Explore news and happenings at Bhaktapur

भक्तपुर नपाद्वारा ३२९ वर्ष पुरानो नगरा पुनःस्थापित

२०७६ पुस १० गते, बिहीबार

1

भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु मन्दिर परिसरमा रहेको ३२९ वर्ष पुरानो दुईवटा ठूलो ऐतिहासिक नगराहरूलाई सिद्धिलक्ष्मी मन्दिर अगाडिको ताहा सत्तल (तबा सत्तल) मा बिहीबार पुनःस्थापना गरियो । भक्तपुर नगरपालिकाको तर्फबाट मर्मत सम्भार गरिएको ती नगराहरूलाई पुस १० गते दरबार क्षेत्रमा आयोजित एक कार्यक्रमबीच ताहा सत्तल (तबा सत्तल) को पहिलो तल्लाको पश्चिमी भागमा सुरक्षित रुपमा पुनःस्थापना गरिएको हो ।

नगरा पुनःस्थापना कार्यक्रममा सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ३२९ वर्ष पुरानो नगराको विषयमा नयाँ पुस्तालाई थाहा दिन पहिलेकै ठाउँमा पुनःस्थापना गरिएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले राजा जितामित्रको पालामा तलेजु भवानीलाई चढाइएको नगरा पुनःस्थापना गर्नुका साथै सुरक्षित राखी नगरा बजाउने व्यवस्था गरी यसलाई जीवन्तता प्रदान गर्ने सोच रहेको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पुर्खाले छोडेको सम्पत्ति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुको औचित्यबारे प्रस्ट पार्नुहुँदै ऐतिहासिक नगराहरूको उचित उपयोगको आवश्यकता औंल्याउनुभयो ।

दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सरस्वती सिंहले लामो समयदेखि तलेजु परिसरमा रहेका नगराहरू विगतमा ताहा सत्तलमा राखिएको इतिहास भएको उल्लेख गर्दै आन्तरिक र बाह्य पर्यटकहरूको लागि नगराको विषयमा जानकारी दिनु आवश्यक भएको बताउनुभयो ।

संस्कृतिकविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले धार्मिक र सांस्कृतिक जीवनको झलक दिने ऐतिहासिक नगराको महत्वबारे प्रस्ट पार्नुहुँदै भक्तपुरको मूर्त–अमूर्त सम्पदा संरक्षणमा नगरपालिकाले अग्रणी भूमिका खेलेको चर्चा गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले लामो इतिहास बोकेका नगराहरूलाई भक्तपुर नपाले पुनःस्थापित गर्ने कार्य गरिरहेको बताउनुहुँदै भ्रमण वर्षको अवसरमा भक्तपुर नगरपालिकाले पुस १५ गते गते सन्ध्याकालीन पदयात्रा र पुस १६ (जनवरी १) मा प्रभातफेरी कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य, पुरातत्व विभागका पुरातत्व अधिकृत मोहनसिंह लामा, प्रहरी उपरीक्षक सबिन प्रधान, वीरदल गणका लेनिन रोक्कामगर, इतिहासविद् प्रा. विश्वमोहन जोशी, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालालगायतको उपस्थिति रहेको थियो । नेपाली सेनाको सहयोगमा नगरालाई ताहा फल्चामा पुनःस्थापित गरिएकोे थियो ।

   

1 Comment
  1. ram prasad kadel says

    yo dherai asak jarya gareko ma nagarpalika lagayat sampurna sahayogi jan prati hardik abhar byakta gardachhau.
    nepali lok baja sangharalaya tripureshowar. kathmandu.

Leave A Reply

Your email address will not be published.