Explore news and happenings at Bhaktapur

इष्ट प्वाइन्ट एकेडेमीमा एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान कार्यक्रम

२०७६ कार्तिक ७ गते बिहीबार ।

0

भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा इष्ट प्वाइन्ट एकेडेमीबाट २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान कार्यक्रम र देउसी भैलो प्रतियोगिता सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले “भाषा, संस्कृति हाम्रो पहिचान हो र यसको जगेर्ना गर्नु आवश्यक छ” भन्नुभयो । साथै विद्यार्थीहरुले प्रस्तुत गर्ने प्रस्तुतिहरु देशभक्तिपूर्ण हुनुपर्नेमा जोड दिंदै सबै जातजातीले आ–आफ्नो भाषा र संस्कृतिको संरक्षण गरी अस्तित्व जोगाउनु आवश्यक भएको कुरा बताउनुभयो ।

उहाँले नयाँ पुस्तालाई मौलिक परम्पराबारे जानकारी दिन भनपाले स्थानीय पाठ्यक्रम लागू गरी सबै विद्यालयहरुमा लागू भइसकेको जानकारी दिनुहुँदै यसमार्पmत नयाँ पुस्तालाई स्थानीय विषयवस्तुमा पारङ्गत गर्दै लान सकिने बताउनुभयो ।

देश अहिले साँस्कृतिक अतिक्रमणको चपेटामा रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले विद्यालयहरुले आयोजना गरेको देउसी भैलो प्रतियोगिताको पूर्ण सफलताको कामना गर्नुभयो ।

प्याब्सन भक्तपुरका जिल्ला सल्लाहकार कृष्ण के.सी.ले विश्व जगतमा प्रतिष्पर्धी विद्यार्थी तयारी गर्नु आजको आवश्यकता भएको बताउनुहुँदै स्थानीय पाठ्यक्रममार्फत् विद्यार्थीहरुलाई यहाँको संस्कृति, कलाबारे अवगत गराउँदै लानु आवश्यक भएको बताउनुभयो ।

प्याब्सन, भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीले विद्यालयहरुले सिकाइमा आधारित शिक्षामा जोड दिनुपर्ने र विद्यालयस्तरबाटै विद्यार्थीहरुलाई साँस्कृतिक महत्व र चाडबाडबारे अवगत गराउँदै लानु पर्ने आवश्यकता औंल्याउनुभयो ।

विद्यालयका संस्थापक प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठले देउसी भैलो कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुलाई साँस्कृतिक पर्वको महत्वबारे अवगत गराउँदै विद्यार्थीको सर्वाङ्गिण विकासमा विद्यालय अग्रसर रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले सी– बर्ड कलेज कक्षा ११ का उत्कृष्ट विद्यार्थी अन्जु खड्कालाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने साँस्कृतिक प्रदर्शनी पनि प्रस्तुत गरिएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.