Explore news and happenings at Bhaktapur

चाडपर्वबारे भौतिकवादी दृष्टिकोणले सोच्न आवश्यक

भक्तपुर, १६ असोज ।

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर पर्यटन विकास समितिको आयोजनामा बिहीबार भक्तपुरको स्थानीय पथप्रदर्शकहरुको भेला एवम् शुभकामना कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा अतिथि बिजुक्छेँले पथप्रदर्शकहरूले विभिन्न देशको आर्थिक, सामाजिक र राजनैतिक परिस्थितिबारे राम्रो ज्ञान हासिल गर्नुपर्ने चर्चा गर्दै विभिन्न देशको भाषा सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कुनै पनि व्यक्तिको बानी व्यवहार, भाषा र अनुशासनले देशको परिस्थिति आकलन गर्न सजिलो बनाउने हुँदा पथप्रदर्शकहरूले आफ्नो ठाउँको पर्यटन विकासमा योगदान गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले पथप्रदर्शकहरूकोे व्यक्तित्व विकासको लागि आवश्यक तालिम एवम् पुनर्ताजगी तालिमहरू सञ्चालन गर्नुपर्छ ।”

अमेरिका र चीनबीचको व्यापार युद्धले नेपालमा पर्यटक आवागमनमा प्रभाव पर्ने उल्लेख गर्दै अध्यक्ष रोहितले पर्यटकहरूको सहज आवागमनको लागि सरकारले सक्रिय भूमिका निभाउनुपर्ने बताउनुभयो ।
हरेक चाड–पर्वबारे भौतिकवादी दृष्टिकोणले सोच्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समाजमा तडकभडक होइन आफ्नो क्षमताअनुसार चाड पर्व मनाउनुपर्छ भन्नुभयो ।

भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई सांस्कृतिक राजधानीको रुपमा विकास गर्न लागिपरेको चर्चा गर्दै नगरपालिकाले पर्यटन प्रवद्र्धनको लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भनपाले विदेशी सहयोगविना सम्पदा पुनःनिर्माण गरिरहेको कुरा पर्यटकहरूलाई जानकारी दिने काम पथप्रदर्शकहरूले गर्नु आवश्यक छ । पथप्रदर्शकहरूबीच अस्वस्थ प्रतिस्पर्धा होइन, सहयोगी भूमिका खेल्नुपर्छ ।”

भनपाको वातावरण तथा पर्यटन समितिका संयोजक एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पर्यटकहरुलाई यथार्थ सूचना दिन पथप्रदर्शकहरूले इतिहास र साहित्यबारे गहन अध्ययन गर्नु आवश्यक रहेको बताउनुभयो ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेको सभापतित्वमा भएको कार्यक्रममा भनपा पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा र आयोजक समितिका कृष्णसुन्दर खाइतूले पनि बोल्नुभएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.