Explore news and happenings at Bhaktapur

रोम्बस स्कूलको छैटौं वार्षिकोत्सव सम्पन्न

२०७६ फागुन ७ गते बुधबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रोम्बस स्कूलको छैटौं वार्षिकोत्सव, अभिभावक दिवस, साँस्कृतिक कार्यक्रम एवम् सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको उद्‍घाटन बुधबार पानसमा दिप प्रज्ज्वलन गरी गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले विद्यार्थीहरुलाई सभ्य, सुसंस्कृत र असल नागरिक बन्न अभिप्रेरिता गर्नुहुँदै व्यक्ति समृद्धि बन्ने होइन देशलाई समृद्धितर्फ दोर्‍याउनुपर्छ भन्नुभयो ।

शिक्षाले व्यक्ति, समाज र देशलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको र उच्च शिक्षामा गरिब जनताको पहुँच नभएको बताउनुहुँदै शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न भनपाले सस्तोमा गुणस्तरीय शिक्षा दिने कलेजहरु सञ्चालन गरी भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउन लागिरहेको बताउनुभयो ।

भक्तपुर नपाले निरन्तर रुपमा विभिन्न भाषाको कक्षा सञ्चालन गरी एक व्यक्तिलाई कम्तीमा चारवटा भाषाको ज्ञाताको बनाउने उद्देश्य लिएको बताउनुहुँदै असल संस्कार पाएका व्यक्तिले आफूभन्दा ठूला–सानासँग मितव्ययी व्यवहार गर्ने उहाँले बताउनुभयो ।

प्रमुख प्रजापतिले नयाँ पुस्तालाई बाजाको सीप सिकाउन र पुस्तान्तरण गर्नका लागि नगरपालिकाले हरेक वर्ष बाजा प्रतियोगिता गर्दै आएकोमा यस वर्ष धिमेबाजा प्रतियोगिता सम्पन्न गरेको बताउनुभयो ।

कार्यक्रममा स्कूलका प्रिन्सिपल राजेन्द्र कोजूले रोम्बस स्कूल चरित्रवान, नैतिकवान र विद्यार्थी उत्पादन गर्ने अभियानमा रहेको बताउनुहुँदै विद्यालयले पठनपाठनका अतिरिक्त खेलकुद र साहित्यलाई विशेष जोड दिंदै आएको बताउनुभयो ।

ईसिडी विशेषज्ञ सानु अमात्यले स्कूलको गतिविधि बालमैत्री भएको बताउनुहुँदै २१ औं शताब्दीमा विद्यार्थीहरुलाई युग सुहाउँदो शिक्षा दिन विद्यालय अग्रसर हुनुपर्ने र वालवालिकाको शारीरिक र मानसिक विकास सँगै असल संस्कार दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले वागीश्वरी माविका पूर्व प्र.अ. मोहनप्रसाद प्रजापति, बासु माविका पूर्व प्र.अ. बालमुकुन्द बासुकला र जोरपाटी मा.वि.का पूर्व प्र.अ. शेरबहादुर ङाखुसीलाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान, रोम्बस शुभश्री पदक र वर्ष अभिभावक वितरण तथा रोम्बस स्मारिका विमोचन गर्नुभयो ।

कार्यक्रममा शिक्षिका पुनम रानामगर, विद्यार्थीहरु सृष्टि माखास्या लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.