Explore news and happenings at Bhaktapur

जनताको स्वास्थ्य सेवामा भक्तपुर नगरपालिका संधै जनताको साथमा छ ः प्रमुख प्रजापति

सुनिल प्रजापति, प्रमुख— भक्तपुर नगरपालिका

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँज्यूबाट श्वास प्रश्वास पुनःस्थापन केन्द्रको उद्घाटन गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी निरन्तर काम गर्दै आएकोमा आजबाट थप एउटा सेवा बिस्तार गर्दैछौं । यस केन्द्रको उद्घाटन २०७६ चैत्र ३ गते गर्ने र सोही दिनबाटै सेवा सञ्चालनमा ल्याउने हाम्रो तयारी थियो तर अन्तिम समयमा आएर कोभिडका कारण रोकिनुपर्यो । आज झण्डै १० महिनापछि यो कार्यक्रम गर्दैछौं ।

आज पनि कोभिडकै कारण जापानबाट आउने प्रतिनिधि साथीहरु आउन सक्नुभएन । उहाँहरुको भिडियो सन्देश प्राप्त भएको जानकारी आएको छ । यस सेवा सञ्चालनको लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था जिम्टेफप्रति आभार व्यक्त गर्दछौं । हाम्रा चिकित्सकहरुले जापानमा गएर दम खोकीको उपचार सम्बन्धी तालिम लिएर आउनु भएको छ । ती तालिम प्राप्त चिकित्सकहरुबाट अहिले स्वास्थ्यकर्मीहरुलाई तालिम दिने कार्य पनि भइरहेको छ ।

नेपालमा सर्ने भन्दा नसर्ने रोगहरुले जनता आक्रान्त बन्दैछन् । दम खोकीजस्ता श्वासप्रश्वास सम्बन्धी रोगले पनि धेरै जनता पीडित छन् । विश्व वातावारणमा आएको परिवर्तन, अनियन्त्रित जंगल फडानी, तीव्र गतिमा शहरीकरण, औद्योगिकीकरणसँगै धुलो, ध्वनी र रसायन उद्योगहरुबाट हुने वातावरण प्रदूषण तथा अनियन्त्रित रुपमा आयातित सवारीसाधनहरुले श्वासप्रश्वाससम्बन्धी रोगलाई मलजल दिइरहेको छ । सरकारको तर्फबाट उचित प्रयास र जनता सचेत नभएसम्म यसलाई नियन्त्रण गर्न सम्भव छैन ।

विश्वको औसतभन्दा बढी नेपालमा वातावरण प्रदूषण भएको र काठमाडौं उपत्यका झन् बढी प्रदूषित भएको विभिन्नि रिपोर्टहरुमा जनाइएको छ । भक्तपुरबासीहरुमा बढ्दै गएको दम खोकीको उपचारसम्बन्धी खोजी गर्दै जाने क्रममा श्वासप्रश्वास पुनःस्थापन केन्द्र सञ्चालन गर्नेमा हामी पुग्यौं । यसलाई व्यवस्थित रुपमा अगाडि बढाउनेछौं ।

आर्थिक उदारीकरणसँगै स्वास्थ्य सेवा पनि बिस्तारै निजीकरण हुँदै गएपछि गरिब जनताको लागि स्वास्थ्य उपचार निकै महँगो हुन पुग्यो । स्वास्थ्य उपचारमा नागरिकहरूको सहज पहुँच र सस्तो र गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले च्याम्हासिंह, भगवतीस्थान र ब्यासी गरी तीनवटा जनस्वास्थ्य सेवा केन्द्रहरु सञ्चालन गर्दै आएको छ । कोभिड महामारीबीच पनि भक्तपुर नगरपालिकाबाट सञ्चालित ती स्वास्थ्य केन्द्रहरु बन्द भएनन् । जनतालाई संकट परेको बेला झन् बढी सेवा गर्नुपर्छ भन्ने भावनाले स्वास्थ्य मापदण्डको पालना गरी निरन्तर सेवा प्रदान गर्दै आयौं ।

ओपीडी सेवा, इमर्जेन्सी सेवा, हाडजोर्नी, नाक कान घाँटी, एक्स रे, दन्त सेवा, ल्याबसहित १९ थरिको स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा २०७७।७८ को बितेको ६ महिना (श्रावनदेखि पौष मसान्तसम्म)मा भनपाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रहरुबाट कुल ५५ हजार भन्दा बढी बिरामीले उपचार पाएका छन् । मासिक ९ हजार भन्दा बढी अर्थात औसतमा दैनिक ३ सयभन्दा बढी नागरिकले स्वास्थ्य उपचार सेवा पाउँदै आएका छन् ।

त्यसैगरी नगर प्रमुखको अध्यक्षतामा गठित व्यवस्थापन समितिको निर्देशनमा जिल्ला सामुदायिक आँखा केन्द्र च्याम्हासिंहमा सञ्चालनमा छ । त्यस केन्द्रबाट आ.व. २०७७।७८ को बितेको ६ महिनामा १५,३६८ जनालाई सेवा प्रदान गरेको छ । त्यस केन्द्रबाट आँखा जाँच, चश्मा जाँच, मोतिबिन्दु शल्यक्रिया, जलविन्दुको जाँचलगायतको सेवा प्रदान गर्दै आएको छ । उक्त सेवाबाट जनता आँखाको सामान्य उपचारको लागि काठमाण्डौको तीलगंगा आँखा अस्पतालसम्म जानुपर्ने बाध्यता हटेको छ । ख्वप अस्पतालकै प्रांगनमा व्यवस्थित आँखा अस्पताल बनाउने तयारीलाई पनि अगाडि बढाइरहेका छौं ।

