Explore news and happenings at Bhaktapur

‘मल्लकालीन संस्कृति र ज्योतिष विज्ञान’ पुस्तक सार्वजनिक

भक्तपुर, २८ मंसिर ।

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कुनै पनि स्थानको भौगोलिक स्थिति र ऐतिहासिक घटनाहरूले संस्कृति निर्माण गर्छ र संस्कृतिको उच्चतम विकासले संस्कारको जन्म हुन्छ भन्नुभयो । उहाँले संस्कृति र संस्कार समाजको हितमा उपयोग हुनुपर्नेमा जोड दिनुभयो ।

डा. विरेन्द्रप्रसाद कायस्थको छैटौँ कृति मल्लकालीन संस्कृति र ज्योतिष विज्ञान पुस्तक शनिबार एक कार्यक्रमबीच विमोचन गर्दै अध्यक्ष बिजुक्छेँले ज्योतिषशास्त्र विज्ञान भएको चर्चा गर्दै नयाँ पुस्तालाई ज्योतिष विज्ञानको विषयमा सरल भाषामा बुझ्नेगरी पुस्तक प्रकाशनको आवश्यकता रहेको औँल्याउनुभयो ।

काठमाडाँै उपत्यकाको कला र संस्कृतिमा संस्कृत र मैथिलीभाषाको साहित्य र संस्कृतिको प्रभाव रहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले इतिहास र भूगोल नबुभ्mदा संस्कृतिको बारेमा सही दृष्टिकोण बनाउन नसकिने प्रस्ट पार्नुभयो । एउटै विषयलाई फरक –फरक कोणबाट विश्लेषण गर्दा सत्यको नजिकपुग्ने उहाँको भनाइ थियो ।

अध्यक्ष बिजुक्छेँले धर्म र संस्कृतिको नाममा अन्धविश्वासलाई त्याग्नुपर्नेमा जोड दिंदै युवाहरूलाई पश्चिमा संस्कृतिबाट टाढा राख्नउनीहरूले बुभ्mनेगरी रोचक तरिकाले पुस्तक तथा लेख प्रकाशन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य सृजना सैजूले ज्योतिषशास्त्र र तन्त्रशास्त्रलाई आधुनिक विज्ञानसँग जोडेर विश्लेषण गरिएमा युवाहरूमा उत्सुकता बढ्ने बताउनुभयो । उहाँले विमोचन गरिएको पुस्तक अध्ययन गर्दा मल्लकालीन कला र संस्कृति कृषि जीवनसँग अन्तरसम्बन्धित रहेको आफूले पाएको चर्चा गर्दै पुस्तकमा ज्योतिषशास्त्रसँग सम्बन्धित क्लिष्ट शब्दहरूको अर्थसमेत उल्लेख भएमा पाठकहरूलाई अध्ययनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सौर्य मण्डल र अन्तरीक्षमा रहेका खगोलीय पिण्डहरूको गति, परिक्रमण र तिनबाट आउने किरणहरूबाट पृथ्वी र मानव जीवनमा पर्ने प्रभावको बारेमा गहन अध्ययन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरलाई सुसंस्कृत नगर एवम् कला र संस्कृतिको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सम्पूर्ण नगरवासीहरू लागिपरेको र यसका लागि शिक्षा, स्वास्थ्य, सरसफाइ र अनुसन्धान क्षेत्रमा नगरपालिकाले प्राथमिकता दिएको प्रस्ट पार्नुभयो ।

विश्व ज्योतिष महासङ्घका अध्यक्ष प्रा.डा. लोकराज पौडेलले पर्व सुधारको नाममा नेपाली जनताबीच धार्मिक र साँस्कृतिक विखण्डन ल्याउन खोजिरहेकोप्रति सचेत रहन आग्रह गर्नुभयो ।

वाल्मिकी क्याम्पसका प्राध्यापक श्रीकृष्ण अधिकारीले नेपाली संस्कृति तन्त्रमा आधारित रहेको चर्चा गर्दै मल्लकालीन संस्कृतिलाई अलग्याइयो भने नेपालीहरूको मौलिक परिचय नै हराउने उल्लेख गर्नुभयो ।

नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डे, जोशी समाज केन्द्रीय समितिका अध्यक्ष सुवर्णराम जोशी र राष्ट्रिय महिला ज्योतिष सङ्घका अध्यक्ष रति जोशीले नेपाली संस्कृतिलाई ज्योतिष शास्त्रसँग जोडेर अध्ययन गर्नु सकारात्मक रहेको बताउनुभयो ।

संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ र संस्कृतिसम्बन्धी अध्येता ओम धौभडेलले पुस्तकको समीक्षा गर्दै किम्बदन्तीलाई ऐतिहासिक तथ्य र प्रमाणको आधारमा विश्लेषण गरिनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक डा. विरेन्द्र प्रसाद कायस्थको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्ष रवीन्द्र ज्याख्व र नेपाल ज्योतिष परिषद उपत्यका समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीले पनि बोल्नुभएको थियो ।
शनिबार विमोचित पुस्तक मल्लकालीन संस्कृति र ज्योतिष विज्ञान लेखकको छैटौँ कृति हो । यसअघि लेखकका कृतिहरू नवग्रह र ज्योतिष, दुर्गापूजा पद्धति, कवच मन्त्र, लक्ष्मीपूजा पद्धति तथा ज्योतिष र रोग पुस्तकहरू प्रकाशित भइसकेका छन् ।

 

Leave A Reply

Your email address will not be published.