Explore news and happenings at Bhaktapur

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने

२०७६ पुस १३ गते, आइतबार

0

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउन आइतबार गृहमन्त्रालयमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिको बैठक बस्यो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न मूल समारोह समितिले २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते भक्तपुर नपाको दरबार क्षेत्रमा गर्ने र सो कार्यक्रमको जिम्मा भक्तपुर नगरपालिकालाई दिने तय गरेको छ ।

बैठकमा बोल्नुहुँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भूकम्पलगायतका विपद्बाट जनतालाई सुरक्षित पार्ने प्रमुख दायित्व राज्यको भएको बताउनुभयो ।

भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति पुगेका सम्पदा र भग्नावशेषहरु अझ पुनःनिर्माण नहुनु चिन्ताको विषय भएको र भूकम्पबाट सुरक्षित हुन जनसमुदायलाई नै सचेत बनाई जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भूकम्प सुरक्षा दिवस सफल, भव्य र प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाहरुसँगको समन्वयको लागि आग्रह गर्नुभयो ।

२२ औं भूकम्प दिवसलाई सफल र प्रभावकारी बनाउन आफ्नो सुझाव प्रस्तुत गर्नुहुँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर २०७२ सालको भूकम्पले बढी क्षति पुगेको ठाउँ भएको बताउनुहुँदै ११६ वटाभन्दा बढी क्षतिग्रस्त सम्पदाहरुमध्ये हाल भक्तपुर नगरपालिकाले ९१ वटा सम्पदा पुनःनिर्माणको काम सम्पन्न गरिसकेको बताउनुभयो ।

भक्तपुरलाई सांस्कृतिक नगरी कायम गर्न नगरपालिकाले विभिन्न कार्ययोजना व्यवस्थित रुपमा अगाडि बढाइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले सम्पदा बस्तीका घर पुरानै शैलीमा निर्माण गराउने नीति बनाउँदै अनुदानको व्यवस्था गरिरहेको बताउनुभयो । भक्तपुर नगरको मूल सडकमा ढुंगा छपाईको कार्य अगाडि बढिरहेको छ भन्नुहुँदै उहाँले भक्तपुर नपाद्वारा सञ्चालित कलेजमार्फत प्रत्येक वर्ष भूकम्प दिवस मनाइरहेको अवगत गराउनुभयो ।

भक्तपुरमा आयोजना हुने २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यरुपमा सम्पन्न गर्न गृहमन्त्रालयसँग प्राविधिक व्यवस्थापन गर्न भक्तपुर नपा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकामा टेको लागेको घर अझ पनि धेरै भएको बताउनुहुँदै घर बनाउन नसकेका पीडितहरुलाई राहत पु¥याउने किसिमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न सरोकारवालाहरुले आ–आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.