Explore news and happenings at Bhaktapur

प्रदेशसभा यतिखेर अनिर्णयको बन्दी बनिरहेको छ

0

भक्तपुर नगरपालिका कलेजहरु सञ्चालन गरी देशकै एक उदाहरणीय नगरपालिका बन्न सफल भयो । देशलाई आवश्यक दक्ष जनशक्ति तयार गर्न सहयोग गरेर हाम्रा यी कलेजहरुले वास्तवमै देशको सेवा गरिरहेको छ । भक्तपुरका थुप्रै धरोहरहरुझैं अब यी कलेजहरु पनि जनताका अमूल्य नीधि हुन् भन्दा अतियुक्ति नहोला । वैभवशाली कला कृतिले चिनाउने भक्तपुरलाई नगरपालिकाद्वारा सञ्चालित यी कलेजहरुले चिनाउँदैछन् । देशका किसान मजदुरका छोराछोरीहरुलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिनु देशकै निम्ति महत्वपूर्ण सेवा हो ।

प्राध्यापक, प्रशासन र विद्यार्थीहरुको लगन र मेहेनतकै कारण आजको उचाइ प्राप्त भएको भएको हो । यी उपलब्धिका निम्ति यहा“हरु धन्यवादका पात्र हुनुहुन्छ । यो लगन र अथक मेहेनत जारी रहोस्, हार्दिक शुभकामना ।

हाम्रो गन्तव्यतर्फको यात्रा यतिमा जरुर रोकिन्न । ख्वप विश्वविद्यालयको निम्ति निरन्तर संघर्ष आवश्यक छ । कलेजको थप विकास र प्राज्ञिक उत्कृष्टताको यात्राको निम्ति शुभेच्छा व्यक्त गर्दछु ।

शिक्षामा भइरहेको चरम व्यापारीकरणविरुद्ध ख्वप उभिएकोमा हामी गौरवको अनुभूति गर्दछौं । नेमकिपाले सदैव शिक्षामा नवउदारवादको प्रभावविरुद्ध संघर्ष गर्यो । विश्वविद्यालयका पाठ्यक्रम विश्व बैंक र विदेशी संस्थाको प्रभावमा बनिरहेको छ । यो देशकै निम्ति दुर्भाग्यको कुरा हो । त्रिभुवन विश्वविद्यालयमा इतिहास पढ्ने विद्यार्थी शुन्य हुनु, राजनीतिशास्त्र, सामाजशास्त्र, दर्शनशास्त्र जस्ता महत्त्वपूर्ण विषय अध्ययन गर्ने विद्यार्थी अत्यन्त न्यून हुँदै जानु आफैमा एउटा डरलाग्दो चित्र हो । मानविकी संकायका यी विषयहरुमा विद्यार्थीहरु नहुनुले शुभ संकेत गर्दैन । देशको निम्ति यस ख्वप कलेजले इतिहासविद्, संस्कृतिविद्, अर्थशास्त्री, राजनीतिशास्त्री हुर्काउने अत्यन्त महत्त्वपूर्ण अभिभारा वहन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

२०६२।६३ को जनआन्दोलन ताका र त्यसपश्चात एउटा नारा जोड–जोडले लगाइएको थियो– अब नयाँ पुस्तालाई अवसर दिइनुपर्छ । महिला, जातजाति, दलितलाई मौका दिइनुपर्छ । निश्चय पनि त्यो आकर्षक नारा थियो अनि श्रुतिमधुर पनि । नेमकिपाले विचार र उद्देश्य महत्त्वपूर्ण हुने मत अघि सार्‍यो । वर्गीय आधार र भावनामा जोड दियो ।

आज हामीले प्रदेशसभाकै मात्र तस्बिर हेर्र्यौं भने पनि त्यसको दुष्परिणाम या एउटा डरलाग्दो स्थिति हाम्रो सामुन्य आउँछ । एनजिओ–आइएनजिओले हुर्काएका र बोकेकाहरु ठूलो संख्यामा जितेर आए । ठेकेदार, व्यापारीहरु जितेर आए । प्रदेशसभामा आज तिनीहरुकै हालिमुहाली चल्दैछ । प्रदेशसभामा एनजिओ – आइएनजिओको प्रत्यक्ष चलखेल सुरु भइसकेको छ र प्रभाव बढ्दो छ । यो शुभ–संकेत हुन सक्दैन । प्रदेश सरकार ती विदेशी संस्थासँग सहकार्य गर्न पाउनु, तिनीहरुबाट सहयोग प्राप्त हुनुलाई आफ्नो सफलता मान्दैछ । त्यसको पछिल्लो उदाहरण आइएनजिओको प्रभावमा गठन गरिएको प्रदेश योजना आयोग हो । मुख्यमन्त्रीलाई उनकै मन्त्रीमण्डलकै सदस्यले आइएनजिओको दलाल, सिआइएको दलाल भनी खुलेआम आरोप लगाए । यसबाट परिस्थितिको गम्भिरताबारे अनुमान लगाउन सकिन्छ । नेमकिपाले प्रदेशसभामा पनि एनजिओ–आइएनजिओमार्फत देशलाई नव–उपनिवेश बनाउन खोजिएकोप्रति कडा शब्दमा विरोध गर्‍यो । भर्खरै जन्मेको प्रदेशलाई ती विदेशी संस्थाबाट टाढा राख्नुपर्ने धारणा राख्यो । एनजिओ–आइएनजिओ विना प्रदेश मात्र होइन आप्mनो जीवनसमेत नचल्ने मानसिकताले ग्रस्त शासक दलविरुद्ध नेमकिपाको संघर्ष जारी छ । देशको स्वाधीनता, स्वतन्त्रता र जनताको स्वाभिमानको पक्षमा नेमकिपाले प्रदेशसभामा संघर्ष चालू राख्ने छ ।