यही माघ महिनाको २४ गतेदेखि भक्तपुर नगरपालिका क्षेत्रभित्र नगरस्तरीय नागरिक आरोग्य केन्द्र पनि सञ्चालनमा आएको छ । आर्युवेदिक औषधीको उपचारमा पनि भक्तपुरमा सहज सेवा उपलब्ध भएको जानकारी गराउन चाहन्छौं ।

देशकै सानो नगरमध्ये पर्ने भक्तपुर नगरपालिकाभित्र स्तरीय क्यान्सर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पतालजस्ता सरकारी अस्पतालहरु छन् । भक्तपुर क्यान्सर अस्पताल जनताकै जग्गा र पैसाबाट निर्माण भएकोलाई नेपाल अर्बुद रोग निवारण संस्था नामको गैरसरकारी संस्थाले निजी अस्पतालझैं चलाएको र त्यहाँ भ्रष्टाचारको समाचार बाहिरिन थालेपछि नगरपालिकाले आफ्नै व्यवस्थापन समिति गठन गरेर सञ्चालन सुरु गर्यो । सर्वोच्च अदालतको अन्तरिम आदेशको कारण त्यहाँ नगरपालिकाले प्रत्यक्ष काम गर्न पाएन तर उक्त अस्पताललाई सरकारी स्वामित्वमा ल्याउन भने निरन्तर जोड दिइरह्यो । यही २०७७ साल कार्तिक महिनादेखि मन्त्रिपरिषदबाट गठित भक्तपुर क्यान्सर अस्पताल गठन आदेशको आधारमा सरकारी स्वामित्व प्राप्त भएको छ । अब अन्य सरकारी अस्पतालसरह नै जनताले सेवा सुविधा पाउने भएका छन् ।

भक्तपुर नपामा जनप्रतिनिधिले पद्भार ग्रहणसँगै भक्तपुर अस्पतालमा पनि विगतका कमी कमजोरी हटाइ राम्रो सेवा प्रदान गर्ने उद्देश्यले सुधारका निकै प्रयासहरु भए । अस्पतालसँगैका जग्गा केही वर्षको लागि अस्पताललाई प्रदान गरी त्यहाँ आईसीयुभन्दा कम र सामान्य भन्दा माथिको हाइ डिपेन्डेन्सी युनिट समेतको बन्दोबस्तसँगै अहिले २०० बेडको स्वीकृति आएकोे जानकारी प्राप्त भएको छ । उक्त अस्पतालमा ५ जना नर्सहरु र अन्य केही स्टाफहरु नगरपालिकाले खटाई सेवामा सहज बनाइरहेको छ । खुशीको कुरा हो, यो वर्ष भक्तपुर अस्पताल बागमती प्रदेशकै एक उत्कृष्ट अस्पताल हुन सफल भएको छ ।

भक्तपुर नगरपालिकालाई २५ शैय्याको अस्पताल संचालनको लागि स्वीकृति प्राप्त छ । सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले ख्वप अस्पताल भवन निर्माणको काम तीव्र गतिमा भइरहेको छ । उक्त भवन सञ्चालनमा केही ढिला हुने सम्भावना भएकोेले छिटै नै हामीसँग उपलब्ध भवनहरुमा अस्पताल सञ्चालनको तयारी प्रक्रिया अगाडि बढाउँदैछौं ।

भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्रअनुसार देशमै पहिलोपटक घरदैलो नर्सिंङ सेवा सुरु गर्यो । वडा वडामा खुला व्यायामशालाहरु स्थापना गरी सम्पूर्ण नागरिकलाई शारीरिक व्यायामको अवसर प्रदान गर्यो । कोभिडको बेला सुविधासम्पन्न आइसोलेसन केन्द्र, क्वारेनटाइनको बन्दोबस्त र ती केन्द्रहरु र घरघरमा एकान्तबास बसेका नागरिकहरुलाई स्वास्थ्य सेवा, सरसफाइ र परामर्श सेवा प्रदान गर्दै आयो । सम्पूर्ण जनप्रतिनिधिहरु सदा जनताको साथ र सेवामा समर्पित रहँदै आउनु भएको छ ।

क्यान्सर, मस्तिष्कघात, मृगौला र मुटु रोगजस्ता घातक रोग लागेका बिरामीहरुलाई सरकारी सुविधाको अतिरिक्त प्रतिव्यक्ति १० हजारका दरले आर्थिक सहयोग समेत नगरपालिकाले प्रदान गर्दै आएको छ ।

भक्तपुर नगरपालिका संधै जनताको साथमा छ । भक्तपुर शिक्षा, सम्पदा संरक्षण, र सरसफाइमा उत्कृष्टतासँगै अब स्वास्थ्य उपचारमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो । नगरपालिकाको काममा निरन्तर साथ र सहयोग प्रदान गर्नु भएका सम्पूर्ण नगरबासी दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोगको अपेक्षासहित बिदा हुन्छु ।

(२०७७ माघ २९ गते, बिहीबार श्वासप्रश्वास पुनःस्थापन केन्द्रको भवन उद्घाटन तथा उपचार सेवा शुभारम्भ कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)

उद्घाटन कार्यक्रमका सहभागी

Leave A Reply

Your email address will not be published.