Explore news and happenings at Bhaktapur

चिनियाँ प्रतिनिधि मण्डल भक्तपुर नपामा

२०७६ जेठ २८ गते मंगलबार ।

0

बेजिङ्ग युनिभर्सिटी हेल्थ साइन्स सेन्टर, पिपल्स रिपब्लिक अफ चाइनाबाट भक्तपुर भ्रमणका लागि आउनुभएको प्रतिनिधि मण्डलले भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार भेट गर्‍यो ।


भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको गतिविधिहरुको बारेमा जानकारी दिनुहुँदै भक्तपुरलाई शिक्षा, सँस्कृति र ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यका साथ शिशु स्याहारदेखि ७ वटा कलेजहरु सञ्चालन गरिरहेको र सरकारबाट अनुमति प्राप्त भएपछि विश्वविद्यालय सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । यहाँका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गरेकोमा सेन्टरलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुहुँदै यसले चिनियाँ कलेजहरुसँग यहाँका विद्यार्थीहरुको सुमधुर सम्बन्ध कायम गराउन मद्दत पुगेको कुरा बताउनुभयो ।
प्रमुख प्रजापतिले नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न घर घरमा नर्सिङ्ग सेवा, ३ वटा जनस्वास्थ्य केन्द्र, १ वटा आँखा अस्पताल सञ्चालन गरिरहेको जानकारी गराउनुहुँदै १०० शैंयाको ख्वप अस्पताल निर्माण भइरहेको अवगत गराउनुभयो । साथै उहाँले नेपालीहरु विदेशमा गएर क्यान्सर रोगको उपचार गरिरहेकोले नेपालमै क्यान्सर अस्पताल स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले सम्पदा पुनःनिर्माणमा विशेष जोड दिंदै सम्पदा पुनःनिर्माण र जीर्णोद्वारको काम भइरहेकोमा कतिपय सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको बताउनुहुँदै पर्यटन शुल्कबाट उठेको रकम अधिकांश सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यमा लगानी भइरहेको समेत जानकारी दिनुभयो ।
असल छिमेकीको रुपमा चिनियाँ सरकारले भारतीय नाकाबन्दीको समयमा गरेको सहयोगको लागि नेपाली जनता आभारी रहेको बताउनुहुँदै उहाँले “तातोपानी नाका खुल्ला गरी ब्यापार व्यवसाय शुरु हुने कुरामा नेपाली जनता खुसी छ” भन्नुभयो । साथै चीनसँगको औपचारिक सम्बन्ध सुदृढ गर्दै जानेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।


चिनियाँ प्रतिनिधि मण्डलको तर्फबाट बोल्नुहुँदै प्रतिनिधि मण्डलका क्विडान सुनले भक्तपुर नपाले गरिरहेको शिक्षा, स्वास्थ्य र सम्पदाको कामबाट प्रभावित भएको बताउनुभयो । बेजिङ्ग विश्वविद्यालयको परिचय दिनुहुँदै उहाँले बेजिङ्ग विश्वविद्यालय सबैभन्दा पुरानो विश्वविद्यालय भएको र सन् १९९८ मा आधुनिक विश्वविद्यालयको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चित उत्कृष्ट विश्वविद्यालय भएको जानकारी दिनुभयो । वैज्ञानिक र दार्शनिकहरु पनि उत्पादन गरिरहेको जानकारी दिनुहुँदै उहाँले यो संस्था ५ वटा विभिन्न संकाय र एउटा केन्द्र रहेको स्वायत्त संस्थाको रुपमा सञ्चालित चिकित्सा क्षेत्रमा राष्ट्रिय स्तरको उत्कृष्ट विश्वविद्यालय भएको जानकारी दिनुभयो । ६ वटा अस्पतालहरु सञ्चालन गरिरहेको विश्वविद्यालयमा १ हजार भन्दा बढी प्राध्यापक, १ हजार ३ सय सहप्राध्यापक रहेको बताउनुहुँदै उहाँले विश्वविद्यालयलाई संसारमै उत्कृष्ट अध्ययन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले अगाडि बढिरहेको बताउनुभयो । साथै हाल यस विश्वविद्यालयले अनुवाद र प्रकाशनमा पनि विशेष ध्यान दिंदै आएको कुरा अवगत गराउनुभयो ।
भेटमा चिनियाँ प्रतिनिधि मण्डलका ८ जना, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, ९ नं. वडाध्यक्ष रविन्द्र ज्याख्व, ७ नं. वडाध्यक्ष उकेश कवां, ५ नं. वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.