Explore news and happenings at Bhaktapur

विद्यार्थीहरूले अध्ययनको अतिरिक्त अनुसन्धानमा पनि ध्यान दिनुपर्ने – सुनिल प्रजापति

भक्तपुर, २४ माघ ।

0

ख्वप माविको २० औँ, ख्वप कलेजको १८ औँ र शारदा क्याम्पसको २९ औँ वार्षिक उत्सव कार्यक्रम तथा वार्षिक उत्सवको अवसरमा भएको शैक्षिक प्रदर्शनीको समापन कार्यक्रम नगर प्रमुख एवम् कलेज÷विद्यालय सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले शैक्षिक प्रदर्शनी सफल पार्न सहयोग गर्ने सम्पूर्ण शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूमा विद्यालय÷कलेज सञ्चालक समिति र भनपाको तर्फबाट धन्यवाद व्यक्त गर्दै चैत ४ गतेदेखि ८ गतेसम्म हुने भक्तपुर महोत्सवको अवसरमा हुने शैक्षिक प्रदर्शनीमा पनि सहभागिता जनाउन अनुरोध गर्नुभयो ।

“वार्षिक उत्सव कार्यक्रममा प्रस्तुत हुने सबै कार्यक्रमहरूको सङ्ग्रह गरी अभिलेख राख्नु आवश्यक छ । हामीले हाम्रो संस्कृति र पहिचानलाई जोगाउनुपर्छ, विदेशी संस्कृतिलाई बढावा दिने काम हामीबाट हुनुहुँदैन ।” उहाँले भन्नुभयो ।

विद्यार्थीहरूले अध्ययनको अतिरिक्त अनुसन्धानमा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले विद्यार्थीहरूको अनुसन्धानको लागि भनपाद्वारा सञ्चालित विद्यालय÷कलेज र नगरपालिकाद्वारा सहयोग गर्ने छ भन्नुभयो ।

देशभरिका शैक्षिक संस्थानहरूमा भनपाद्वारा सञ्चालित कलेजहरू अब्बल दर्जामा रहेको प्रमाणित हुँदै आएको उल्लेख गर्दै उहाँले पूर्वाञ्चल विश्वविद्यालयबाट प्राप्त सम्बन्धन प्राप्त ११५ वटा कलेजहरूमध्ये ख्वप इन्जिनियरिङ कलेज सर्वोत्कृष्ट कलेज हुन सफल भएको जानकारी गराउनुभयो ।
“राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको विविध ज्ञान हासिल गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुन सक्ने गरी आफूलाई सक्षम राख्नु अहिलेको आवश्यकता हो”, प्रमुख प्रजापतिले भन्नुभयो ।

भक्तपुर शैक्षिक गन्तव्यको केन्द्र बन्दै गइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “भनपाले शिशु स्याहारदेखि कलेजसम्म सञ्चालन गरिरहेका छ, विश्वविद्यालय सञ्चालन गर्ने हाम्रो लक्ष्य हो । यदि सरकार सकारात्मक रह्यो भन्ने भनपाले शिशु स्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा दिनेछ । त्यो योगदान भक्तपुरको लागि मात्र नभई देशभरिको लागि हुनेछ । सस्तो र गुणस्तरीय शिक्षाको लागि भक्तपुर नगरपालिकाले योगदान गर्ने नै छ ।”

ख्वप माविका प्राचार्य प्रकाश कुमार श्रेष्ठले शैक्षिक प्रदर्शनीमा ११० भन्दा बढी विद्यालयका दसौँ हजार विद्यार्थीले शैक्षिक प्रदर्शनी अवलोकन गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले वार्षिक उत्सवको अवसरमा भएको विविध प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा कलेजका प्राचार्य रूपक जोशीले पनि बोल्नु भएको थियो भने विद्यार्थीहरूबाट सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए ।

 

Leave A Reply

Your email address will not be published.