Explore news and happenings at Bhaktapur

भक्तपुरका नयाँ प्रहरी उपरीक्षक सबिन प्रधानलाई स्वागत

भक्तपुर, २०७६ जेठ २७ गते, सोमबार ।

0

भक्तपुर नगरपालिकाले सोमबार महानगरीय प्रहरी परिसर भक्तपुरबाट सरुवा भइ जानुभएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलाई बिदाइ तथा महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भइ आउनुभएका सबिन प्रधानलाई स्वागत कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रहरी उपरीक्षकद्वयलाई भादगाउँले कालो टोपी लगाइदिएर उपरीक्षक श्रेष्ठलाई बिदाइ र उपरीक्षक प्रधानलाई स्वागत गर्नुभयो ।

 
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर भष्टाचारविरोधी आन्दोलनको इतिहास भएको नगर भएको बताउनुहुँदै नगरपालिकाले भक्तपुरलाई शान्ति–सुरक्षाको पनि नमुना नगरको रूपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।

  भक्तपुरको संस्कृति संरक्षण र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्नुहुँदै उहाँले अपराधी तथा हत्याराहरूलाई संरक्षण होइन, कानुनको दायरामा ल्याइनुपर्नेमा जोड दिनुभयो ।

बढ्दो जनसंख्या वृद्धिले विभिन्न अपराध घटनामा पनि वृद्धि हुने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरमा अपराधको संख्या तुलनात्मक रुपमा न्यून रहेको र समाजमा शान्ति स्थापना गर्न प्रहरी प्रशासनको निगरानी अत्यावश्यक भएको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई सफा, स्वच्छ, सभ्य र सांस्कृतिक नगरको रुपमा विकास गर्न तत्पर रहेको बताउनुहुँदै पर्यटन उद्योगलाई प्रबर्द्धन गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट सरुवा भइ जानुभएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले भक्तपुर नगरपालिकामा १३ महिना काम गर्दाको अनुभव सुनाउनुहुँदै नगरमा शान्ति सुरक्षा कायम गर्न भक्तपुर नगरपालिकाको अनुकरणीय भूमिका रहेको बताउनुभयो ।

 

भक्तपुरमा सरुवा भइ आउनुभएका प्र.उ. सबिन प्रधानले देशको राजधानीसँगै जोडिएको सांस्कृतिक नगर भक्तपुरको शान्ति–सुरक्षा कायम गर्न भक्तपुर नगरपालिकासँग हातेमालो गरी अगाडि बढ्न तत्पर रहेको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुर शान्ति सुरक्षाका दृष्टिकोणले सुरक्षित जिल्ला भएको बताउनहुुँदै नगरपालिकाका गतिविधिहरूमा रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र ७ नं. वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.