Explore news and happenings at Bhaktapur

पथप्रदर्शक पुनर्ताजगी कार्यक्रम

२०७५ चैत ७ गते, बिहीबार

0

भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको स‌ंयुक्त आयोजनामा बिहीबार स्थानीय पथप्रदर्शक पुनर्ताजगी कार्यक्रम सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पथप्रदर्शकहरू साँस्कृतिक सूचनाको प्राथमिक स्रोत हुने भएकोले स्थानीय विषयको प्राथमिकताका साथ गहन अध्ययन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भक्तपुरबारे पूर्ण जानकार पथ प्रदर्शक उत्पादन गर्न नगरपालिकाले विभिन्न समयमा तालिम सञ्चालन गरिरहेको बताउनुहुँदै प्रत्येक व्यक्तिले देश र समाजलाई हित हुने गरी क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन उद्योग अत्यन्त संवेदनशील क्षेत्र भएकोले यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले पनि प्रभाव पार्ने हुँदा त्यसप्रति सचेत रहनुपर्ने बताउनुहुँदै इतिहास¸ भूगोल¸ सँस्कृति लगायत विभिन्न क्षेत्रको अध्ययन,  अनुसन्धान¸ तथ्य र प्रमाणको आधारमा गर्नुपर्ने प्रमुख प्रजापतिले बताउनुभयो । उहाँले पथप्रदर्शनको दौरानमा पर्यटकहरूले जुनसुकै समयमा पनि अप्रत्यासित प्रश्न सोध्न सक्ने भएकोले पथप्रदर्शकहरुले सो को लागि विविध क्षेत्रको गहन अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले भक्तपुर साँस्कृतिक राजधानीको रुपमा स्थापित नगर भएकोले यहाँका स्थानीय पथप्रदर्शकहरुले यहाँका मौलिक सँस्कृतिको आध्यात्मिक¸ भौतिक र लोक प्रचलनको अध्ययन अनुसन्धान गरी पर्यटकलाई सही सूचना प्रदान गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पथप्रदर्शकहरू सद्‍भावना राजदुतको रुपमा रहने भएकोले पर्यटकहरूलाई सही सूचना दिई राम्रो व्यवहार गर्नुपर्ने बताउनु भयो । उहाँले पथप्रदर्शकहरु अद्यावधिक हुन दैनिक र नियमित अध्ययन गर्नुपर्ने बताउनुभयो । सम्पदा, संस्कृति र समाजको अन्तरसम्बन्धमा पर्यटनको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै उपप्रमुख जोशीले अतिथिलाई आत्मसन्तुष्ट बनाउँदै इन्टरनेटमा रहेको सूचनामा भएको कमीकमजोरीलाई सच्याउँदै पथप्रदर्शकले सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रमका सभापति¸ भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले यस पुनर्ताजगी तालिमले पथप्रदर्शकहरुसँग भएको ज्ञान र सूचनालाई अद्यावधिक गर्न मद्दत पुर्‍याउने बताउनुहुँदै पथप्रदर्शकहरुले नगरपालिकाले पर्यटन क्षेत्रको विकासको लागि गर्दै आएका विभिन्न क्रियाकलापहरुको जानकारी राखी पर्यटकहरुलाई सही सूचना दिनुपर्ने बताउनुभयो । उहाँले पर्यटकहरुलाई लक्षित गर्दै ५५ झ्याल दरबार प्रत्येक मंगलबार र शुक्रबार खुल्ला गरिएको¸ टौमढी क्षेत्रमा ४ पांग्रे सवारी साधन निषेध गरेको¸ विभिन्न स्थानमा पर्यटक शौचालयहरु र पर्यटक सूचना केन्द्रहरु निर्माण भैरहेको र भक्तपुरका सबै क्षेत्रहरुमा पर्यटनलाई फैलाउन विभिन्न पूर्वाधारहरु निर्माण भैरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले पथप्रदर्शकहरुलाई अनुशासित¸ मर्यादित र अद्यावधिक हुँदै आफ्नो पेशा गर्न सुझाव दिंदै पथप्रदर्शकहरुको व्यवहारले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा यसप्रति सचेत हुनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा पर्यटक सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा र भक्तपुर पर्यटन विकास समितिका महासचिव दिपेशराज शर्माले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.