हामीले दुःखपूर्वक भन्नुपर्छ जनताबीच हुर्केका, राजनीतिक कार्यकर्ता, देश र जनताप्रति बफादार जनप्रतिनिधिहरुको अभावमा प्रदेशसभाले आशा गरिएअनुरुप राजनीतिक चरित्र देखाउन सकेन, राजनीतिक उचाइ प्राप्त गर्न सकेन । पेशा, व्यवसायले जनप्रतिनिधिको अभिव्यक्ति र गतिविधिमा प्रत्यक्ष प्रभाव पर्ने आज अनुभव गरिइँदैछ । तसर्थ यो देशलाई जोगाउन, यो भन्दा थप बर्बादी नबेहोर्न वास्तविक देशभक्तहरु, जनताप्रति प्रतिबद्धहरु, बौद्धिकहरु र समाजका संवेदनशीलहरु राजनीतिक जिम्मेवारी सम्हाल्न अघि सर्नुपर्ने आवश्यकता अनुभव गरिइँदैछ । समाजलाई उत्साहित गर्न र देशलाई जोगाउन यो एउटा उपाय सिद्ध हुनेछ ।

प्रदेशसभा यतिखेर अनिर्णयको बन्दी बनिरहेकोे छ । हालै प्रदेश नं ३ का मुख्यमन्त्रीले भने– ‘हामी सरकार हौं भन्ने अनुभूति नै गर्न सकिरहेका छैनौं । संघीय मन्त्रालयले हामीलाई सरकारको व्यवहारसमेत गर्दैन । सरकार कहाँ छ ? हामीले जानकारी कहाँबाट पाउने ? सबै झ्याल–ढोका थुनेर बाहिर जा भन्ने ? मेरो प्रदेशमा ५५ प्रतिशत मात्र कर्मचारी छन् । ती पनि केन्द्रमा बोझ बनेकालाई पठाइएको छ । यस्ता कर्मचारीबाट कसरी नतिजा निकाल्ने ? प्रदेशलाई अल्मल्याउने र पंगु बनाउने काम भइरहेको छ ।’

प्रदेशका उपसभामुखहरु आफ्नो कुनै अधिकार भएन र मूर्ति जस्तो भयौं भनिरहेका छन् ।

यी तमाम बेथितिको दोष शासक दललाई नै जान्छ । शासक दलभित्रको पदको झगडा, अहङ्कारी प्रवृत्ति, गैर–जिम्मेवारी र अकर्मण्यताको कारण प्रदेशसभा सुस्त, प्रभावहीन बनिराखेको यथार्थ हो । शासक दल जनताको विश्वासमाथि घात गर्दैछ र संघीयता कार्यान्वयनप्रति उदासिन छ । फलस्वरुप एक वर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानीबारे निश्चित टुड्डोमा पुग्न सकेन । तिनीहरु घुमाइ–फिराइ केन्द्रीयकरण लागु गर्न खोज्दैछन् र काठमाडौंकेन्द्रित मनस्थितिमा बाँचिरहेका छन् । तिनीहरुको त्यो गलत सोच विरुद्ध नेमकिपा प्रदेशमा संघर्षरत छ । नेमकिपाले संघीयताको भावना, विकेन्द्रिकरणको सिद्धान्त बमोजिम सम्पूर्ण सेवा, सुविधा काठमाडौं केन्द्रित गर्न नहुने, देशको सन्तुलित विकासमा ध्यान दिइनुपर्ने, अन्य प्रदेशहरु विशेष गरी छिमेकी प्रदेश दुईलाई समेत आवश्यक सहयोग तथा समन्वय गर्न तत्पर अवस्थामा बसी राष्ट्रिय एकतामा बलियो टेवा पुर्‍यउनु पर्ने जस्ता प्रस्ताव एवं विचार अघि सार्‍यो ।

नेमकिपाले प्रदेशसभामा एक प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दैछ । प्रदेश सरकारका हरेक जनविरोधी गतिविधिको विरोध गर्दै कामदार वर्गको पक्षमा उभिन दबाब दिंदैछ । जनताको भावना अभिव्यक्त गरी प्रदेशसभालाई जनउत्तरदायी बनाउन नेमकिपा संघर्षरत छ ।

