Explore news and happenings at Bhaktapur

हामीले श्वास प्रश्वासमा समस्या भएका नगरवासीहरुको सेवा गर्ने अवसर पायौं ः उपप्रमुख जोशी

रजनी जोशी, उपप्रमुख—भक्तपुर नगरपालिका

0

आज हामीले देशकै लागि अति आवश्यक एवं महत्वपूर्ण उपचार सेवाको शुभारम्भ यसै सेवाकै लागि निर्माण गरिएको भवनबाट गर्दैछौं । यो हामी भक्तपुरवासीहरुको लागि गौरवको विषय हो । हुन त यो एक वर्ष अघि नै संचालन गर्ने योजना भए तापनि कोरोना भाइरस (Covid–19) को कारणले गर्न असमर्थ भयौं तथापि ढिलै भएपनि आज हामीले हाम्रा श्वास प्रश्वासमा समस्या भएका हाम्रा नगरवासीहरुको सेवा गर्ने अवसर पायौं र यस सेवालाई हामीले निरन्तर अघि बढाउने विश्वास दिलाउन चाहन्छु ।

भक्तपुर नगरपालिकाले यस सम्पदा र सांस्कृतिक नगरका जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेको यहांहरुलाई बिदितै छ । ३० वर्ष अघिको भक्तपुरका जनताको स्वास्थ्यको अवस्था अति दयनीय थियो भन्ने हामीले सुन्दै आएका हौं र हाम्रा अग्रजहरुले भोग्दै पनि आउनु भएका थियो । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्षलगायतका अग्रजहरुबाट खस्कंदो स्वास्थ्य, विशेष गरी त्यतिखेर झाडा बान्ता लाग्नुका कारण सरसफाईको कमी भएकोले वहांहरुले नगरभरि सरसफाईको अभियान चलाउनु भएको थियो । यो संगसंगै जनतालाई स्वास्थ्यबारे सचेत गराउने एकमात्र अभियानको रुपमा शिक्षालाई पनि अभियानकै रुपमा अगाडि बढाउनु भएको थियो । यसै सिलसिलामा भनपा आफैले २०५६ सालदेखि नगरवासीहरुलाई उच्च शिक्षा हासिल गराउन ख्वप उच्च मा.वि. बाट शुरु गरेको र हालसम्म २ वटा इन्जिनियरिड्ड कलेजहरु, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज, शारदा क्याम्पस मावि, शारदा क्याम्पसलगायत ७ वटा शिक्षण संस्थाहरु संचालन गरी देशकै लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गराइरहेको यहांहरुमा विदितै छ । यसरी उत्पादन भएका जनशक्तिको सिप र दक्षतालाई पनि आफ्नै देश/आफ्नै ठाउंमा सक्दो प्रयोग भइरहेको पनि यहां राख्न चाहन्छु । त्यसै कारणले पनि हामीले यो र अन्य स्वास्थ्य संस्थाहरु संचालन गर्न समक्ष भएका छौं ।
हामीले देश विकासका लागि आवश्यक क्षेत्रमा क्षमता विकास गर्न लागिपरेका छौं । लागिरहने छौं । जति जति हामी निराकरणको लागि अघि बढ्छौं, चुनौति पनि संगै आउंदो रहेछ । शायद यसरी चुनौतिसंग जुद्दै समस्याहरुको हल गदै जानु नै विकासको सूचक हो कि ?

आज हामीले यस केन्द्र भक्तपुरकै संचालन गर्नुको उद्देश्य पनि यहांको विशेष भौगोलिक अवस्थाको कारण र यहांका जनताले भोग्नु परेका यो श्वास प्रश्वास रोगले गर्दा नै हो । विश्वमा श्वास प्रश्वास रोगको तथ्यांकले १० प्रतिशत मानिस पीडित भएको देखाएको छ भने नेपालमा १२ प्रतिशत रहेको त्यसमध्ये भक्तपुर जिल्लामा १९ प्रतिशत रहेको देखाएको छ । यो अत्यन्तै भयावह अवस्था रहेको श्वास प्रश्वास सम्बन्धी विज्ञहरुको राय रहेको छ । भक्तपुरको भौगोलिक अवस्था÷पश्चिमी वायुको कारण र राजमार्गमा चल्ने सवारी साधनका प्रदूषणको कारणले पनि यहांको यो अवस्था रहेको वहांहरुको बुझाइरहेको छ । यसर्थ हामीले यस अवस्थालाई बढ्न नदिन यस श्वास प्रश्वास केन्द्रको अति आवश्यक रहेकोले भ.न.पा.ले JIMTEF / SOLID NEPAl संगको सहकार्यमा यो केन्द्रको आजैबाट आजका हाम्रा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष का. नारायणमान बिजुक्छेंज्यूबाट समुदघाटन गराउन पाल्नु हामी सबैको लागि गौरवको विषय हो । एउटा ऐतिहासिक दिन हुनेमा विश्वस्त छौं र श्वास प्रश्वासबाट पीडित सम्पूर्ण नेपालीहरुले सेवा पाउने छ ।
हामीले परिस्थिति र चुनौतिसंग जुद्दै गत वर्षदेखि विश्वलाई नै अक्रान्त बनाएको कोभिड–१९ ले भक्तपुरलाई पनि असर परेको हामी सबैले भोगेका हौं । यस परिस्थितिसंग पनि भनपाले स्वास्थ्यकर्मी/कर्मचारी/नगरवासीहरुको संगको सहकार्यले धेरै ठूलौ संकट भोग्नु परेन तापनि अझै पनि संसारका अन्य देशहरुमा यो संक्रमणको स्वरुप परिवर्तन भइरहेको हामीले थाहा पाएका छौं र अझै पनि हामीले स्वास्थ्य मापदण्ड पालना गरी दैनिकीलाई निरन्तरता दिनुपर्ने हुन्छ त्यसैले उपस्थित सम्पूर्णमा स्वास्थ्य मापदण्डमा रहेर आफू र आफ्नो समाजलाई स्वास्थ्य बनाउं भन्दै पुनः यस श्वास प्रश्वास केन्द्रको उदघाटन कार्यक्रममा स्वागत गर्दै बिदा हुन्छु । धन्यवाद ।

Leave A Reply

Your email address will not be published.