितिका सदस्यहरुले आ–आफ्नो राय सुझाव प्रस्तुत गर्नुहुँदै ७७ वटा टोलीले भाग लिनु उदाहरणीय कार्य भएको उल्लेख गर्नुहुँदै आगामी दिनमा यस्ता कार्यक्रम गर्दा सूचना प्रवाह र प्रचार प्रसारलाई व्यापक बनाउनुपर्ने र कार्यक्रमलाई आर्काइभ गरी दस्तावेजको रुपमा राख्नुपर्ने विचार राख्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.