एउटा आइएनजिओले देशको प्रधानमन्त्रीदेखि गाविसको प्रमुखसम्मलाई धार्मिक गतिविधिमा हुलेको र धर्मप्रचारक बन्न उक्साएको हामीले भर्खरै मात्र देख्यौं । यो साम्राज्यवादी तथा नव–उपनिवेशवादीहरुको नयाँ चाल हो । कम्युनिष्ट दाबी गर्ने प्रधानमन्त्रीले त्यस धार्मिक संस्थाको दक्षिणा स्वीकारे । स्वाभिमानी नेपालीको शीर निहुरियो र राष्ट्रिय लज्जाको अनुभव गरियो । नेपाल विखण्डनको बाटोमा लाने र द्वन्द्व जारी राखी आफ्नो क्रीडास्थल बनाउने आफ्नो अभिष्ट पूरा गर्न विदेशी शक्तिहरु भित्रै पसेर सक्रिय भइरहेको बेला समाजको संवेदनशील समुदायले चनाखोपूर्वक भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । साथै नयाँ पुस्तालाई सचेत पार्नुपर्ने र जोगाउनुपर्ने आजको हाम्रो जिम्मेवारी हो ।

शासक दलहरुले महिला समानताका ठूला–ठूला भाषण र चर्को स्वरमा नारा लगाए । महत्त्वपूर्ण पदमा महिलाहरु पुगे या पुर्‍यारईए । तर बिडम्बना यही समयमा देशमा सबैभन्दा बढी बलात्कारका घटना घटिरहेका छन् । निर्मला पन्तको बलात्कार पछि हत्याको घटना पा“च महिना पुगिसक्दा समेत अपराधीमाथि कुनै कार्वाही हुन सकेन । सरकार नक्कली अभियुक्त खडा गरी वास्तविक अपराधी लुकाउन खोज्दैछ । एउटी बालिकालाई न्याय दिन नसक्ने सरकार र शासक दलले महिला समानताबारे बोल्ने नैतिक अधिकार गुमाइसकेको छ । आज जनता भन्दैछन्, देशको महिला राष्ट्रपतिलाई १८ करोडको गाडीको चिन्ता छ, अरबौंको हेलिकप्टरतिर ध्यान छ । उनले किन निर्मलाहरुमाथिका अत्याचार देखून्, किन निर्मलाहरुका चित्कार सुनून् ?

देशका सर्वशक्तिमान मानिएका प्रधानमन्त्री ‘नयाँ युग’ को हल्ला गर्न व्यस्त भइरहँदा देशमा भ्रष्टाचारका नया“ नया“ रेकर्ड बाहिर आउँदैछन् । अत्यधिक भ्रष्टाचार हुने देश भनि विश्व रेकर्डमा उकालो चढ्दै छ । देशका विधि निर्माता, नीति निर्माताहरुबाटै देशको ढुकुटी कसरी रित्याइँदैछ भन्ने पछिल्लो दृष्टान्त काठमाडौंमा घर भएका सांसदहरु स्वय्मले घर भाडाको नाममा लाखौं रकम बुझिरहेको घटना हो । साथै काठमाडौ महानगरपालिकाले बैठक भत्ता र जलपान खर्च मात्रै तीन करोड पुर्‍यायो, जम्मा दुई सय चौरासी दिनमा । यतिनै बेला एक वर्षमा सरकारको पूँजीगत क्षेत्रमा गरेको खर्च ०.५ प्रतिशत मात्र भएको तथ्याङ्क बाहिर आएको छ । अनुत्पादक क्षेत्रमा सरकारको ढुकुटी रित्तीरहँदा उत्पादनशील क्षेत्रमा सरकारको लगानी शून्यप्रायः भएको यो बेला जनता सोध्दैछन्, के यही हो नयाँ युग ? यत्तिनै बेला त्रिभुवन विश्वविद्यालयमा भन्दा त्रिभुवन विमानस्थलमा रोजी–रोटीको लागि खाडी मुलुक जाने युवाहरुको घुइँचो ठूलो छ । युवाहरु सोध्दैछन्, के यही हो नया“ युगको शुरुवात ? के यही हो सरकारको आश्चर्यजनक सफलता ?

हो, वर्तमान सरकार जताततै असफल साबित हुँदैछ । सरकारको अकर्मण्यताको कारण होहल्ला गरिएझैं समृद्धि होइन बरु बर्बादी बढ्दैछ । जरुर पनि शिक्षितहरु र सचेतहरु बर्बादीका साक्षी बनी रहँदैनन् । बरु परिवर्तन, राजनीतिक परिवर्तन, सामाजिक परिवर्तन र आर्थिक परिवर्तनको निम्ति भूमिका तथा जिम्मेवारीको खोजीमा हुन्छन् । त्यही आशा एवं अपेक्षा यहाँहरुबाट राख्छु ।

(प्रदेशसभा सदस्य तथा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले ख्वप मावि,  ख्वप कलेज र शारदा क्याम्पसको वार्षिकोत्सव समारोहमा दिनुभएको मन्तव्यको सारसंक्षेप)

Leave A Reply

Your email address will not be published.