Explore news and happenings at Bhaktapur

नेपालको राजनीतिक इतिहासमा नेमकिपाको भूमिका सशक्त

२०७६ कार्तिक ९, शनिबार ।

0

भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा शुभ–दीपावली र नेपाल संबत् न्हुँद ११४० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भयो ।

प्रमुख अतिथि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालको राजनीतिक इतिहासमा नेमकिपाको भूमिका सशक्त रहेको बताउनुभयो । उहाँले किसानहरुलाई चाहिने मलको अरबांै रुपैया विदेशबाट आयात भइरहेकोमा चिन्ता प्रकट गर्दै इमान्दारीको पाठ विद्यार्थीकालदेखि नै सिकाउन सके जुनसुकै क्षेत्रमा गए पनि इमान्दारीपूर्वक काम गर्न प्रेरित हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले चीन, क्यूवा, प्रजग कोरियालगायतका समाजवादी देशका व्यवस्थाहरुबारे सूचित गर्दै उहाँले राजनीतिक पार्टी भनेका स्कुल अफ थट्स भएको र शोषणरहित समाज स्थापना गर्ने प्रमुख उद्देश्य राजनीतिक पार्टीहरुको हुनुपर्ने बताउनु भयो ।

दुई–तिहाई बहुमत प्राप्त नेकपा सरकारलगायतलाई कम्युनिष्ट संविधानको बारेमा सांसद नेताहरुलाई अध्ययन गराउनु आवश्यक रहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चाडवाडमा अरबांंै रुपैयाको तरकारी, फलफुल र मसला किन्नको निम्ति खर्च भइरहेकोले नेपालमै उत्पादन बढाउनु पर्ने औंल्याउनुभयो । उहाँले नेमकिपाको सातौं महाधिवेशनले पारित गरेका प्रस्तावबारे जानकारी दिंदै टोलटोलमा वाचनालय र पुस्तकालय व्यवस्थित गर्दै जाने, अध्ययन गोष्ठी सञ्चालन, पार्टी कार्यकर्ताबीच सैद्धान्तिक छलफल चलाउनृ, खेलकुद गतिविधि युवा केन्द्रीत ढंगले अगाडि सार्नेलगायतका कार्यक्रममा पार्टीले जोड दिएको बताउनुभयो ।

नेपालका उद्योग–कलकारखाना बेच्ने सरकारहरु देशघाती रहेको बताउँदै ती पार्टीलाई मत दिने जनता पनि देशको यो स्थिति हुनुमा जिम्मेवार भएको बताउदै प्रमुख प्रजापतिले राजनीतिक व्यवस्था नसुध्रिएसम्म देश अगाडि नबढ्ने बताउनुभयो । उहाँले गुठी संस्थान भक्तपुरले सम्पदा संरक्षणमा प्रभावकारी भूमिका खेल्न नसकेको बताउँदै नेपाल ट्रष्ट अन्तर्गत रहेका भक्तपुरका पर्ति जग्गा स्थानीय तहलाई जिम्मामा दिनुपर्ने माग नेमकिपाको रहेको बताउनुभयो ।

नेमकिपा वडा नं. १ इन्चार्ज लक्ष्मी नारायण राजलवटले न्हुँद ¥यालीमा सहभागिताको लागि अनुरोध गर्दै नववर्षको शुभकामना व्यक्त गर्नुभयो ।
वडाध्यक्ष श्यामकृष्ण खत्रीले नेमकिपाको सातौं महाधिवेशनबाट प्राप्त सन्देशबारे बोल्दै नेमकिपाले अगाडि सारेका भूमिसुधार आन्दोलन, भर्पाई आन्दोलनलगायतले बहुसंख्यक किसानको हक–हित सुरक्षित पार्न भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा गंगालक्ष्मी बमनु र सुर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।   

Leave A Reply

Your email address will not be published.