Explore news and happenings at Bhaktapur

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आजबाट सुरू

भक्तपुर । मिति २०७६ फागुन ८ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा २०७६ फागुन ८—१२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आजबाट सुरु भयो । भक्तपुरको सहिदस्मृति खेलमैदानमा भएको खेलकुद प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रमुख अतिथि बिजुक्छेँले ५ दिने अन्तरनगर खेलकुद प्रतियोगिता पूर्ण सफलताको कामना गर्नुहुँदै खेलाडीहरू देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति सधैं तयार रहनुपर्ने बताउनुभयो ।

उहाँले साम्राज्यवादी देशहरूले कमजोर देशमा हमला गर्ने हुँदा आर्थिक रुपले पिछडिएका गरिब देशहरुले साम्राज्यवादीहरूविरुद्ध संघर्ष गर्न सधैं तयारी अवस्था बस्नुपर्ने र देशघाती सन्धीविरुद्ध सरकारको विरोध गर्न पनि अग्रसर हुनुपर्ने बताउनुभयो ।

अमेरिकी एमसीसी सम्झौतामा नेपाल फस्नु देशको लागि खतरा भएको औंल्याउनुहुँदै अध्यक्ष बिजुक्छेँले सरकारको अकर्मन्यताले देशलाई ठूलो हानी पुग्नेतर्फ नेपाली जनता सजग बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले २०४६ सालको जनआन्दोलनमा प्रजातन्त्र पुनःस्थापनाको लागि ज्यानको आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै भक्तपुर नपाले सहिद दिवसको अवसर पारी प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो ।

सहिदहरूप्रति उच्च सम्मान व्यक्त गर्दै भक्तपुर नपाले खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको चर्चा गर्नुहुँदै उहाँले अन्तर नगर खेलकुद प्रतियोगिता राष्ट्रिय खेलाडी छनौटको लागि राम्रो अवसर हुनसक्ने बताउनुभयो ।

पूर्वाधारको कमीले नेपालका खेलाडीहरूको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी प्रस्तुती गर्न सक्षम भइनसकेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले खेलाडीहरूको सल्लाह र सुझावअनुरुप खेलकुदको पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो ।

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले २०४६ सालको ऐतिहासिक जनआन्दोलन र त्यसका उपलब्धीबारे नयाँ पुस्तालाई अवगत गराउनुपर्ने आवश्यकता औंल्यानुहुँदै भक्तपुर नपाको आयोजनामा भएको खेलकुद प्रतियोगिता सहिदहरूको योगदान र बलिदानको सम्मानमा आयोजना भएको हो भन्नुभयो ।

प्रजातन्त्र पुनःस्थापना भएको ३० वर्ष बितिसक्दा पनि नेपाली जनताले प्रजातन्त्रको अनुभूति गर्न नसकेको बताउनुहुँदै सांसद गोसाइँले शासक वर्ग सहिदको सपना पूरा गर्नेभन्दा व्यक्तिगत स्वार्थपूर्तिमा लिप्त रहेको बताउनुभयो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अन्तर नगर प्रतियोगिताले अन्तर नगर समन्वय, सहजीकरण र प्रतिस्पर्धात्मक भावनाको विकास सँगसँगै खेलाडीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भनपा वडा नं. ९ का वडाअध्यक्ष श्री रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याल, सैनिक आवासीय महाविद्यालय, भक्तपुरका प्र.से अनुप शाह, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानलगायतको अतिथिहरूको उपस्थिति रह्यो ।

प्रतियोगिताको समुद्घाटनको लागि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट ¥यालीसहित नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुर नपाका जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, कर्मचारी, स्वयंसेवकहरू तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा खेलाडीहरूको तर्फबाट ओलम्पियन कान्छीमैयाँ कोजु र निर्णायकहरूको तर्फबाट आशाराम गोठेले खेलकुद प्रतियोगिता अनुशासित ढंगले सम्पन्न गर्न सपथ ग्रहण लिनुभयो ।

