“त्याग, समर्पणको भावना विकास तथा सही राजनीतिक चेतना भएपछि मात्र सभ्य समाजको कल्पना गर्न सकिन्छ† त्यसको अभ्यास नेपाल मजदुर किसान पार्टीले नेतृत्व गरिरहेको भक्तपुर नगरले गरिरहेको छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगरपालिका वडा नं ९ वडा समितिको आयोजनामा शुक्रबार भएको धन्यवाद तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
नेमकिपाको आठौँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने वडावासी महिला दिदी बहिनीहरूलाई धन्यवाद ज्ञापन गर्ने उद्देश्यले भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले भन्नुभयो, “हामी जस्तो वातावरणमा बस्छौँ त्यस्तै हुन्छौँ† भक्तपुरका जनता राजनैतिक रूपमा सचेत भएकोले यहाँका जनता सदैव आफ्नो ठाउँको विकास तथा कला–संस्कृति संरक्षणमा तत्परताका साथ लागिरहेका छन् ।”
इमानदारीपूर्वक जनताको सेवा गरेर समाजवाद स्थापना गर्नु नेमकिपाको उद्देश्य भएकोले त्यहीअनुसार जनतालाई निरन्तर सचेत गराउने काम पार्टीले गरिरहेको उहाँले बताउनुभयो ।
आत्मनिर्भर हुन सकेमात्र देशको विकास हुने स्पष्ट पार्दै प्रमुख प्रजापतिले भन्नुभयो, “शासक दलहरूले देश र जनताको समस्याबारे चासो नराख्दा अहिले धेरै समस्या भइरहेको छ । सङ्घर्षबिना समस्या समाधान नहुने भएकोले हामीमा सङ्घर्षशील भावना हुनु जरूरी छ ।”
नेमकिपा ९ नं वडा समितिका अध्यक्ष कृष्णभक्त लवजूले महिलाहरू अगाडि बढे समाज अगाडि बढ्ने भएकोले कामदारवर्गका महिलालाई राजनैतिकरूपमा सचेत पार्नु अहिलेको आवश्यकता हो भन्नुभयो ।
नेमकिपाको आठौँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने सहयोगी वडावासीहरूलाई धन्यवाद व्यक्त गर्दै उहाँले नेमकिपा कामदारवर्गका जनताको हक हितको लागि सङ्घर्षरत छ भन्नुभयो ।
आयोजक समितिका छोरीमैया सुजखुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सविना प्रजापति र दयालक्ष्मी प्रजापतिले पनि बोल्नुभएको थियो ।


