Explore news and happenings at Bhaktapur

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको २५ औं क्षेत्रगत साधारणसभा सम्पन्न

भक्तपुर । कार्तिक ३० गते, शनिबार

0

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं वार्षिक साधारणसभा क्षेत्र नं. १ र २ (क्षेत्रगत) भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शनिबार भक्तपुर बैंक्वेट हाकुफोहिटीमा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले संस्थाको पुँजी, सदस्य संख्या र आकारले ठूला सहकारी संस्थाहरुको चुनौतीहरु पनि धेरै हुने व्याख्या गर्नुहुँदै सानो गल्तीले ठूलो दुर्घटना निम्तिनेतर्फ सजग गराउनुभयो ।

सहकारी संस्थाहरु सहकारीको सिद्धान्त र मूल्य–मान्यताभित्र रहेर अगाडि बढ्नुपर्ने आवश्यकता औंैल्याउनुहुँदै उहाँले सिद्धान्त र नीति नियम विपरीत चल्ने संस्थाहरु डुब्ने खतरा हुने बताउनुभयो ।

सहकारी संस्थाहरुमा जम्मा भएका रकम रोजगारी सिर्जना, उद्योग स्थापना र मौलिक वस्तु उत्पादन आदिमा लगानी गर्नु आवश्यक छ । उहाँले भन्नुभयो – ‘संस्थाका सदस्यहरुलाई देशभक्तिपूर्ण भावनाबाट अभिप्रेरित गर्दै समाजको हितको निम्ति काम गर्न पनि प्रेरित गर्दै जानु आवश्यक छ ।’

छिमेकी देश भारतले नेपालको भू–भागमा गरेको अतिक्रमण र थिचोमिचोको विरोध गर्न सम्पूर्ण नेपालीहरु एक हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद र विकास निर्माणका क्षेत्रमा देशकै लागि नमुनाको रुपमा कार्य गरिरहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले गरिरहेको गतिविधिहरुबारे जानकारी दिनुहुँदै सहकारी संस्थाले समुदाय र सदस्यहरुको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका सञ्चालक तथा संस्थाका पूर्वअध्यक्ष कृष्णगोविन्द लाखाजुले संस्था स्थापनाको उद्देश्यबारे प्रस्ट पार्नुहुँदै कानुनी बन्दोबस्तअनुसार सिद्धि गणेश बचत सहकारीले क्षेत्रगत साधारणसभा गरेको प्रस्ट पार्नुभयो ।

कार्यक्रममा लेखा समितिका सदस्य हेरा ख्याजुले आर्थिक वर्ष २०७५—७६ को लेखा सुपरीक्षण समितिको प्रतिवेदन, संस्थाका सञ्चालक सदस्य पञ्चरत्न सैंजुले आ.व. ०६५—७६ को यथार्थ आय–व्यय विरण तथा अनुमानित बजेट र सञ्चालक सदस्य रामलक्ष्मी शिल्पकारले आ.व. ०७५—७६ को प्रगति तथा ०७६÷७७ को प्रस्ताविक कार्यक्रम वाचन गरेर सुनाउनुभएको थियो ।

कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका सचिव जगन्नाथ प्रजापति र सञ्चालक समिति सदस्य रमेश दुमरुले पनि बोल्नुभएको थियो । साथै प्रमुख अतिथि प्रजापतिले असल ऋणी, सदस्य वृद्धि गर्ने सदस्य, संरक्षित पुँजी फिर्ता कोष प्राप्त गर्ने र समयमै ऋणको ब्याज चुक्ता गर्ने सदस्यहरुलाई कदर पत्र र मायाको चिनो बितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.