Explore news and happenings at Bhaktapur

प्रमुख सुनिल प्रजापति र बीरगञ्ज महानपा प्रमुख विजयकुमार सरावगीबीच भेट

वीरगञ्ज । २०७७ चैत्र ९ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार बीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसँग भेट गर्नुभयो । भेटका क्रममा दुई नगरपालिकाबीच आ—आफनो अनुभव आदानप्रदान भयो ।


भेटमा नगर प्रमुख प्रजापतिले सांस्कृतिक नगर भक्तपुरको विभिन्न पक्षबारे अवगत गराउनुहुँदै ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरमा अवस्थित औद्योगिक क्षेत्र काठमाडौं उपत्यका बाहिर स्थानान्तरणको निम्ति आवश्यक पहल भइरहेको बताउनुभयो ।
उहाँले नगरपालिकाबाट सञ्चालित कलेजबाट दक्ष जनशक्ति उत्पादन गर्नुका साथै भक्तपुर नपाले कोभिड नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारको मापदण्डअनुरुप सुविधासम्पन्न व्यवस्थित आइसोलेसन सञ्चालन गरेको अनुभव सुनाउनुभयो ।
वीरगञ्ज महानपामा भक्तपुर नपाको टोलीलाई स्वागत गर्नुहुँदै महानपाका प्रमुख सरावगीले फोहर व्यवस्थापनमा महानपाले निकै चुनौती सामना गरिरहेको बताउनुहुँदै महानपाले कुहिने फोहर संकलन गरी महिनाको ६ लाख आम्दानी गरिरहेको अनुभव सुनाउनुभयो । उहाँले कोभिड संक्रमणको जोखिम फेरि बढन थालेको बताउनुहुँदै काठमाडौं उपत्यका कोभिडबाट सुरक्षित गर्न उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्न जरुरी रहेको बताउनुभयो ।
बीरगञ्ज महानपामा ५७ प्रतिशत नागरिक स्थानीय रहेको र ४३ प्रतिशत नागरिक अन्य ठाउँहरुबाट बसोबास गर्दै आएको हुँदा नागरिकहरुमा सेवा प्रवाहमा विभिन्न प्रकारका चुनौतीहरु सामना गरिरहेका छौं — उहाँले भन्नुभयो । साथै वीरगञ्ज देशकै ठूलो औद्योगिक सहरमध्ये एक हो भन्नुहुँदै प्रमुख सरावगीले वीरगञ्जमा कृषि इन्जिनियरिङ कलेज खोल्ने प्रयास भइरहेको तर सरकारबाट स्वीकृति प्राप्त नहुँदा समस्या भइरहेको बताउनुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाका प्रकाशनहरु, सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारको फोटो पुस्तिकालगायतका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.