Explore news and happenings at Bhaktapur

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा राष्ट्रिय कला संग्रहालय पुनःनिर्माणबारे छलफल

काठमाडौं । मिति २०७६ फागुन ७ गते, बुधबार

0

राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा ‘भक्तपुर नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक महत्वका सम्पदाहरूको भूकम्पपछिको पुनःनिर्माण’ सम्बन्धी छलफल भयो ।

बैठकले भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालय रहेको सिंहध्वाका दरबार निर्माण गर्ने सम्बन्धमा पुरातत्व विभागका महानिर्देशक र संस्कृति मन्त्रालयले छिटै नै निष्कर्ष निकाल्नुपर्ने, भूकम्पपछिको पुनःनिर्माण गर्न सम्बन्धित निकायबाट काठ उपलब्ध गराउनुपर्नेमा, रु. १० करोडसम्म सम्पदा पुनःनिर्माणको लागि उपभोक्ता समितिमार्फत गर्न स्वीकृति दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने निर्णय ग¥यो ।

बैठकमा राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका संयोजक रामनारायण बिडारीले २०७६ माघ ९ गते सरकारी आश्वासन अध्ययन उपसमितिको टोलीले २०७२ सालको भूकम्पपश्चातको पुनःनिर्माणको अवस्था र प्रगतिको स्थलगत निरीक्षण गरी त्यहाँ अवस्थित सम्पदाहरूको जानकारी लिएको बताउनुभयो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको मुख्य कार्य प्रत्यायोजित व्यवस्थापनसम्बन्धी काम, राष्ट्रिय महत्वको विषय दस्ताबेजीकरण र सरकारी आश्वासन कार्यान्वयन भए÷नभएको अनुगमन, राय–सुझाव संकलन र निरीक्षण गर्ने रहेको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकाको पुरानो वस्तीका सम्पदा र निजी घर पुनःनिर्माण चुनौतीपूर्ण भएको औंल्याउनुहुँदै भक्तपुरले पुरातात्विक एवम् सांस्कृतिक महत्वका सम्पदाहरू पुनःनिर्माण उपभोक्ता समितिमार्फत उल्लेखनीय ढंगले कार्य अगाडि बढाइरहेको बताउनुभयो ।

पुरातात्विक सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धारमा काठ खरिद प्रक्रिया निकै झन्झटिलो रहेको गुनासोप्रति ध्यानाकर्षण गराउनुहुँदै सांसद बिडारीले भक्तपुरको राष्ट्रिय कला संग्रहालय पुनःनिर्माणको कार्यलाई यथासक्य चाँडो पुनःनिर्माण गराउन समिति क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा आमन्त्रित भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय कला संग्रहालय मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न भक्तपुर नपा, पुरातत्व विभाग र संस्कृति मन्त्रालयको संयुक्त बैठकले मल्लकालीन शैलीमा बनाउने निर्णय गरिसकेको जानकारी गराउनुहुँदै भक्तपुर नगरपालिकाले सम्पदा पुनःनिर्माण कार्य पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरणसँग नजिक बसेर सहकार्य गरी काम अगाडि बढाइरहेको बताउनुभयो ।

सम्पदा पुनःनिर्माणको निम्ति आवश्यक काठहरू सहज रुपमा उपलब्ध गराउन सम्बन्धित निकायमा निर्देशन दिनुपर्ने माग गर्नुहुँदै प्रमुख प्रजापतिले भूकम्प पीडितलाई दिइँदै आएको अनुदान रकम र समयसीमा बढाउनुपर्ने जोड दिनुभयो ।
नगर प्रमुख प्रजापतिले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका संयोजक रामनारायण बिडारीलाई सम्बन्धित निकायमा आवश्यक निर्देशन दिन निर्देशन माग पत्र हस्तान्तरण गर्नुभयो ।

निर्देशन पत्रको प्रतिलिपिः–

सरोकारवाला निकायहरुका प्रमुखहरुलाई आमन्त्रित गरिएको उक्त बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले काठमाडौं उपत्यकाभित्र अवस्थित ५३८ सम्पदा मध्ये १७२ वटा निर्माण सम्पन्न भइसकेको बताउनुभयो । नेपाल सरकारले ठूल्ठूला सम्पदा पुनःनिर्माणलाई प्राथमिकता दिएर कार्य अगाडि बढाइरहेको र सम्पदा पुनःनिर्माण रकम व्यवस्थापनमा केही प्राविधिक समस्या रहेको औंल्याउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले प्राधिकरणले राष्ट्रिय कला संग्रहालय पुनःनिर्माण कार्यलाई छिटै अगाडि बढाउनुपर्ने बताउनुहुँदै नगरपालिकाको सिफारिसमा उपभोक्ता समितिमार्फत १० करोडसम्म पुनःनिर्माण कार्य गर्न सकिने प्रावधानलाई प्राधिकरणले अगाडि सार्ने प्रक्रियामा रहेको अवगत गराउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भक्तपुरको राष्ट्रिय कला संग्रहालयको पुनःनिर्माण कार्य अगाडि बढ्नेबारे युनेस्कोमा पत्राचार गरेको जानकारी दिनुहुँदै त्यहाँको जवाफ पश्चात कार्य अगाडि बढाइने बताउनुहुँदै युनेस्कोले विश्वसम्पदामा सूचीकृत सम्पदाहरू खतराको सूचीमा राख्न सक्नेतर्फ सजग गराउनुभयो ।

बैठकमा नेपाल वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले भूकम्प पीडितलाई आवश्यक काठ उपलब्ध गराउन नेपाल सरकारले निर्देशिका नै तयार गरी काठ उपलब्ध गराइरहेको बताउनुहुँदै पुरातात्विक सम्पदा पुनःनिर्माण गर्न निगमले विशेष साइजको काठ उपलब्ध गराउँदै आएको छ भन्नुभयो ।

बैठकमा राष्ट्रिय सभा सदस्यहरू राधेश्याम अधिकारी, बलराम बास्कोटालगायतले भक्तपुर दरवार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालय पुनः निर्माण मल्लकालीन शैलीमा हुनुपर्ने र सम्पदा पुनःनिर्माणको लागि सहज रुपमा काठ उपलब्ध गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

यसअघि २०७६ साल माघ ९ गते समितिका पदाधिकारीहरुले भक्तपुरको सम्पदा पुनःनिर्माणबारे निरीक्षण गर्नुहु“दा नगर प्रमुख प्रजापतिले नगरपालिकामा आइपरेका विभिन्न समस्याहरुबारे समितिका सभापतिलाई लिखित ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.