Explore news and happenings at Bhaktapur

ख्वप कलेजमा बीबीएम अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, ७ कार्तिक ।

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा ख्वप कलेजमा बीबीएम अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले विश्वविद्यालय अध्ययन–अनुसन्धानको अगुवाइ गर्ने केन्द्र हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राजनीतिक पूर्वाग्रह र शासक दलको सङ्कीर्णताले गर्दा पूर्वाधारहरु तयार भइसकेर पनि ख्वप विश्विवद्यालयले स्वीकृति नपाएको उहाँले बताउनुभयो ।
नयाँ–नयाँ कुरा सिक्ने अभिलाषाका साथ विद्यार्थीहरू सधैँ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “अध्ययन कहिल्यै खेर जानेछैन । निराश भएर होइन नयाँ कुरा पत्ता लगाउने उत्साहका साथ विद्यार्थीहरु अगाडि बढ्नुपर्छ ।”

शिक्षा र अनुसन्धानको लागि राम्रो पुस्तकालय आवश्यक भएकोले भनपाका जनप्रतिनिधिहरूले सुविधा सम्पन्न पुस्तकालय सञ्चालन गर्ने अपेक्षा गर्दै उहाँले भन्नुभयो, “पुस्तकालय त्यस्तो होस् जहाँ तल्लाअनुसार बिहानदेखि बेलुकासम्म सञ्चालन हुने प्रयोगशाला कक्ष, अध्ययन कक्ष र सबै विषयको शिक्षा दिने प्राज्ञहरूको व्यवस्था होस् र सःशुल्क गुणस्तरीय चिया र खानाको व्यवस्था गर्ने चमेना गृह होस् ।”
समूहगतरूपमा अध्ययन–अनुसन्धान गर्ने परिपाटी आवश्यक भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छँेले अनुसन्धानमा राम्रो भए देश अगाडि बढ्ने धारणा राख्नुभयो ।

सम्पन्न व्यक्तिहरूले जागीर खाने उद्देश्यले नभई समाज र देशको लागि सेवा गर्ने भावनाका साथ अध्ययन गर्नुपर्छ, उहाँले भन्नुभयो ।
चीन र संरा अमेरिकाबीचको व्यापार युद्धबारे जानकारी गराउँदै उहाँले चीन र अमेरिकाबीचको व्यापार युद्धले कसैलाई फाइदा नहुने चीनको विचार सही रहेको बताउनुभयो ।
“अमेरिकी अर्थशास्त्रीले अनुमान गरेजस्तै सन् २०२१ सम्ममा चीन विश्व अर्थतन्त्रको पहिलो नम्बरमा पर्ने देखिएपछि संरा अमेरिका छटपटिएर चीनसँग व्यापार युद्ध छेडेको हो”, अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।चीनको विकास र समृद्धिबाट सिक्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “चीनले अरू देशलाई कहिल्यै ऋणमा डुबाउने छैन । चिनियाँ चरित्र र संस्कारले कहिल्यै पनि औपनिवेशिक नीति नअङ्गाल्ने स्पष्ट छ ।”

भनपाका प्रमुख एवम् ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भनपाले २० वर्ष अगाडि उच्च मावि सञ्चालन गरेको स्मरण गराउँदै भन्नुभयो, “शिशु स्याहारदेखि विश्वविद्यालयसम्म सञ्चालन गर्ने लक्ष्य लिई भनपा अगाडि बढिरहेको छ ।”
प्रमुख प्रजापतिले जोड दिनुभयो, “हाम्रा विद्यार्थीहरू असल, सभ्य र देशभक्त हुनुपर्छ । समाजलाई सुसंस्कृत बनाउन सस्तो र गुणस्तरीय शिक्षा दिन भनपा तयार छ ।”
उपभोक्ता समितिमार्फत कार्य गराउँदा काम गुणस्तरीय हुनुको साथै अपनत्वको भावना हुने र स्थानीय रोजगार सृजना हुने भएकोले भनपाले उपभोक्ता समितिमार्फत विकास निर्माण गराइरहेको उहाँले बताउनुभयो ।

कलेज सञ्चालक समितिका सदस्य एवम् भनपा वडा नं. ९ का वडा सदस्य रवीन्द्र ज्याख्वले भक्तपुरलाई ज्ञान विज्ञानको कन्द्र बनाउने उद्देश्यका साथ भनपाले कलेजहरू सञ्चालन गरिरहेको र ख्वप कलेजहरू ब्राण्डको रूपमा चर्चित भइरहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवाल र ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत एवम् विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।    

Leave A Reply

Your email address will not be published.