अन्तरनगर एथ्लेटिक्स प्रतियोगितामा घोराही उपमहानगरपालिका– दाङ, ललितपुर महानगरपालिका– ललितपुर, चाँगुनारायण नगरपालिका– भक्तपुर, रामेछाप नगरपालिका– रामेछाप, किर्तिपुर नगरपालिका–किर्तिपुर, शंखरापुर नगरपालिका– काठमाडौं, मनोहरा कागेश्वरी नगरपालिका–काठमाडौं, मध्यपुर थिमी नगरपालिका– भक्तपुर, चौडण्डीगढी नगरपालिका–उदयपुर, टोखा नगरपालिका–काठमाडौं, भक्तपुर नगरपालिका, साँगाचोक चौतारा गढी नगरपालिका– सिन्धुपाल्चोक, मन्थली नगरपालिका– रामेछाप, भरतपुर महानगरपालिका–चितवन, रत्ननगर नगरपालिका– चितवन, विदुर नगरपालिका–नुवाकोट गरी १६ वटा नगरपालिकाको सहभागिता रहेको छ ।

प्रतियोगितामा फिल्ड इभेन्ट्स अन्तर्गत सटपुट, लङ जम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइ जम्प, ट्रिपल जम्प र ट्रयाक इभेन्ट्सअन्तर्गत १०० मिटर, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, १०००० मि, ४२.१९५ कि.मी (म्याराथुन), २१.०९ कि.मी (हाफ म्याराथुन), ४ह१०० मि. रिले, ४ह२०० मि. सहितका खेलहरू समावेश छन् ।

फिल्ड इभेन्ट्समा प्रथम हुनेलाई ५,०००, द्वितीयलाई ३,००० र तृतीयलाई २,०००, ट्रयाकतर्फ प्रथम हुनेलाई ५,०००, द्वितीयलाई ३,०००।– र तृतीयलाई २,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
म्याराथुनमा प्रथम हुनेलाई ३०,०००।–, द्वितीयलाई २०,०००, तृतीयलाई १०,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।

हाफ म्याराथुनमा प्रथम हुनेलाई ३०,०००।–, द्वितीयलाई २०,०००, तृतीयलाई १०,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा सञ्चालन हुँदैछ ।
आज सम्पन्न अन्तरनगर एथ्लेटिक्सअन्तर्गत २०० मि. महिलातर्फ स्वागता खाइजु–भक्तपुर नपा प्रथम, प्रकृति सुवाल– भक्तपुर नपा द्वितीय र रबिता दुलाल – ललितपुर महानगरपालिकाले तृतीय स्थान हासिल गरेको थियो ।

२०० मि. पुरुषतर्फ सुजन थारु भक्तपुर नपा प्रथम, बिरेन्द्र चौधरी भरतपुर महानगरपालिका द्वितीय, मोहन सुवाल– भक्तपुर नपा तृतीय हुन सफल भए भने १५०० मि. महिलातर्फ काजल बिष्ट– ललितपुर महानपा प्रथम, रोस्ताना सितिखु– भक्तपुर नपा द्वितिय र निशा बुलु– भक्तपुर नपाले तृतीय स्थान हासिल गरेको थियो । त्यसैगरी १५०० मि. पुरुषतर्फ इश्वर बस्नेत– भक्तपुर नपा प्रथम, उज्ज्वल श्रेष्ठ– साँगाचोक चौतारागढी नपा द्वितीय र विश्वराम कुँवर – भक्तपुर नपा तृतीय हुन सफल भए ।

सहिद स्मृति खेलमैदानमा सम्पन्न सट पुट खेलमा भरतपुर महानगरपालिकाका बिरेन्द्र चौधरी प्रथम, मन्थली नगरपालिकाका रामकुमार श्रेष्ठ द्वितीय, भक्तपुर नपाका लोकेन्द्र बिष्ट तृतीय हुन सफल भए भने महिला सटपुटतर्फ मन्थली नपाका पुजा तामाङ प्रथम, मन्थली नपाका अनिता कार्की द्वितीय र भक्तपुर नपाका ऊर्जा मधिकर्मीले तृतीय स्थान हासिल गरेको थियो ।

Leave A Reply

Your email address will not be published.