भक्तपुर क्यान्सर अस्पतालमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम
२०७६ असोज १७ गते । शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख तथा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संघ–संस्थाहरुमा भएको आर्थिक अनियमितताबारे स्पष्टीकरण र छानबिन भइरहेको प्रस्ट पार्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालले शुक्रबार आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले कर्मचारीहरुले जस्तोसुकै समयमा स्वाभिमानीपूर्वक काम गर्न हौसला प्रदान गर्नुहुँदै सत्तासीन दलहरुको पक्षपातीपूर्ण व्यवहारका कारण भक्तपुर स्वास्थ्य बिज्ञान प्रतिष्ठान सञ्चालनको लागि स्वीकृति नपाएको बताउनुभयो ।
दसैंको शुभकामना व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले चाडबाडको समयमा पनि चिकित्सकहरु बिरामीहरुको सेवा गर्ने भावनाबाट अभिप्रेरित हुुनुपर्ने बताउनुहुँदै चाडबाडलाई भौतिकवादी दृष्टिकोणले व्याख्या विश्लेषण गरिनु आवश्यक भएको र दशैंलाई अन्धविश्वासको रुपमा मनाउन नहुनेमा प्रस्ट पार्नुभयो ।
जापान सरकारको आर्थिक सहयोगमा भक्तपुर नगरपालिकाले च्याम्हासिंहमा छात्ती पुनःस्थापना केन्द्रको भवन मौलिक शैलीमा निर्माण भइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्वास्थ्य र शिक्षामा अरु स्थानीय तहले भन्दा फरक ढंगले अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठले दशैंको शुभकामना व्यक्त गर्नुहुँदै अस्पतालको असहज स्थितिमा भक्तपुर नगरपालिका, कर्मचारी, चिकित्सक तथा स्थानीय जनताले गरेको सहयोगमा धन्यवाद ज्ञापन गर्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका पूर्व मेडिकल डाइरेक्टर डा. आरती शाहले आफू अस्पतालमा कार्यरत रहँदाका अनुभव आदानप्रदान गर्नुहुँदै भक्तपुरको क्यान्सर अस्पतालले देशभरिका क्यान्सर रोगीहरुको उपचार र सेवा गरिरहेको बताउनुभयो ।
कार्यक्रममा कर्मचारी कल्याणकारी समितिका संयोजक शिवराम धुख्व र अस्पतालका प्रशासन प्रमुख राजाराम तजले र सर्जन डा. उत्सवमान श्रेष्ठले पनि बोल्नुभएको थियो ।