Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा सांस्कृतिक गुरु भेला

२०७६ पुस ११ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सांस्कृतिक उत्थानको निम्ति सांस्कृतिक गुरुहरुको भूमिका उल्लेखनीय रहेको बताउनुहुँदै नगरपालिकाले प्रत्येक वर्ष कुनै न कुनै बाजा प्रतियोगिता गर्ने नपाको घोषणापत्रमै उल्लेख भएको बताउनुभयो ।

नगरपालिकाको आयोजनामा शुक्रबार भएको सांस्कृतिक गुरु भेला कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आइसकेपछि बाँसुरी बाजा र धाँ बाजा प्रतियोगिता गरिसकेको र यस वर्ष धिमे प्रतियोगिता आयोजना गर्ने हुँदा सांस्कृतिक गुरुहरुको राय–सुझावलाई प्राथमिकता दिएर भेलाको आयोजना गरेको बताउनुभयो ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा ३२९ वर्ष पुरानो ऐतिहासिक र सांस्कृतिक नगरा पुनःस्थापना गरिसकेको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले युवा पुस्तालाई परम्परागत बाजाको महत्व र सीप हस्तान्तरणको निम्ति आवश्यक पहल गरिरहेको बताउनुभयो ।

भक्तपुरको चाडपर्वहरु, मौलिक जीवनशैली, संस्कार, दाफाभजन, गुठी, परम्परागत बाजागाजा संरक्षणमा भक्तपुर नपाले खेलिरहेको भूमिकाबारे प्रस्ट पार्दै उहाँले एक पुस्ताबाट अर्को पुस्तामा नटुट्ने गरी सीप हस्तान्तरण गर्नु नपाको उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई नाचगानको राजधानी र बाजागाजाको सहर बनाउन सांस्कृतिक गुरुहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला र भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सांस्कृतिक गुरुहरुद्वारा नपाको आयोजनामा हुने धिमे बाजा प्रतियोगिता भक्तपुर महोत्सवको समयमा गर्नु उचित हुने, प्रतियोगिताबारे व्यापक प्रचारप्रसार आवश्यक, नौ बाजालगायत लोपोन्मुख बाजाको प्रशिक्षण र संरक्षण, महिलाहरुलाई पनि वाद्यवादनमा समावेश गर्दै लानुपर्ने र वडामार्फत बाजाको प्रशिक्षण चलाउनुपर्नेलगायतका राय–सुझाव प्रस्तुत गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.