Explore news and happenings at Bhaktapur

भनपामा स्थानीय पाठ्यक्रम सम्बन्धी कार्यशाला गोष्ठी

0

भक्तपुर ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु र सरोकारवालाहरु बीच कार्यशाला गोष्ठी सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले नेपाल भाषिक र साँस्कृतिक विविधतायुक्त मुलुक भएको बताउनुहुँदै भाषा र सँस्कृति विकास हुन लामो समय लाग्ने तर लोप हुन धेरै समय नलाग्ने बताउनु हुँदै यसको संरक्षण र सम्बद्र्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ स्थानीय पाठ्यक्रम तयार गरी लागू गरेको हो भन्नुभयो । उहाँले नगरपालिकाको स्थानीय पाठ्यक्रम सबैतिरबाट सकारात्मक टिप्पणीहरु आइरहेको बताउनु हुँदै विद्यार्थी भाइवहिनीहरुले पनि रुचि पूर्वक स्थानीय पाठ्यक्रमका विषयवस्तुहरु सिकिराखेको सूचनाहरु प्राप्त भइरहेको छ भन्नुभयो । 

उहाँले विगतमा कलेज पढ्ने विद्यार्थीहरुमा समेत स्थानीय मौलिकता सम्बन्धी सामान्य ज्ञानको कमी भएको तीतो अनुभव सुनाउनु हुँदै अबको नयाँ पुस्ताले स्थानीय पाठ्यक्रमबाट स्थानीय मौलिकता सम्बन्धी पर्याप्त ज्ञान प्राप्त गर्नेछ भन्नुभयो ।  विद्यालयका शिक्षक शिक्षिकाहरुबाट स्थानीय पाठ्यक्रम अध्ययन अध्यापन गराउन पाठ्यपुस्तकको अभाव भएको सूचना प्राप्त भैरहेको बताउनु हुँदै स्थानीय पाठ्यक्रममा समेटिएका विषयवस्तुहरुको आवश्यक सन्दर्भ सामग्री विद्यालयहरुलाई वितरण गरिएको र कतिपय तयार भइरहेको जानकारी गराउनु भयो । 

उहाँले नेपालको संविधानमा व्यवस्था भए बमोजिम भक्तपुर नगरपालिकाले नगरको शिक्षाको जिम्मेवारी वहन गरेसँगै सामुदायिक विद्यालयहरुको उचित संरक्षण र विकासको लागि स्थानीय जनप्रतिनिधिहरु समेत परिचालन गर्ने तयारी भैरहेको जानकारी गराउनुभयो । उहाँले विद्यालयहरुको आवश्यकता र औचित्यता अनुसार सहयोगको तयारी भैरहेको छ भन्नुहुँदै विद्यालयको शैक्षिक र भौतिक विकासको लागि सकृयतापूर्वक लाग्न कार्यरत शिक्षक शिक्षिकाहरुलाई नगरपालिकाबाट जानकारी गराइ रहेको बताउनुभयो । उहाँले भक्तपुरलाई शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण र पर्यटनको क्षेत्रमा उदाहरणीय रुपमा विकास गर्न आवश्यक योजनाहरु बनाई अगाडि बढिरहेको जानकारी गराउनुभयो ।

 कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुबाट स्थानीय पाठ्यक्रम रोचक र प्रभावकारी रहेको जानकारी प्राप्त भएको बताउनु हुँदै यसमा नागरिक भावना, सामाजिक जिम्मेवारी, शिष्टता, सामाजिक मूल्य मान्यता, जेष्ठ नागरिक सम्मान लगायतका विविध विषयहरु समावेश गर्नुपर्ने सुझाव प्राप्त भएको बताउनु भयो । 

भनपाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले स्थानीय पाठ्यक्रमले देशको राष्ट्रिय पाठ्यक्रमलाई मद्दत पुर्‍याउने विचार व्यक्त गर्दै यसले विद्यार्थी भाइवहिनीहरुमा स्थानीय विषयवस्तुप्रति रचनात्मक र सिर्जनात्मक हुने गुण विकास हुने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा स्थानीय पाठ्यक्रम तयारी कार्यदलका सदस्य सिद्धिरत्‍न शाक्य र रोशनराज तुईतुईले पनि बोल्नुभएको थियो । कार्यक्रममा कक्षा २ र ७ को लागि नयाँ पाठ्यक्रम तयार गर्न जनप्रतिनिधिहरु र सरोकारवालाहरुलाई ५ वटा समूहमा विभाजन गरी पाठ्यक्रमका ११ वटा विषयहरुमा सुझाव संकलन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.