Explore news and happenings at Bhaktapur

सिकर्मी सङ्घकाे सातौं वार्षिक साधारण सभा सम्पन्न

२०७६ पौष २९ गते बुधबार ।

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सरकारले जानाजानै पुँजीपति वर्गको हितमा ऐन कानुन बनाइरहेको बताउनुभएको छ ।
मङ्गलबार भएको भक्तपुर सिकर्मी सङ्घको सातौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले प्रगतिशील कर लागू गर्नुपर्नेमा जोड दिँदै सर्वसाधारण व्यवसायीसँग कडाइ गरेर कर लिने तर ठूल्ठूला उद्योगपतिहरूलाई कर छुट दिने सरकारको नीति गलत छ भन्नुभयो ।
सर्वसाधारण व्यवसायीहरूसँग तिर्नै नपर्ने कर लिइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले ऐन कानुनबारे अध्ययन गरेर सिकर्मी र डकर्मीहरू सुसूचित हुनुपर्ने बताउनुभयो ।
स्थानीय स्रोत र साधन उपयोग गरे यहाँकै आयस्रोत बढ्ने र काम पाउने विचार व्यक्त गर्दै उहाँले आ–आफ्नो श्रम र सीप आफ्नै माटो या भूमिमा खर्चिनुपर्ने बताउनुभयो ।
कुनै व्यवसायीहरू लोभलालच र प्रलोभनमा फस्न नहुने विचार व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पुँजीपति वर्गका नेता, मन्त्रीहरू अनेक षड्यन्त्र गरेर सर्वसाधारण जनताको मत लिन्छन्, जित्छन् र तिनै श्रमजीवी वर्गमाथि रजाइँ गर्छन् ।”

नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले ठूलाबडा या पुँजीपति वर्गसँग सल्लाह लिएर सरकारले बजेट बनाउने हुँदा स–साना व्यवसायीहरू मर्कामा परेको हो भन्नुभयो ।

नेकपा सरकारको विभिन्न गतिविधि र घटनाक्रमले अमेरिका र भारतकै सल्लाहमा एमाले र एमाओवादीको चुनावी गठबन्धन र पार्टी एकता भएको पुष्टि भएको चर्चा गर्दै सांसद सुवालले सडक स्तरोन्नतिमा समेत भारतकै ठेकेदार र भारतकै सामान प्रयोग गर्ने सर्त नेपाल र नेपाली जनताको हितमा छैन भन्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यहाँ उत्पादित सामान उपयोग गर्ने वातावरण सरकारले तयार गर्नुपर्नेमा जोड दिँदै कमिसनकै कारण विदेशी सामान भित्रिरहेको उल्लेख गर्नुभयो ।
यहाँकै स्रोत र साधन उपयोग गर्ने गरी राज्यले नियम बनाउनुपर्ने विचार व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले आर्थिक नियमको परिधिभित्र रहेर काम गर्नुपर्छ भन्नुभयो ।

नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले सहयोगको नाउँमा साम्राज्यवादी देश नेपाली भूमिमा सक्रिय हुन थालेको प्रसङ्ग उल्लेख गर्दै प्रजातन्त्रको नाउँमा नयाँ सैनिक गठबन्धन ल्याउने अमेरिकी प्रयासको आम नेपाली जनताले विरोध गर्नुपर्छ भन्नुभयो ।
आफ्नो सर्त पालना गर्नुपर्ने विदेशी सहयोग आँखा चिम्लेर लिन हुनेमा जोड दिँदै उहाँले अमेरिका चीनको प्रगति रोक्न र त्यसमा बाधा हाल्न अघि बढिरहेको बताउनुभयो ।
अरू देशलाई बलियो बनाउन नदिने र संसारमा फैलिरहेको समाजवादी विचारमा भ्रम फैलाउन अमेरिका लागिपरेको उहाँले जानकारी दिनुभयो ।
भक्तपुर सिकर्मी सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको सो कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत गगनबहादुर थापा, नेपाल क्रान्तिकारी डकर्मी सङ्घका अध्यक्ष विष्णुराम दुमरु, नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घका जिल्ला अध्यक्ष शिव सितिखु, सिकर्मी सङ्घका सल्लाहकार विष्णुभक्त कुसी, भक्तपुर फर्निचर तथा फर्निसिङका रत्न सुवालले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
सभामा सिकर्मी सङ्घका सचिव श्रीप्रसाद लवजूले धन्यवादज्ञापन गर्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.