Explore news and happenings at Bhaktapur

श्रमको सम्मान गर्ने संस्कृतिको खाँचो ः प्रमुख प्रजापति

२०७७ माघ २५ गते, आइतबार

0

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुर नपा वडा नं. ७ कृषि समितिको आयोजनामा भएको ३ दिने कौसी खेती तथा कम्पोस्ट मल बनाउने तालिमको प्रमाणपत्र वितरण तथा प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले कौसी खेतीबाट उत्पादन हुने तरकारी ताजा, स्वच्छ र सफा हुनुका साथै तरकारी किन्नको लागि हुने खर्च तथा समय बचत हुने हुँदा उत्पादनमुखी ढंगले तालिमको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
समाजमा विभिन्न खालका विकृतिहरुबाट नयाँ पुस्तालाई सजग र सचेत बनाउनुपर्ने आवश्यकता औंल्याउनुहुँदै श्रमको सम्मान गर्ने संस्कृतिको खाँचो रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नगरका सबै वडाहरुमा आँखा शिविर र महिलाहरुलाई लक्षित गरी पाठेघर शिविरहरु सञ्चालन गरिरहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले स्वस्थ नागरिकले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
निर्वाचन प्रजातान्त्रिक प्रक्रिया भएको र निर्वाचनले व्यापक जनतालाई राजनैतिक सचेतता अभिवृद्धि गराउने हुँदा नेमकिपा निर्वाचनको पक्षमा रहेको प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले निर्वाचनमा भाग लिनुको अर्थ व्यापक जनताको निस्वार्थ सेवा गर्नु हो भन्नुभयो ।

भक्तपुर नपा वातावरण तथा पर्यटन समितिका अध्यक्ष रबिन्द्र ज्याख्वले श्रमको अभावले आजकल विभिन्न प्रकारका नसर्ने रोगहरुको जोखिम बढिरहेकोतर्फ सचेत हुनुपर्ने बताउनुहुँदै भक्तपुर नगरपालिकाले घरबाट निस्कने फोहोर घरमै व्यस्थापन गर्ने उद्देश्यदले कौसी खेतीको तालिम सञ्चालनमा जोड दिएको बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नेपाल मजदुर किसान पार्टीले भक्तपुरको शिक्षाको विकासमा खेलेको भूमिकाबारे प्रष्ट पार्नुहुँदै नेमकिपाले व्यापक किसान तथा मजदुरको हकहित काम गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा वडा नं. ७ इनाचो एकाइ समितिका संयोजक कृष्णगोविन्द लाखाजु, नेमकिपा वडा नं. ७ गोल्मढी एकाइ समितिका संयोजक बलराम गोसाइँ, कौसी खेती तालिमका प्रशिक्षक सबिन ख्याजु, भक्तपुर नपा वडा नं. ७ कृषि समितिका संयोजक हेरा ख्याजु, समितिका सचिव हरिकृष्ण सुकुपायो र प्रशिक्षार्थीका तर्फबाट सर्मिला बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.