Explore news and happenings at Bhaktapur

स्थानीय तहहरूलाई शिक्षा र स्वास्थ्यको जिम्मेवारी दिएमा नागरिकहरूले सस्तो र सुलभ तरिकाले अत्यावश्यक सेवाहरू प्राप्त गर्ने छ -सुनिल प्रजापति

0

भक्तपुर, २०७५ असोज २६, शुक्रबार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा ख्वप इन्जिनियरिङ्ग कलेज, भक्तपुरमा विजया दशमी र शुभ दिपावली २०७५ को शुभकामना आदान प्रदान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले संघीय मन्त्रीले स्थानीय तहबाट शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न सकिंदैन भनी बोल्नु स्थानीय सरकार माथि हस्तक्षेप भएको भन्दै संविधानको भावना विपरित छ भन्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले विगत २ दशकदेखि कलेजहरू संचालन गरेको र जनस्वास्थ्य केन्द्रहरू संचालन गर्दै अस्पताल निर्माणको प्रक्रियामा रहेको यथार्थ सबैलाई जानकारी हुँदाहुँदै जिम्मेवार व्यक्तिहरूले संवैधानिक व्यवस्था विपरित अभिव्यक्ति दिंदै हिड्नु अत्यन्त आपत्तिजनक भएको बताउनुभयो । 

उहाँले निजी कलेजहरूलाई प्रोत्साहित गर्न नै यस्तो किसिमको भ्रमित समाचारहरू प्रचार प्रसार हुने प्रति सचेत गराउँदै स्थानीय तहहरूलाई शिक्षा र स्वास्थ्यको जिम्मेवारी दिएमा नागरिकहरूले सस्तो र सुलभ तरिकाले अत्यावश्यक सेवाहरू प्राप्त गर्ने छ भन्नुभयो । 

निजी कलेजहरूमा ४०–५० लाख खर्च गरेर चिकित्साशास्त्र पढेका डाक्टरहरूले निस्वार्थ सेवा गर्ने भन्दा पैसा कमाउनमा नै जोड दिने हुनाले समाजमा विकृति फैलिने प्रति सचेत हुनुपर्ने बताउनुभयो । ठूल्ठूला राजनैतिक दलहरु सरकारमा बसेर कमीशन र सुविधा भोग्नेमा लीन भैसकेकोले प्रतिपक्षमा बसेर प्रखर भूमिका निभाउन नसकी पानी विनाको माछा जस्तै भएको छ भन्नुभयो ।

उहाँले कलेजका शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई विजया दशमी र शुभ दिपावली २०७५ को शुभकामना व्यक्त गर्दै आ–आफ्नो क्षेत्रको जिम्मेवारी इमान्दारीपूर्वक निभाउन प्रेरित गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.