Explore news and happenings at Bhaktapur

पैसा र आश्वासन बाँड्ने बद्मास राजनीतिक दलबाट जनता सचेत बन्नुपर्ने — अध्यक्ष बिजुक्छेँ

भक्तपुर, २८ मंसिर ।

0

भक्तपुर, २८ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुनावको बेलामा पैसा र आश्वासन बाँड्ने बद्मास राजनीतिक दलबाट जनता सचेत बन्नुपर्ने बताउनुभएको छ ।

शनिबार ३९ औँ नेपालभाषा साहित्य तःमँुज्या र सांस्कृतिक कार्यक्रमको पुरस्कार वितरण तथा सम्हेबजी कार्यक्रममा बोल्दै उहाँले चुनावमा पैसा लिएर मत दिँंदा पछि जनताले दुःख पाउने बताउनुभयो ।

“भारतीय कम्पनीबाट ल्याएको पैसा चुनावमा बाँडिन्छ । पछि चुनावमा जितेपछि तिनै कम्पनीबाट वस्तुको मूल्य बढाइन्छ अनि जनताले दुःख पाउँछन्”, उहाँले भन्नुभयो ।

अध्यक्ष बिजुक्छेँले चुनावमा हार्ने पार्टीलाई मत दिनु हुन्न भन्ने गलत प्रचारबाजी गरेर शासक दलहरूले जालझेलको राजनीति गरेको बताउनुभयो ।

“हार्ने दललाई मत हाल्नुहुन्न भन्ने प्रचार गर्नु एक दिन तिमी मर्छौ, त्यसकारण किन बाँच्ने भन्ने तर्क जस्तै हो । यस्ता प्रचारबाजीबाट जनता सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।

नयाँ पुस्तालाई भाषा, साहित्य र संस्कृतिबारे बुझाउनुपर्नेमा जोड दिंदै उहाँले काठमाडौँ उपत्यकाका जनता गम्भीरतापूर्वक नलागे मौलिक संस्कृति जोगाउन मुस्किल हुने बताउनुभयो ।

नेमकिपाका सचिव एवम् सांसद पे्रम सुवालले नेपालभाषा साहित्य तःमुंज्याको दबुले नयाँ पुस्तालाई सुसंस्कृत बनाउन मद्दत पु¥याएको बताउनुभयो ।

देशको सन्तुलित विकास नगरिएकैले काठमाडौँ उपत्यकालगायत सहरमा खानेपानी, फोहरमैला, प्रदूषण, अपराधको समस्या बढेको छ, उहाँले भन्नुभयो ।

“सुगौली सन्धि, जनगणना, तिरो र सन् १८५६ का नक्साहरूबाट लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत नेपालको हो । नेपालको भूमि भारतले आफ्नो नक्सामा गाभेको विरोधमा नेमकिपा सडक र सदनमा सङ्घर्षरत छ । कार्तिक २३ गते हाम्रो पार्टीले भारतीय दूतावासमा दिएको विरोधपत्र र विरोधपत्रबारे नेपालका आमसञ्चारमा समाचार नबनेको अर्थपूर्ण रहेको छ”, सांसद सुवालले भन्नुभयो ।

नेपालको परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा दावी नगरी कालापानीसम्ममात्र दाबी गरेको पनि देशघात नै भएको उहाँले बताउनुभयो ।

भारतले नेपालको भूमि आफ्नो नक्सामा गाभेको होइन भनेको हुँदा अब वार्ताबाट समाधान सम्भव नभएकोले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेमात्र समस्या समाधान हुने सांसद सचिवले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “प्रमले मन्त्री र सचिवहरूको बैठकमा आफ्नो नाम जोडेर कमिशन खाएको सुनेको बताएबाट भ्रष्टाचार संस्थागत भएको पुष्टि हुन्छ ।”

नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजलाई कुलतबाट जोगाएर आदर्श समाज निर्माण गर्न जनताबीच हातेमालोको आवश्यकता भएकोमा जोड दिनुभयो ।

“विभिन्न कुलतमा फसाउने समूह सक्रिय छन् । उनीहरूबाट सावधान बनी आफ्नो वरपरका केटाकेटीलाई कुलतबाट जोगाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्यहरू डिल्लीप्रसाद काफ्ले, सुरेन्द्रराज गोसाई र सृजना सैंजूले पनि बोल्नुभएको थियो ।

नेपालभाषा साहित्य तःमुँज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाको सभापतित्वमा भएको कार्यक्रममा ३९ औं नेपालभाषा साहित्य तःमुँज्या आयोजक समितिका अध्यक्ष श्यामसुन्दर मातां र सचिव राजन जतीले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा ३९ औं तःमुँज्याको सांस्कृतिक कार्यक्रमका विजेता सांस्कृतिक टोली र कलाकारहरूलाई पुरस्कार तथा प्रतियोगिताका निर्णायकहरूलाई कदर पत्र, नयाँ वर्ष ११४० को शुभकामना ¥यालीमा सहभागी बाजा खलःलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.